कम गुणस्तरको दाना उत्पादन गर्ने २ कम्पनीविरुद्ध मुद्दा दायर

कम गुणस्तरको दाना उत्पादन गर्ने २ कम्पनीविरुद्ध मुद्दा दायर


चितवन

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने २ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ ।

भरतपुर महानगरपालिका–४ स्थित पञ्चरत्न फिड्स प्रालि र खैरहनी नगरपालिका–९ स्थित कैलाशपति एग्रो प्रालिमाथि मुद्दा दायर गरिएको हो ।

उत्पादन गरेको दाना सरकारले तोकेको मापदण्डअनुसार नपाइएकाले दुवै कम्पनीविरुद्ध मुद्दा चलाइएको कार्यालयका प्रमुख धननाथ अधिकारीले जानकारी दिए ।

उनीहरुलाई दाना पदार्थ ऐन, २०३३ अन्तर्गत कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको थियो । दुवै कम्पनीलाई यस ऐनअन्तर्गत नगद २० हजारदेखि ५० हजारसम्म जरिवाना वा १ महिनादेखि १ वर्षसम्म कैद माग दाबी गरी मुद्दा दर्ता गरिएको उनले बताए।

कार्यालयले गत आर्थिक वर्षमा ऐनबमोजिम दानाको नमूना संकलन गरी २८ कम्पनीको परीक्षणका लागि पठाएको थियो ।

यस्तै गत आवमा यहाँका अन्य २ उत्पादक कम्पनीलाई कारबाहीको सिफारिस गरिएको थियो । चिया र मह उत्पादन गर्ने कम्पनीबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए ।

यस्तै कार्यालयले गत आवमा एक सय विभिन्न खाद्यान्नको नमूना संकलन गरी परीक्षणका लागि पठाएको छ ।

८५ पटक खाद्य बजार अनुगमन, २४ पटक दाना बजार अनुगमन, ६० वटा होटलको अनुगमन, ५९ खाद्य उद्योग र १४ दूध, तेल तथा पानी उद्योगको अनुगमन गरिएको उनले जानकारी दिए । चालु आवमा समेत पालिकासँगको समन्वयमा बजार अनुगमनलाई तीव्र बनाइएको अधिकारीले बताए ।