काठमाडौँ ।
सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको जिरीसम्मको सडक निर्माण सुरु भएको ८ वर्षमा पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन । लामोसाँघु–जिरी सडक सुधार आयोजनाले हेरिरहेको यो आयोजना भारतको एक्जिम बैंकको ऋण सहयोगमा बनिरहेको छ ।
लामोसाँघु–मुढे २५ किमी, मुढे–चरिकोट ३० किमी र चरिकोट–जिरी ५५ किमी गरी यो ११० किमीको सडकलाई ३ भागमा विभाजन गरेर ठेक्का लगाइएको छ । जसमा लामोसाँघु (खाडीचौर)–मुढे सडकखण्डको काम सम्पन्न भइसकेको छ भने मुढे–चरिकोट र चरिकोट–जिरी खण्ड अन्तिम चरणमा छ । तर, ३० किमीको मुढे–चरिकोट खण्डमा भने कामको अन्तिम चरणमा आइपुग्दा विवाद उत्पन्न भएको छ ।
यहाँ सरकारले गर्नुपर्ने भुक्तानी र स्थानीयको विरोधभन्दा पनि ठेकेदारहरूबीचको सम्बन्धले समस्या उत्पन्न भएको देखिन्छ । ठेकेदारहरूबीचको सम्बन्धमा अझ केही स्वार्थ समूह पनि मिसिँदा यो सडकखण्डको काम नै प्रभावित भएको छ ।
उता, डिजेल–पेट्रोल, हार्डवेयर, रोडा बालुवाका व्यवसायीहरू पनि ठेकेदारबाट भुक्तानी नपाएर निराश छन् । उनीहरूले त आफ्नो सामानको भुक्तानी नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय दोलखामा निवेदन नै दिएका थिए ।
भ्याटबाहेक ७० करोड रुपैयाँमा भारतको शकिलहैदर, नेपालको शंकरमाली र सुनौलो खिम्तीले जेभीमा कामको ठेक्का पाएको मुढे–चरिकोट खण्डमा अहिले ठेक्का पाएको जेभीको शंकरमाली काम नै छाडेर सम्पर्कविहीन छ । आफूले पाएको काम नै छाडेर शंकरमाली बेपत्ता हुँदा यतिबेला कामदेखि भुक्तानीसम्मको भार सुनौलो खिम्तीलाई परेको छ ।
सुनौलो खिम्तीका सञ्चालक उज्ज्वल खड्का भने यतिबेला सबैतिरबाट चेपुवामा परेका छन् । बजारमा करोडभन्दा बढीको उधारो छ भने ठेक्का साझेदार दायित्वबाट पन्छिँदै छ । शंकरमाली अहिले दायित्व पूरा गर्ने भन्दा पनि निर्माण क्षेत्रमा भएका आफ्ना उपकरणहरू कामै नसकी साइटबाट फिर्ता लाने तयारीमा छ ।
त्यसका लागि शंकरमालीको प्रतिनिधि बनेर दोलखाकै सुदीप कार्की नाम गरेका व्यक्ति सक्रिय भएको र उनै कार्कीले उक्त कामका लागि माओवादी निकट विद्यार्थी नेता रोशन खड्कालाई खटाएको निर्माण व्यवसायी खड्का बताउँछन् ।
सप्लायर्सहरूले आफ्नो भुक्तानीका लागि जिल्ला प्रशासन कार्यालयमै निवेदन दिएपछि कारबाही हुने डरले शंकरमालीले आफ्नो उपकरण निर्माण स्थलबाट निकाल्न स्थानीय नेताहरूको प्रयोग गरेको हुनसक्ने आकलन गरिएको छ ।
यस सडकखण्डको आयोजनाले भीमेश्वर आयल स्टोरलाई २७ लाख ५० हजार, ओम साईराम हार्डवेयरलाई २७ लाख र गिटीबालुवाबापतको ७० लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । यसमा कामदार, होटल तथा रासनको रकम जोड्ने हो भने त यो अंक २ करोड बराबर हुने देखिन्छ ।
भीमेश्वर आयल स्टोरका सञ्चालक प्रविन थापाले आफूलाई २७ लाख ५० हजारको चेक गत वर्षको चैत २९ गतेकै दिए पनि त्यो अहिलेसम्म साट्न नपाएको बताए ।
थापाले भने, ‘२ पटक चेक बाउन्स गरिसकियो पैसा अझै पाइएको छैन । कसले दिने र कहिले दिने कुनै टुंगो छैन । हामी व्यवसायी त सोझै मारमा पर्यौँ ।’
त्यस्तै, ओम साईराम हार्डवेयरका दिनेश थापाको पनि २७ लाख रुपैयाँ बाँकी छ । उनलाई वैशाख २ गतेको चेक दिएको थियो । पैसा आउने आसले बैंक गएर साट्न खोजे पनि खातामा पैसा नै नहुँदा उनले पनि त्यो रकम अहिलेसम्म पाउन सकेका छैनन् । यसैको पीडाले गर्दा साउन अन्तिममा जिल्ला प्रशासन कार्यालयमा गएर उजुरी दिएको थापा बताउँछन् ।
‘बिएनटी निर्माण सेवाको नाममा चेक पाएको हो । तर, त्यो चेकले के गर्नु ? हेरेर बसे त हो नि ! साटिँदैन,’ थापा भन्छन्, ‘हामी पनि कमाउनै भनेर बसेका हौँ, त्यत्रो पैसा लिनु छ । त्यो पैसा उठेन भने त हामी डुबिहाल्छौँ नि !’
आफ्नो साझेदार नै सम्पर्कविहीन भएपछि बजारको दायित्व पूरा गर्न आफूलाई समस्या भएको सुनौलो खिम्तीका खड्का बताउँछन् । शंकरमालीले आफ्नो निर्माण उपकरण फिर्ता लान सफल भएको अवस्थामा कामदारहरूले पाउनुपर्ने ज्याला र व्यापारीहरूको भुक्तानी पनि डुब्ने खतरा रहेको उनले बताए ।
उनले भने, ‘यहाँबाट आफ्नो सामान लान उनीहरू सफल भए भने यहाँ उनीहरूले तिर्नुपर्ने पैसा कसले तिर्छ ? ती कामदारदेखि व्यापारीसम्मले पाउनुपर्ने रकम त जोखिममा पर्यो नि ! त्यसैले यो विषयमा प्रशासन चनाखो हुन जरुरी छ ।’
एकतातिर जिम्मा पाएको काम नगर्ने र अर्कातर्फ बजारमा तिर्नुपर्ने रकम पनि नतिरी उल्टै नेताको सोर्सफोर्स लगाउने सीमित ठेकेदारका कारण अहिले समग्र निर्माण व्यवसाय नै आरोपित बनिरहेको छ । एकातिर काम नसकिँदा यहाँका यात्रुहरू सास्ती खेप्न बाध्य छन् भने अर्कातिर ठेकेदारकै लापरबाहीका कारण कामदारदेखि व्यापारीसम्म पुर्पुरो समातेर बस्नुपर्ने अवस्था देखिएका छन् ।
प्रतिक्रिया