अझै खुलेन कोरोनामा बन्द भएको नाका : १ बोरा चामलको ढुवानी खर्च ५ हजार !

अझै खुलेन कोरोनामा बन्द भएको नाका : १ बोरा चामलको ढुवानी खर्च ५ हजार !


ताप्लेजुङ ।

ताप्लेजुङको ओलाङ्चुगोलामा अवस्थित टिप्ताला नाका विगत ४ वर्षदेखि बन्द छ । चीनबाट कोरोना भाइरस संक्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि बन्द भएको टिप्ताला नाका अहिलेसम्म खुल्न नसक्दा सीमावर्ती क्षेत्रमा सास्ती भएको छ ।

कोरोना भाइरस सीमावर्ती नाका हुँदै छिमेकी मुलुकमा समेत फैलिन सक्ने भनी चीनले नाकामा आवतजावत बन्द गराएको थियो । सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको थियो ।

आफ्नो देशमा कोरोना भाइरसको संक्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलिन सक्ने भनी यसबाट बच्न केही समयका लागि आवतजावतमा रोक लगाइदिन रिउ प्रशासनबाट अनुरोध भएसँगै नाका बन्द भएको थियो ।

सीमावर्ती क्षेत्र बस्ती याङ्मा, थुदाम, ओलाङचुङगोला र तोक्पेगालाबासी दैनिक उपभोग्य सामग्रीका लागि चिनियाँ बजारकै भरमा रहने गरेका छन् । वर्षामा बाढी, पहिरोलगायत कारण स्थानीयबासी सदरमुकाम फुङलिङसम्म आइपुग्न सक्दैनन् ।

फक्ताङलुङ-७ ओलङचुङगोला, याङ्मा र घुन्सा क्षेत्रका समुदायको ९० प्रतिशत चीनको बजारमा निर्भर रहेको स्थानीयवासी छेतेन टाँसी शेर्पाले बताए ।

उनले भने, ‘लामो समयसम्म नाका बन्द हुँदा दैनिक जीवनमा आवश्यक खाद्य तथा अन्य सामग्री चीनबाट आउन बन्द भएको छ । याक, चौँरीका लागि नुनदेखि अत्यावश्यक खाद्य सामग्रीमा ल्याउन पाइएको छैन ।’

नाका बन्द भएपछि चीनसँगको व्यापार ठप्प भएको फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन भोटेले बताए । समुद्र सतहदेखि ३ हजार २०० मिटर उचाइमा पर्ने ओलङचुङगोला क्षेत्रका समुदायको प्रमुख व्यवसाय व्यापार र पशुपालन हो ।

त्यस्तै समुद्र सतहदेखि ४ हजार २०० मिटरमा पर्ने याङ्माका समुदाय पनि चीनको बजारमा निर्भर हुँदै आएका थिए ।

लामो समयसम्म पनि टिप्ताला नाका नखुलेपछि आवश्यक खाद्य सामग्री ताप्लेजुङको सदरमुकामदेखि ढुवानी गर्दै आएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सहायक कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए ।

उनले भने, ‘विगतदेखि नै याङ्माका समुदाय चीनको बजारमा निर्भर हुँदै आएका थिए । याङ्मा बस्तीमा नाका बन्द भएदेखि उनीहरू नेपाली बजारमा भर पर्न थालेका छन् ।’

नाका बन्द भएपछि आर्थिक संकट हुँदै आएको चेम्जोङले बताए । चीनका विभिन्न बजारमा यहाँको चौँरी, याक तथा पशुजन्य खाद्य पदार्थहरूको प्रमुख बजार हो ।

फक्ताङलुङ-७ वडा कार्यालयका कार्यालय सहायक तेन्जिङ वालुङका अनुसार चौँरी, याक, घिउ, छुर्पी, याक, चौँरीको मासु, चमर (याकको पुच्छर) चीनको बजारमा व्यापार हुने गरेको छ ।

उनले भने, ‘४ वर्षदेखि नाका बन्द भएको छ । चीनसँग व्यापार चलेको छैन । व्यापार नभएपछि आयआर्जनको बाटो नै बन्द भएको छ ।’

पशु व्यवसायदेखि उत्पादित पशुजन्य वस्तुले बजार नपाएपछि पशु व्यवसायी आर्थिक संकटको चपेटामा परेको वालुङले बताए । ओलङचुङगोलामा बुनिएका गलैँचाले चीनमा राम्रो बजार लिएको थियो ।

गलैँचा बिक्री गरेरै यहाँका स्थानीयले राम्रो आयआर्जन गरेका थिए । तर, ४ वर्षदेखि गलैँचा घरमै थुप्रिराखेको ओलाङचुङगोलाबासी लामा भुजुङ शेर्पाले बताए । उनले भने, ‘मेरो घरमा ५० वटा गलैँचा थुपारिराखिएको छ । जिल्ला सदरमुकाम फुङलिङ बजारमा लगेर बेचेमा कम मूल्यमा बिक्री गर्नुपर्छ । त्यसैले घरमै राखेको छु ।’

