प्याजमा बिचौलिया र कालोबजारी छ्याप्छ्याप्ती, दोब्बर मूल्य बढाएर बेच्दै व्यापारी

प्याजमा बिचौलिया र कालोबजारी छ्याप्छ्याप्ती, दोब्बर मूल्य बढाएर बेच्दै व्यापारी


स्याङ्जा ।

स्याङ्जामा प्याजको मूल्य दोब्बर भएको छ ।

गएको हप्ता प्रतिकेजी ६० देखि ६५ रुपैयाँसम्म रहेको प्याजको मूल्य पछिल्लो दिन प्रतिकेजी १ सयदेखि १ सय १० रुपैयाँसम्म बिक्री गरिएको छ । स्थानीय बिक्रेताले अस्वभाविक रुपमा मूल्य बृद्धि गरेपछि प्याजको मूल्य झण्डै दोब्बर भएको हो ।

६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म खरिद गरेको प्याजको मूल्य एक्कासी बृद्धि भएपछि स्थानीय उपभोक्ता मारमा परेका छन् । १ हप्तादेखि बजारमा प्याज नभित्रिएपनि स्थानीय बिक्रेताले मनोमानी रुपमा पछिल्ला दिन प्याजको मूल्य बढाएर बिक्री गर्दै आएका छन् ।

गत शनिबारदेखि भारतको सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले प्याज निकासीमा ४० प्रतिशत निर्यात महसुल लगाएपछि बिक्रेताले गोदामै रहेको प्याजको मूल्य एकाएक बढाएका हुन् । मौकामा चौका हान्दै व्यवसायीले एकलौटी रुपमा मूल्य बढाएका छन् । जिल्लामा दैनिक कति प्याज खपत हुन्छ कुनैपनि निकायसँग त्यो एकिन तथ्यांक छैन ।

करिब एक हप्ताअघि प्रतिकेजी ६४ रुपैयाँमा खरिद गरेको प्याज पछिल्लो दिन एक सय १० रुपैयाँसम्म बिक्री गर्दै आएको स्थानीय व्यवसायीले बताए । केहि दिनदेखि बजारमा प्याज नआएपनि गोदामै रहेको प्याज बिक्री गर्दै आएको उनले सुनाए ।

अस्वभाविक रुपमा प्याजको मूल्य बृद्धि गरिएको जानकारी आएकाले तत्काल बजार अनुगमन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाका पुतलीबजार, बयरघारी, वालिङ र गल्याङ् बजारका व्यवसायीले मनोमानी रुपमा प्याजको मूल्य बढाएको स्थानीयले आरोप लगाए । ग्रामीण बजारको तुलनामा शहरी क्षेत्रका व्यवसायीले अचाक्ली मूल्य बढाएको उनीहरुले बताए ।

केहि दिन अघि चामलको मूल्य बृद्धि गरेर उपभोक्ताको हूर्मत लिएका व्यवसायीले फेरि प्याजको मूल्य बढाएर उपभोक्तालाई आक्रान्त बनाएको राष्ट्रिय उपभोक्ता मञ्च स्याङ्जाको अध्यक्ष राजेन्द्र मरासिनीले बताए । पछिल्ला दिन खाद्यान्न बिक्रीवितरणमा बिचौलिया र कालोबजारी गर्नेहरु मौलाएको उनले बताए ।

व्यवसायीले मनोमानी रुपमा खाद्य वस्तुमा एकपछि अर्को मूल्य बृद्धि गरेपनि बजार अनुगमनको अख्तियार प्राप्त स्थानीय निकाय चुपचाप छ । बजार अनुगमन गर्दै अस्वभाविक मूल्य बृद्धिलाई रोक्नुपर्ने निकाय नै चुपचाप भएपछि उपभोक्ता मूल्य बृद्धिको चपेटामा पर्दै आएको मञ्चका अध्यक्ष मरासिनीले बताए ।

स्थानीय पालिकाले पाएको अनुगमन तथा दण्ड जरिवानाको अधिकारलाई कडाईका साथ कार्यान्वयनमा नल्याएसम्म उपभोक्ता मुल्य बृद्धिको चपेटामा निरन्तर पर्ने मरासिनीको भनाई छ । बजारबाट आएको मूल्य बृद्धिको गुनासोलाई मध्यनजर राख्दै आवश्यकताको आधारमा बजार अनुगमन गर्ने पालिकाहरुले जनाएका छन् ।