बर्खामा ल्याउन सम्भव छैन मेलम्चीको पानी ?

बर्खामा ल्याउन सम्भव छैन मेलम्चीको पानी ?

'मुहान नै सार्नुपर्ने देखिएकाे छ, सरासर काम भए ४ वर्षमा सकिन्छ'


काठमाडौँ

देशको संघीय राजधानी । देश संघीयतामा गएर गाउँगाउँ सिंहदरबार पुर्‍याएको डंका पिटे पनि देशका सबै जिल्लाका मानिसको मनको पनि राजधानी– काठमाडौँ उपत्यका ।

काठमाडौँ उपत्यकामा केही दशकअघिसम्म पानीका स्रोत प्रशस्त थिए । ढुंगेधारा, इनार र कुवाको पानी फालाफाल प्रयोग गर्नेहरू अझै जीवितै छन् । तर, जसै यहाँ सबैतिरका मानिस थुप्रिँदै गए, त्यसपछि सुरु भयो पानीको हाहाकार ।

समयक्रमसँगै काकाकुल बन्दै गएको काठमाडौँले पानीका लागि अनेक प्रयास गर्‍यो । पानीका पुराना स्रोत इनार, ढुंगेधारा र कुवाका अवशेष अहिले पनि उपत्यकाका विभिन्न ठाउँमा बग्रैल्ती देखिन्छन् । तर पानी छैन ।

काठमाडौँमा पानीको व्यवस्थित वितरण करिब १२५ वर्ष पहिलेदेखि भएको इतिहास छ । दैनिक रूपमा बढ्दो सहरीकरण र त्यसैले थपेको जनसंख्याका कारण उपत्यकाबासी पानीका लागि धेरै तड्पिनुपर्‍यो, अझै तड्पिरहेकै छन् ।

काठमाडौँमा कुनै बेला कृषि खेतीका लागि समेत छेलोखेलो हुने पानी पछि गएर मानिसको प्यास मेटाउनसमेत पुग्न छाड्यो । कैयौँ ढुंगेधारा र कुवाको पानी सुक्दै गएपछि बनेको एकीकृत वितरण प्रणालीको पानीले समेत उपत्यकाबासीको प्यास मेटाउन छाड्यो ।

पानीको अभाव काठमाडौँका आममानिसलाई मात्र होइन, सरकारको नेतृत्व गरिरहेकाहरूलाई समेत खड्किन थाल्यो । उपत्यका बाहिरबाट पानी ल्याएर आपूर्ति गर्ने सोचमा राज्य लाग्यो र खोजी भयो स्रोतको ।

सरकारले खानेपानीका स्रोतहरूको खोजी गर्ने क्रममा २०४१ सालमा मेलम्चीसहित विभिन्न २२ वटा स्रोत पहिचान गर्‍यो । २२ मध्ये मेलम्ची सबैभन्दा उत्तम विकल्प देखिएपछि २०४३ सालमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ४२ किलोमिटर टाढाको मेलम्चीबाट पानी ल्याएर काठमाडौँबासीलाई खुवाउने प्रतिबद्धता जनाए ।

पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु भन्ने ठाउँको मेलम्चीमा मुहान (हेडवर्क्स) निर्माण गरी सुन्दरीजलसम्म करिब २६ किलोमिटर सुरुङमार्ग हुँदै दैनिक १७ करोड लिटर पानी काठमाडौँ उपत्यका ल्याउने र दोस्रो चरणमा यांग्री र लार्के खोलाबाट दैनिक १७/१७ करोड लिटरका दरले थप पानी ल्याउने योजना बन्यो ।

उक्त योजना कार्यान्वयनमा ल्याउन २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन भयो । समिति गठन भएको २ वर्षपछि अर्थात् २०५७ सालमा योजनाको काम सुरु भयो । आयोजना सम्पन्न गर्ने स्रोत जुटाउने क्रममा एसियाली विकास बैंक, विश्व बैंक, जापान सरकारलगायत दातृ नियकायसँग ऋण सहयोग माग्न सुरु भयो ।

सोही अनुरुप एसियाली विकास बैंकको ४३ प्रतिशत, नेपाल सरकारको ३३ प्रतिशत र बाँकी अन्य दातृ निकायबाट स्रोत सुनिश्चित भएपछि २०६६ साल साउन १९ गते तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सुरुङमार्गको शिलान्यास गरेर मेलम्चीको काम अगाडि बढ्यो ।

…अनि तुहियो सपना

२०४३ सालदेखि काठमाडौँले मेलम्चीतिर फर्किन सुरु गरेको हो । मेलम्चीको पानी आएपछि तिर्खा मेटाउने आसमा काठमाडौँले धेरै दशक बितायो । हरेक चुनावमा र राजनीतिक भाषणबाजीमा नेतादेखि मन्त्री, प्रधानमन्त्रीले मेलम्चीकै गीत गाए, चुनाव जिते, मन्त्री र प्रधानमन्त्री बने ।

प्रतीक्षाको फल मिठो हुन्छ भनेझैँ अन्ततः मेलम्चीको पानी काठमाडौँ आउने भयो, आयो पनि । पानीकै लागि कहिले रातभर जागै बसेर त कहिले जागिर नै छुट्टी लिएर बस्नुपर्ने यहाँका बासिन्दाका लागि मेलम्ची आएपछि ती सबै दुःख गर्नु नपर्ने विश्वास पलायो ।