घर खर्च टार्न उत्पादन गरिएको गलैँचा सदरमुकाम पुर्‍याएर उत्पादन लागतभन्दा कम मूल्यमा बिक्री गर्न बाध्य भएको शेर्पाले बताए ।

ओलाङचुङगोलाको नाका हुँदै चीन पठाउन इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका विभिन्न स्थानमा उत्पादित चिराइतो धेरैअघि ओलङचुङगोलामा पुर्‍याएर राखिएको थियो । लामो समयसम्म नाका बन्द हुँदा फेरि सदरमुकाम हुँदै भारतको सिक्किम पठाउनुपरेको व्यापारी दावाच्युङ्दाक शेर्पाले बताए ।

चीनमा चिराइतो निकासी नभएपछि ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुम जिल्लाका चिराइतो कृषक निराश भएको सिरिजंघा गाउँपालिका-७ याम्फुदिन निवासी मनकुमार राईले बताए ।

उनले भने, ‘पहिला पहिला चिराइतो खोज्दै व्यापारी घरघर आउँथे । तर, आजभोति त्यसको कुरा गर्ने व्यापारी भेटिँदैनन् ।’ चीनतर्फ चिराइतो निर्यात हुन छाडेसँगै खेती गर्न छाड्दै गएको फक्ताङलुङ-६ निवासी चिराइतो कृषक राजकुमार राईले बताए ।

लामो समय टिप्ताला नाका बन्द हुँदा गोला, याङ्मा, घुन्सा र फलेका साथै फक्ताङलुङ गाउँपालिकाका विभिन्न बस्तीमा बस्ने समुदाय सदरमुकाम फुङलिङ बजारमा निर्भर रहनुपरेको छ ।

सदरमुकामदेखि ओलाङचुगोलासम्म ५० केजी चामल पुर्‍याउँदा प्रतिकेजी सय रुपैयाँ ढुवानी भाडा पर्न आउँछ । ५० केजी चामलको बोराको ५ हजार ढुवानी खर्च पर्ने फक्ताङलुङ-७ का वडाध्यक्ष शेर्पाले बताए ।

सदरमुकाम फुङलिङदेखि १ दिनमा लेलेपसम्म गाडीमा सामान पुर्‍याउन सकिन्छ । लेलेपदेखि खच्चर र मान्छेले बोकेर ओलङचुङगोला, याङ्मा, फले र घुन्सा जस्ता बस्तीसम्म खाद्य सामग्री ढुवानी गर्नुपर्छ । सामानमा परेको मोलभन्दा ढुवानीमा ३ गुणा बढी खर्च हुने शेर्पाले बताए ।

नाका बन्दा नहुँदासम्म चीनबाट टिप्ताला नाकासम्म चीनको गाडीले सामान ल्याउने गरेको थियो । सीमा क्षेत्रदेखि आफ्नै याकमा सामान बोकाएर घरसम्म पुर्‍याइने गरेको शेर्पाले बताए ।

उनले भने, ‘चीनदेखि सामान ल्याउँदा ढुवानी खर्च एकदम कम हुन आउँछ, तर सदरमुकामदेखि ल्याउँदा सामानको खरिद मोलभन्दा ३ गुणा बढी खर्च पर्न आउँछ ।’ कतिपय परिवारमा सामान ढुवानी गर्न पनि समस्या हुने गरेको शेर्पाको भनाइ छ ।

२ वर्षअघि याङ्माका कान्दे ग्याबु शेर्पाका ३२ याक थिए तर अहिले उनीसँग ६४ वटा याक छन् । कोरोनाका कारण ४ वर्षदेखि चीनतर्फको नाका बन्द भएसँगै याक चीनका बजारमा बिक्री नहुँदा याकको संख्या बढ्दै गएको शेर्पाले बताए ।

उनले भने, ‘४ वर्ष भयो, याक बिक्री भएको छैन । कोरोनाका कारणले चीनले नाका बन्द गरेपछि याकका बाछा र याक बिक्री भएको छैन ।’

हिमाली क्षेत्रका समुदायले चौँरी याक गोठबाट जीविका गर्दै आएका छन् । तर चीनमा याक निर्यात नहुँदा दैनिकी चलाउनै मुस्किल भएको स्थानीयबासीको भनाइ छ ।

फिन्चो शेर्पाको पनि गोठमा ४ वर्षदेखि याक बिक्री भएको छैन । शेर्पाको गोठमा ४ वर्षअघि २५ याक रहेकामा अहिले ६० हाराहारी पुगेका छन् । याकको पोथीलाई डी र भालेलाई याक भन्नेर छुट्याइने गरेको शेर्पाले बताए ।

समुद्र सतहदेखि ३ हजार ५०० मिटरदेखि ५ हजार मिटरसम्मको उचाइ याक र डीको उपयुक्त चरन क्षेत्र हो । चीनका विभिन्न क्षेत्रमा नेपाली याक, याकका बाछा र चौँरी याकबाट उत्पादित छुर्पी, घिउका साथै पशुजन्य वस्तु चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने गरेको याङ्माका सोनाम शेर्पाले बताए ।

