गाउँमाथि पहरो : पानी परेर घाम लाग्दा ढुंगा खसेर एकै चिहान बनाउने पिर !

गाउँमाथि पहरो : पानी परेर घाम लाग्दा ढुंगा खसेर एकै चिहान बनाउने पिर !


स्याङ्जा ।

दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’ । गाउँमाथि राते पहरो छ । यही पहराका कारण छाप्राक जोखिममा छ ।

गाउँलेको एउटै पिरलो छ, कतिबेला के पो हुन्छ ? पानी पर्दा होस् या पानी बिसाएपछिको चर्को घाम लाग्दा होस् । उनीहरुलाई उही राते पहराले निदाउन दिँदैन ।

छाप्राकको बस्तीमा केही दिन अघिमात्रै पहराबाट २ ठूला ढुंगा फुटेर आए । स्थानीय श्यामबहादुर सार्की पहराबाट फुटेर आएका २ ढुंगा बस्ती नजिकै आएपछि थप त्रसित अवस्थामा गाउँले बसेको बताउछन् ।

“फुटेर आएको ढुंगा घरको नजिकै आएको छ”, उनले भने, “घरभन्दा माथि बाँसघारी भएकाले ढुंगाको बेग कम भए पनि बाँस जरैपाई पल्टाएर ढुंगा घरैनेर आएको छ ।” बाँसघारीले गर्दा गाउँमा जनधनको क्षति हुन पाएन नत्र के हुन्थ्यो यसै भन्न सकिने अवस्था थिएन । उक्त पहिरोबाट १७ घर प्रत्यक्षरुपमा प्रभावित हुने सार्की बताउछन् ।

“घरमा बस्दै गर्दा कतिखेर के हुने हो भन्ने कुराले पिरोलिरहन्छ”, उनले भने, “अन्त कहाँ गएर बस्नु ? संख्या सानो भएको भए विद्यालयमा पनि अटिन्थ्यो होला गाउँ नै उठ्दा त्यो पनि सम्भव छैन ।”

वालिङ–२ का वडाध्यक्ष पोतप्रसाद लम्साल गाउँमाथिबाट अकस्मात् २ ठूला ढुंगा खस्दा घर नजिकैको बारीमा रोकिएका कारण जनधनको क्षति हुन नपाएको बताउछन् । दलित समुदायको बाक्लो बसोबास रहेको छाप्राकमा जम्माजम्मी २०४ घर छन् । उक्त पहिरोका कारण हालसम्म १७ घर उच्च जोखिममा छन् । अहिलेको अवस्था बढ्दै गएमा पूरै गाउँ नै जोखिममा पर्ने वडाध्यक्ष लम्सालले बताए ।

“बस्ती जोगाउनका लागि बस्तीभन्दा माथि बाँस लगाउँछौँ, यसबाट ढुंगालाई रोक्ने र जनधनको क्षति हुन पाउँदैन”, उनले भने, “यहाँका स्थानीय त त्रसित अवस्थामा हुनुहुन्छ, उहाँहरुले वडासँग बस्ती स्थानान्तरण गर्न मागसमेत गर्दै आउनुभएको छ ।”

बस्ती नजिकै ढुंगा खसेपछि गाउँले त्रसित छन् । केहीदिन अघि जोखिमस्थलको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेसहितको टोलीले स्थलगत अनुगमन तथा अवलोकन गरेको थियो । गाउँमाथि रहेको पहराबाट २ ठूला ढुंगा चर्किएर खसेकाले गाउँलेमा डर उत्पन्न भएको उनले बताए । लगातार पानी परेर चर्को घाम लाग्दा ढुंगा फुट्ने र चर्कने भई खस्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने उनले बताए ।

“तत्कालै बस्ती सार्न सकिँदैन”, उनले भने, “दीर्घकालीनरुपमा यसको समाधानका लागि भौगर्भिक अध्ययन गरी चट्टानको अवस्था, जोखिमको अवस्थाका बारेमा बुझेर के गर्दा उपयुक्त हुन्छ, सोहीअनुसार अगाडि बढ्छौँ ।”