बैंकिङ प्रोडक्टका बारेमा बैंकरलाई नै थाहा छैन : गभर्नर अधिकारी

बैंकिङ प्रोडक्टका बारेमा बैंकरलाई नै थाहा छैन : गभर्नर अधिकारी


काठमाडाैँ । 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसार अधिकारीले बैंकिङ प्रोडकको बारेमा बैंककरलाई नै थाहा नभएको टिप्पणी गरेका छन् ।

आज नेपाल टेलिभिजनमा प्रसारण हुने वित्तीय साक्षरता कार्यक्रमको उद्घाटनपछि बोल्दै अधिकारीले यस्तो बताएका हुन् ।

‘वित्तीय साक्षरता राष्ट्र बैंकको महत्वपूर्ण कार्यक्रम हो,’ अधिकारीले भने, ‘बैंकिङ प्रोडक्टका बारेमा अझै पनि बैंकरलाई समेत थाहा छैन ।’

बैंकले दिने ब्याजदरको बारेमा समेत धेरै व्यक्ति जानकार नभएको अधिकारीको भनाइ छ । वित्तीय साक्षरताको कमीका कारण यस्तो भएको उनले बताए ।

‘बैंकको फिक्स प्रोडक्ट छ । जस्तो होम लोनमा ब्याजदरमा कुनै फेरबदल हुँदैन’, अधिकारीले भने, ‘यस्ता थुप्रै प्रोडक्ट छन्, जो आममान्छेलाई थाहा छैन ।’ ब्याजदर साक्षरताको पनि समग्र पाटो भएकाले त्यसमा समेत साक्षर हुनुपर्नेमा अधिकारीले जोड दिए ।

वित्तीय साक्षरताको कुरा एक पटक सिकेर मात्र नहुने अधिकारीको भनाइ छ । अधिकारीका अनुसार वित्तीय कुरा समयअनुसार परिवर्तन हुँदै जाने भएकाले त्यो समयसँगै सिक्न जरुरी छ ।

अधिकारीले अनलाइन माध्यमबाट भुक्तानी गर्न समेत जोड दिएका छन् । ‘म विभिन्न कार्यक्रममा जाँदा भन्ने गरेको छु, मैले पैसामा हस्ताक्षर गर्छु, तर त्यो फ्रेममा सजाएर राख्न पाइयोस्,’ उनले भने, ‘क्युआरबाट वा अनलाइन माध्यमबाट भुक्तानी बढाउनुपर्छ ।’

राष्ट्र बैंकले पनि विभिन्न ठाउँमा वित्तीय साक्षरताका कर्याक्रम गर्दै आएको गभर्नरले जनकारी दिए । राष्ट्र बैंकले नयाँ तरिकाले वित्तीय साक्षरताको कार्यक्रम गर्ने समेत अधिकारीले बताए । बैंकले अबका दिनमा नियमित वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गर्ने उनले जानकारी दिए ।

उक्त साक्षरता कार्यक्रम केटिएम भ्वाइस मिडिया प्रालिले राष्ट्र बैंकको सहयोगमा गरेको हो । उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, बैंकर्स संघका अध्यक्ष सुनिल केसीलगायतको उपस्थिति थियो ।