‘गाउँमाथिको टापुमा स्काभेटरले खनेको खन्यै छ , कति बेला पहिराले लैजाने हो की ढुंगा झरेर मार्ने हो थाहा छैन !’

‘गाउँमाथिको टापुमा स्काभेटरले खनेको खन्यै छ , कति बेला पहिराले लैजाने हो की ढुंगा झरेर मार्ने हो थाहा छैन !’


उदयपुर ।

उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिराको उच्च जोखिममा रहेको छ ।

भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुंगा  उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिराको उच्च जोखिममा परेका हुन् ।

सिरहास्थित सौर्य सिमेन्टका लागि चुनढुंगा उत्खनन् गर्ने खानीसँगै जोडिएको खानीको तल्लो भेगमा पर्ने मगर समुदायको बस्ती रहेको गाउँ पहिराको उच्च जोखिममा परेको हो । “माथि खनेको ढुंगासमेत गाउँमा झर्ने गर्छ । कति बेला कसको ज्यान जान्छ भन्न सकिदैन”, टाँटरीका स्थानीय नरबहादुर मगर भन्छन्, “वर्षा छ गाउँमाथिको टापुमा स्काभेटरले खनेको खन्यै छ निदाउन सकिँदैन ।”

गाउँमाथि उत्खनन क्षेत्रमा आधा दर्जन स्काभेटरले नियमित ब्रेकर चलाउँदा भिरालो ठाउँमा रहेको बस्ती हल्लिने गरेको स्थानीय सेब्रे मगरले बताए ।  “कति बेला पहिराले लैजाने हो की ढुंगा झरेर मार्ने हो थाहा छैन”, उनले भने, “हाम्रो जग्गा किनिदिए पनि गाउँ छोडेर हिँड्न हुन्थ्यो ।”

५ वर्ष अघिदेखि उक्त क्षेत्रमा सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्टले खानी उत्खनन सुरु गरेको हो । खानी उत्खननका समयमा उक्त बस्ती पनि हटाउने कुरा भए पनि उद्योगले उक्त कार्य नगर्दा बस्ती जोखिममा परेको स्थानीयवासी बताउँछन् ।

उत्खननपछि खानी तथा भूगर्भ विभागको अनुगमनले पनि उक्त बस्ती हटाउनुपर्ने सुझाव दिए पनि उद्योगले बेवास्ता गरेको स्थानीय सूर्य लामाले बताए । “अनुगमनले तुरुन्तै यो बस्ती हटाएर मात्रै काम गर्नु भनेको थियो । तर अझै पनि हटाइएको छैन”, लामाले भने, “बस्ती हटाउन बस्तीको जग्गा जमिन खरिद गर्नुपर्ने भएपछि उद्योगले खर्च नगरी उत्खनन गरिरहेको छ ।”

उद्योगका लागि ‘ए’ ब्लक खानी कार्यालयका माइनिङ इन्चार्ज होमबहादुर बस्नेत भने मापदण्डअनुसार उत्खनन गरेकाले जोखिम नरहेको दाबी गर्छन् । “विभागको मापदण्डबाहेक एक इञ्च पनि तलमाथि गरेका छैनौँ”, इञ्चार्ज बस्नेतले भने, “अनुगमन नियमित आउँछन् हामीले लापरबाही गर्नै मिल्दैन ।”

वर्षाको समयमा पनि खानीमा नियमित उत्खनन जारी छ । वर्षामा झनै माटो खुकुलो भएर स्काभेटर चलाउँदा भित्ता थर्किने र पहिरो जाने जोखिम रहेको स्थानीयवासी बताउँछन् । वर्षामा उत्खनन गर्न नमिल्ने भए पनि उद्योगले जबरजस्ती गरेको स्थानीयवासीको आरोप छ ।

तर खानी तथा भूगर्भ विभागका प्रवक्ता सुपरिटेण्डेट जियोलोजिष्ट मोनिका झा वर्षामा उत्खनन बन्द गर्ने भनेको स्थानीय निकायको अधिकारमा नदीजन्य वस्तु मात्र रहेको बताउछन् । खानी उत्खनन जहिले पनि गर्न मिल्ने झाको भनाइ छ ।

खानी उत्खनन गरिएको क्षेत्रसँगै जोडिएको लल्लरी खोला रहे पनि स्थानीय सरकारले यसको विषयमा चासो नदिएको स्थानीयवासीको भनाइ छ ।