कालीगण्डकीमा पानीको बहाव २ वर्षयताकै उच्च , डुब्यो शालिग्राम शिला

कालीगण्डकीमा पानीको बहाव २ वर्षयताकै उच्च , डुब्यो शालिग्राम शिला


पर्वत । 
लगातारको वर्षाका कारण मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ ।
मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो । २ वर्षयताकै उच्च विन्दुमा नदिको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाव नाप्दै आएका गेज रिडर कृष्णप्रसाद सुवेदीले बताए ।
उनले बिहानैदेखि नदीको सतहदेखि झन्डै ८ मिटर उचाइमा बहाव भइरहेको बताए । अहिलेको पानीको बहाव झन्डै २८३ क्युसेक रहेको छ । यो यस वर्षकै सबैभन्दा बढी मापन हो । यसअघि गत साउनमा ७.४० मिटरको विन्दुसम्म पुगेको थियो । वर्षा नरोकिएमा अझै बहाव बढ्ने सम्भावना रहेको उनले बताए ।
कालीगण्डकी नदीको बहाव अत्यधिक मात्रामा बढेपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन् । पर्वतको जलजला गाउँपालिकाका बगरफाँट, वारिबेनी, मिलनचोक, लस्ती र खनियाँघाट तथा कुश्मा नगरपालिकाका मालढुङ्गा, नयाँपुल र मोदीवेणी एवं फलेवास नगरपालिकाका जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीबेनी बजार उच्च जोखिममा परेका हुन् ।
बहाव उर्लिएपछि पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डितसमेत विस्थापित बनेका छन् ।
पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तललगायत सबै संरचना डुबाएको स्थानीय तिलक पराजुलीले बताए । शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिनसमेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पनि पूर्ण रुपमा क्षति पुगेको उनले बताए ।
कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने सेतीबेनी बजार डुबानको खतरामा पर्ने गरेको हो ।
बाँधका सबै ढोका भने खोलिएका छन् । कालीगण्डकी र सेतीखोलाको बहाव बढेसँगै सेतीबेनी बजार डुबानमा पर्ने चिन्ताले पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जा तर्फको बजार क्षेत्रका झन्डै २०० व्यापारी तथा सर्वसाधरण त्रसित बनेका छन् ।