काठमाडौँ महानगरमा दुध र पानीको गुणस्तर कायम गराउनेगरि तत्काल काम थाल्न निर्देशन

काठमाडौँ महानगरमा दुध र पानीको गुणस्तर कायम गराउनेगरि तत्काल काम थाल्न निर्देशन


काठमाडौँ ।

खुल्ला र अनौपचारिक रुपमा विक्री गरिने दुध र पानीको स्वच्छता तथा गुणस्तर कायम गराउन तत्काल अपनाउन सकिने उपायमा काम थालनी गर्न बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले निर्देशन दिएको छ ।

आइतबार काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको समितिको बैठकले अनुगमनबाट प्राप्त अवस्थाका विषयमा जानकारी लिएपछि कृषि तथा पशुपंक्षी विभागका अधिकारीलाई कामका लागि निर्देशन दिएको हो ।

बजारबाट संकलन गरिएका नमूना परीक्षणका लागि महानगरले आफ्नै प्रयोगशाला स्थापना र सञ्चालनका लागि तत्काल काम थालनी गर्न समितिले निर्देशन दिएको छ ।

भदौ १० गतेसम्ममा गरिएका ९ वटा अनुगमनका क्रममा चुहिने, कोत्रिएका २८ वटा र पानी भरिएको एउटा जार जफत भएको छ । परीक्षणका लागि पानी भरिएका ६ वटा जार संकलन गरिएको छ ।

डेरीहरुबाट प्लाष्टिकमा राखेर, रवरले बाँधेर बेचिने दुधको गुणस्तर कति हो थाहा हुँदैन । यसमा चिल्लोको मात्रा वा अन्य आवश्यक गुण कति छ थाहा हुँदैन । कहिले उत्पादन भएको हो, भन्न सकिँदैन । तर यस्ता पसलहरु घर भाडामा लिएर, फ्रिज राखेर दूध, दही, मही विक्री वितरण गर्छन् । अर्कोतिर प्याकेजिङ् गरिएका दुधहरु सडक किनारामा बेचिन्छन् । यस्तो दुध बेच्नका लागि उत्पादकहरुले व्यवस्थित विक्री प्रबन्ध गरेका छैनन् । यी दुई अवस्था एकआपसमा विपरीत हुन् । गुणस्तर एकिन नभएका बस्तुको विक्री स्थल व्यवस्थित छ । गुणस्तर छ भनिएका बस्तुको विक्री स्थल व्यवस्थित छैन । यसलाई व्यवस्थित गरेर दुध तथा दुग्धजन्य खाद्यबस्तुको स्वच्छ सञ्चय तथा विक्री प्रबन्ध मिलाउनु पर्नेमा बैठकका सहभागीहरुले जोड दिएका छन् ।

खाद्य ऐन २०२३ ले खाद्य पदार्थको उत्पादन, विक्री वितरण, सञ्चय वा प्रशोधन गर्न चाहने व्यक्तिले तोकिएबमोजिम अनुज्ञा पत्र लिनु पर्ने व्यवस्था गरेको छ । खुल्ला रुपमा बेचिने खाद्य बस्तु दुषित वा न्युन स्तरको हुन सक्छ ।