चीनका बजारमा प्रतियाक ६० हजारदेखि डेढ लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको जनाइएको छ । छुर्पी र घिउ प्रतिकिलो १२ सयमा बिक्री हुने गरेको याङ्माका फिम्जो शेर्पाले बताए ।

कोरोनाका कारण ४ वर्षयता टिप्ताला नाका र संखुवासभा जिल्लाको किमाथांका नाका बन्द हुँदा हिमाली समुदायको प्रमुख पेसाको साधन चौँरी याक बिक्री नभएको मिक्वाखोला गाउँपालिका-५ पापुङका याक व्यवसायी रिङ शेर्पाले जानकारी दिए ।

मिक्वाखोला-५ तोक्पेगोला क्षेत्रमा रहेका याक चाँैरीलगायत पशुजन्य वस्तु किमाथांका नाका हुँदै चीनका विभिन्न बजारमा बिक्री हुने गरेको थियो । तोक्पेकोला क्षेत्रमा ३५ चौँरी याकका गोठ रहेको मिक्वाखोला गाउँपालिकाका उपअध्यक्ष डण्डु लामाले बताए । तोक्पेखोला क्षेत्रमा २ हजारभन्दा बढी याक रहेको बताइएको छ ।

जिल्लाका ९ स्थानीय तहमध्ये फुङलिङ नगरपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाबाहेक ७ गाउँपालिकामा चौँरी याक पालन हुँदै आएको छ । राम्रो मूल्यमा चीनमा निर्यात हुने भएकाले हिमाली समुदाय याक पालनतर्फ आकर्षित हुने गरेको घुन्साका पेमा शेर्पाले जानकारी दिए ।

यही भदौ अन्तिममा टिप्ताला भन्ज्याङ नाका खुल्ने फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन वालुङले बताए  । नाका खुल्ने खबरले सीमा क्षेत्रका समुदायहरू अहिले निकै उत्साहित छन् ।

वडाध्यक्ष छेतेनलाई काठमाडौँ बसेर नाका खुलाउने पहल गर्न गाउँका हरेकलाई अनुरोध गरेका थिए । त्यही चाहना पूरा भएको सुन्दा खुसी भएको ओलाङचुङगोलाकी डोङगा शेर्पाले बताइन् ।

‘यताबाट गलैँचा, घिउ बेच्न पाइएको छैन, उताबाट नुन पनि ल्याउन पाइएको छैन,’ उनले भनिन्, ‘नाका खुलेपछि धेरै राम्रो हुन्छ । सबैलाई सजिलो हुन्छ ।’
छेतेनले भने, ‘मलाई डिङ्जे काउन्टीका प्रशासन प्रमुख र प्रहरी प्रमुख दुवैले खबर गरेका छन् ।’ प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले पनि नाका खोल्ने प्रक्रिया सुरु भएको बताइन् ।

नाका खुलाउने विषयमा गत वैशाख २२ मा डिङ्जे काउन्टीका प्रतिनिधि र ताप्लेजुङका प्रतिनिधिबीच भर्चुअल बैठक भएको थियो । नाका खोल्न समन्वय गरिदिन यसअघि वडा कार्यालय ओलाङचुङगोला, फक्ताङलुङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले गृह, परराष्ट्र मन्त्रालयलाई पटक-पटक अनुरोध गरेका थिए  ।

छेतेनका अनुसार टिप्ताला भन्ज्याङबाट मात्रै आउजाउ गर्ने गरी खुलाउने चिनियाँ अधिकारीले बताएका छन् । यसअघि घाङला नाकाबाट पनि आउजाउ हुने गरेको थियो ।

विशेष गरी याङ्माबासी घाङला नाका भएर रिउ जाने आउने गरेका थिए । सीमावर्ती क्षेत्रकालाई सिमानादेखि २५ किमी दुरीमा रहेको रिउसम्म जाने अनुमति दिइन्छ । रिउ तिब्बतको एउटा व्यापारिक केन्द्र हो ।

तिब्बतले अहिले रिउबाट ३५ किम्ी दुरीमा रहेको घुम्तीमा पनि व्यापारिक केन्द्र बनाएको छ । ताप्लेजुङ र संखुवासभालाई सेन्टर पर्ने गरी उक्त केन्द्र निर्माण गरेको हो । सिमानादेखि ओलाङचुङगोलाको बस्ती पनि २४ किमी दुरीमा छ ।

सिमानादेखि नजिकैका बस्ती याङमाबाट रिउ पुग्न ३ दिन लाग्छ भने ओलाङचुङगोलाबाट १ दिनमा पुगिन्छ । सिमानादेखि दुवै देशका बस्तीसम्म मोटरबाटो जोडिएको भए पनि कोरोना संक्रमणपछि नेपालतर्फको सडक पूरै अवरुद्ध छ । मर्मतसम्भार हुन सकेको छैन । चीनतर्फबाट भने सिमानासम्मै गाडी आउने गरेको स्थानीय बताउँछन् ।