असारमा मोबाइल बैंकिङमार्फत २ खर्ब ३३ अर्बको कारोबार, क्यूआर र वालेटमार्फत कति ?

असारमा मोबाइल बैंकिङमार्फत २ खर्ब ३३ अर्बको कारोबार, क्यूआर र वालेटमार्फत कति ?


काठमाडौं ।

असारमा मोबाइल बैंकिङमार्फत २ खर्ब बराबरको कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८० असारमा मोबाइल बैंकिङमार्फत २ खर्ब ३३ अर्ब ४४ करोड रुपैयाँ, क्यूआरमार्फत ३० अर्ब १४ करोड रुपैयाँ तथा वालेटमार्फत २० अर्ब ३२ करोड रुपैयाँ कारोबार भएको हो ।

एक वर्षअघिको तुलनामा मोबाइल बैंकिङ कारोबार ४२ दशमलव ९९ प्रतिशतले वृद्धि हुँदा क्यूआर कोडमार्फतको भुक्तानी १०७.५४ र वालेटको १४.४९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले बताएको छ।

एक वर्षको अवधिमा मोबाइल बैंकिङका प्रयोगकर्ता मात्र ३० लाख थपिएका छन् । २०७९ असारमा १ करोड ८३ लाख जना मोबाइल बैंकिङ प्रयोगकर्ता रहेकोमा २०८० असारमा २ करोड १३ लाख पुगेका छन् । यस्तै वालेटका प्रयोगकर्ता १ करोड ३६ लाखबाट १ करोड ८९ लाख पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

हाल बैंक, वित्तीय संस्थाका अतिरिक्त विभिन्न भुक्तानी प्रणाली सञ्चालक तथा सेवाप्रदायक कम्पनीले समेत मोबाइल भुक्तानी सेवा सञ्चालन गरिरहेका छन् । विद्युतीय भुक्तानी बढाउन राष्ट्र बैंकले निजी कम्पनीलाई समेत मोबाइल वालेट सञ्चालनको अनुमति दिँदै आएको छ । हाल २७ ओटा कम्पनीले वालेट सेवा सञ्चालन गर्छन् ।

हाल मोबाइल बैंकिङबाट प्रतिदिन ३ लाख, बैंक खाताबाट वालेटमा तथा बालेटबाट बैंक खातामा प्रतिदिन २ लाख र प्रतिमहीना १० लाख रुपैयाँ कारोबार गर्न पाउने सीमा छ । यस्तै एक वालेटबाट अर्को वालेटमा प्रतिदिन ५० हजार र प्रतिमहीना ५ लाखको सीमा तोकिएको छ ।