सञ्चालनमा आएको १ वर्षमै विमानस्थल बन्द, १६ करोडका संरचनाहरू प्रयोगविहीन

सञ्चालनमा आएको १ वर्षमै विमानस्थल बन्द, १६ करोडका संरचनाहरू प्रयोगविहीन


बैतडी ।

पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ ।

गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका हुन् ।

प्रत्येक बिहीबार धनगढी–पाटन–धनगढी उडान गर्दै आएको समिट एयरले विसं २०७८ चैत १० गते अन्तिम उडान भरेको थियो । त्यसयता पाटन विमानस्थलबाट कुनै उडान हुन सकेको छैन ।

यात्रु अभावका कारण उडान भर्न नसकिने उक्त एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले बताए ।

भाडा महँगो भएकै कारण यात्रुहरु पाउन मुस्किल छ भने भाडा नघट्दासम्म उडान हुने सम्भावना कम छ ।

पाटन–धनगढी १७ मिनेटको हवाई दूरीका लागि सुरुमा ३ हजार ७ सयमा हवाई उडान हुने गरेको थियो । पछिल्लो समय भने बढेर ५ हजार पुगेको थियो ।

हवाई सेवाका कारण यहाँको आन्तरिक धार्मिक पर्यटन प्रवद्र्धन र व्यापार–व्यवसाय फस्टाउने अपेक्षा गरिए पनि सञ्चालनमा आएको एक वर्षमै विमानस्थल बन्द हुँदा हवाई सेवाबाट समेत वञ्चित हुनु परेको स्थानीयवासी बताउछन् ।

डेढ वर्षयता पाटन विमानस्थलमा व्यावसायिक उडान नहुँदा झन्डै १६ करोडका संरचनाहरू प्रयोगविहीन बनेका छन् । ३ वर्षअघि परीक्षण उडान सफल भएपछि खुसी भएका स्थानीयवासी डेढ वर्षयता पाटन विमानस्थलमा जहाज नआउँदा संचरनाहरू प्रयोगविहीन बनेका हन् ।

३ वर्षअघि  ११ करोड खर्च गरेर २० मिटर चौडा र  ५ सय ८० मिटर लामो विमानस्थलको धावनमार्ग कालोपत्र गरिएको थियो । त्यसपछि करिब ५ करोड खर्च गरेर टर्मिनल भवन निर्माणको कामसमेत सम्पन्न भइसकेको छ ।