कागबेनी बाढी : १ अर्बभन्दा बढीको क्षति, कृषिमा मात्रै १ करोड

कागबेनी बाढी : १ अर्बभन्दा बढीको क्षति, कृषिमा मात्रै १ करोड


मुस्ताङ।

गत २८ साउनमा मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नभए पनि करोडौँको भौतिक संरचनामा क्षति पुगेको छ ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् । व्यापार र कृषि पेसामा आबद्ध स्थानीय बाढीले घर, पुल र गरिखाने बारी नै बगरमा परिणत गरिदिएपछि अहिले उनीहरूको हातमुख जोड्ने माध्यम केही छैन ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्यांकअनुसार बाढीले कागबेनीमा करिब १ अर्बको क्षति पुर्‍याएको छ ।

भौतिक संरचना, स्थानीयबासीको घर, व्यवसाय र विभिन्न संघसंस्थाको कार्यालयमा क्षति पुगेको हो । बाढीले यहाँका कृषकले खेती गर्दै आएको स्याउ बगैँचा र सिँचाइ कुलोमा समेत क्षति पुर्‍याएको छ ।

गाउँपालिकाको कृषि शाखाको तथ्यांकअनुसार कागबेनीबासी कृषकको १ करोड बढीको स्याउ, ओखर र नास्पातीलगायत फलफूलका बोटमा क्षति पुगेको छ । बाढीले कृषकको ११ रोपनी ३ कठ्ठाभन्दा बढीमा लगाइएको स्याउलगायत फलफूलमा क्षति पुर्‍याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले जानकारी दिए ।

उनका अनुसार करिब एक १६९ भन्दा बढी स्याउका बोटमा क्षति पुगेको छ । स्थानीय मिङमर गुरुङको ४५ वटा स्याउका बोट र नर्सरी नष्ट भएको उनको भनाइ छ ।

बाढीले सबैभन्दा बढी स्थानीय कृषक कुंगा नमडुल गुरुङ, पेमा निङ्वो विष्ट र कर्म छोक्ले गुरुङको स्याउबारीमा रहेको स्याउ बोटमा क्षति पुगेको उनले बताए । उनीहरूको ३५ देखि ५५ वटासम्म स्याउ बोटमा क्षति पुगेको उनको भनाइ छ ।

बाढीले स्याउलगायत कृषि उत्पादन हुने खेतीयोग्य जमिनमा पनि ठुलो क्षति पुगेको छ । करिब ७ हेक्टर जमिनमा सिँचाइ गरिने कागबेनी सिँचाइ कुलोमा क्षति पुगेको शाखा प्रमुख धामीले जानकारी दिए ।

कागबेनी वारिपारि क्षेत्रको खेतीयोग्य जमिनमा सिञ्चित हुने ३ वटा कुलो बाढीले क्षति गरेको छ । उनका अनुसार ३६ रोपनी जग्गामा सिञ्चित गरिने सिँचाइ कुलोसमेत बाढीले बगाएको छ । गाउँपालिकाले कृषकलाई अनुदानमा उपलब्ध गराएको खेतबारी जोत्ने ९ वटा हाते ट्रयाक्टरसमेत बाढीले बगाएको उनी बताउँछन् ।

बाढीले स्याउका बोट, बगैँचा, विभिन्न कृषि उकरण र सिँचाइ कुलो बगाउँदा करिब १ करोडभन्दा बढीको क्षति भएको धामीको भनाइ छ ।

उनी भन्छन्, ‘यहाँका धेरै स्थानीयको मुख्य आयस्रोत स्याउ हो, बाढीले अधिकांश कृषकको स्याउ बगैँचामा क्षति पुर्‍याएको छ, हामीले धेरै दिन लगाएर क्षति विवरण संकलन गरेका छौँ । कोहीको बगैँचा बगाएको छ, कोहीको स्याउ र नास्पातीको बोट बगाएको छ, सिँचाइ कुलो बगाउँदा सयौँ रोपनी खेतीयोग्य जमिन बाँझो बस्ने अवस्था आएको छ ।’

बाढीले कृषकको गोठ र पशुचौपाया पनि बगाएको छ । पशुचौपाया बगाउँदा करिब ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पशु शाखा प्रमुख समीक्षा कठायतले जानकारी दिइन् । बाढीले २३ गोठ, ३२ लुलुगाई, दुइटा खसी र एउटा घोडा बगाएको प्रमुख कठायतले बताइन् । यसबाट करिब ५० लाख बढीको नोक्सानी भएको उनको भनाइ छ ।

बाढीले नगद, सामान र संरचनामा मात्र ८१ करोड ८३ लाख २५ रुपैयाँ क्षति गरेको छ । सडक, मोटरेबल पुल, झोलुंगे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी २१ करोड २ लाख बराबरको क्षति भएको गाउँपालिकाले तयार गरेको तथ्यांकमा उल्लेख छ ।

५० घरमा ५२ करोड ८९ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको छ भने २२ वटा घर पूर्ण र ५ वटा घरमा आंशिक क्षति भएको छ ।