धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु, १७ जना घाइते

धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु, १७ जना घाइते


मलेखु ।

धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा केही बेरअघि भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

काठमाडौं बाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार बसमा सवारमध्ये १७ जना घाइते छन् । उद्धार गरिएकाहरुमा १३ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने ४ जनाको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

बस नदीमा डुबेकाले यात्रु डुबेको या खोलाले बगाएको आशंकामा गोताखोरको टोलीले थप यात्रुको खोजी गरिरहेको छ ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटेका छन् । साँघुरो सडकमा ‘ओभरटेक’ गर्न खोज्दा अनियन्त्रित भएर बस खसेको प्रारम्भिक अनुमान गरिएको छ । तर दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।