परीक्षणका रूपमा पठाइएको पानी नै काठमाडौँमा झर्‍यो । २०७७ चैत २० मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक कार्यक्रममै मेलम्चीको पानी उद्घाटन गरिन् । व्यक्तिका घरका धारामा मात्रै होइन, काठमाडौँ उपत्यकाका विभिन्न सडकमा मेलम्ची खोलाजसरी नै बग्यो पनि । सडकहरू पखालिए, कति भत्किए पनि । शताब्दी पुरानो पानीको वितरण प्रणाली भएकाले मेलम्चीको पानीको फोर्स थाम्न नसकेर पुराना पाइप फुटेर सडकमा खोला बग्यो ।

घरमा वर्षौं नचलाएर खिया लागेका, भाँचिएका धाराका टुटी बनाए, फेरे । पहिले १ बाल्टी पानीका लागि जसरी सबै काम छाड्नुपथ्र्यो, त्यसरी नै सबै काम छाडेरै काठमाडौँबासीले धारा बनाए, सानो बाल्टी फालेर ठुलो ड्रम किने । लाग्यो– अब पानीकै लागि दुःख पाउने दिन गए ।

तर, त्यो खुसी र उत्साह धेरै दिन टिक्नै पाएन । मेलम्चीमा २०७८ साल असार १ र १६ गते आएको बाढीले मेलम्ची आयोजनाको हेडवर्क्समै क्षति पुर्‍यायो । काठमाडौँले पानी खान त पाएन नै, आयोजनाले पनि करिब ३ अर्ब रुपैयाँको क्षति बेहोर्नुपर्‍यो ।

३५ अर्ब रुपैयाँ लगानीमा बनेको मेलम्ची आयोजनाको पानी पिउने काठमाडौँबासीको सपना एकै झट्कामा चुँडाइदियो । मेलम्ची समितिले विकास टाइम्सलाई दिएको जानकारीअनुसार सुरुङभित्र पानीको प्रवाह बन्द गराएर सुरुङको परीक्षण गर्ने काम सुरु भएकै दिन बाढी आएर आयोजना प्रभावित भएको थियो ।

एकै महिनामा २ पटक आएको बाढीले २२ किलोमिटरको पहुँच मार्ग, ६ वटा पुल, निर्माण सामग्री राखिएको गोदाम र मेलम्ची आयोजनाको कार्यालयको संरचना बगाएसँगै मेलम्चीको पानी फेरि सपना बन्यो ।

मर्मतपछि हिउँदको समयमा पानी आए पनि प्रत्येक बर्खामा मेलम्चीको पानी बन्द गर्ने गरिएको छ । गएको वर्ष भने बाढीका कारण त्यति धेरै क्षति हुन नपाएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तको भनाइ छ ।

यो वर्षको बाढीले समेत मेलम्चीमा थुप्रै संरचना पुरेको छ । अहिले कतिको क्षति भएको छ भन्न सकिने अवस्था नभएको पन्त बताउँछन् । ‘अहिले सबै संरचना पुरेको अवस्थामा छन्, कतिको क्षति भएको छ भन्न पुरेका संरचना खनेपछि मात्रै थाहा हुन्छ,’ पन्तले भने, ‘बाढीले संरनाहरू पुरेको मात्रै र नबगाएका कारण त्यति धेरै क्षति नभएको हुन सक्ने हाम्रो अनुमान हो ।’

उपत्यकामा पानीको समस्या स्थायी समाधान हुने ठानिएको अवस्थामा आएको बाढीका कारण फेरि अनिश्तितातर्फ धकेलिएको छ । बाढीपछि हिउँदको समयका लागि मात्रै पानीको आपूर्ति हुँदै आएको छ ।

दीर्घकालीन समाधान हुँदैन ?

मेलम्ची खानेपानी आयोजना २०७८ सालको बाढीले क्षतविक्षत बनाएपछि यसको दीर्घकालीन समाधान कहिले भइसक्छ भन्ने कुनै टुंगो छैन । ‘यसको दीर्घकालीन समाधानका लागि हेडवर्क्स (मुहान) नयाँ ठाउँमा बनाउनुपर्ने अध्ययन प्रतिवेदनले देखाएको छ,’ पन्तले विकास टाइम्ससँग भने, ‘ त्यसको कार्यान्वयन गर्न कम्तीमा ४ वर्ष लाग्ने देखिन्छ ।’

सरकारले समयमा बजेट दिने, खरिद कार्य तत्काल अगाडि बढाउने, डिजाइन १ वर्षभित्र सक्ने र उक्त आयोजनालाई सरकारलाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउने हो भने आगामी ४ वर्षभित्रमा अर्को ठाउँमा हेडवर्क्स बनाएर दीर्घकालीन रूपमा मेलम्चीको पानी ल्याउन सकिने समितिको भनाइ छ ।

राष्ट्रिय गौरवको आयोजना बनाएर अझ विशेष प्राथमिकतामा लाने हो भने अझ चाँडो सम्पन्न गर्न सकिने पन्त बताउँछन् ।

अर्बौँ आम्दानीको स्रोत पनि गुम्यो

मेलम्ची आयोजनालाई बाढीले प्रभावित बनाएसँगै त्यसबाट हुने अर्बौँको कमाइ पनि गुमेको छ । बाढीले क्षति नपुर्‍याएको भए उपत्यकामा पानी वितरण गरेर मात्र वार्षिक करिब २ अर्ब २८ करोड रुपैयाँ राजस्व आम्दानी हुने मेलम्ची समितिको अनुमान थियो । बाढीका कारणले राज्यले उठाउने राजस्वसँगै काठमाडौँबासीको सपनासमेत तुहिएको छ ।

बर्खा लाग्नुअघिसम्म मेलम्चीबाट दैनिक करिब १७ करोड लिटर पानी उपत्यकामा आपूर्ति भइरहेको थियो । तर, बर्खामा बाढीले फेरि क्षति गर्ने चिन्ताले पानी बन्द गरिँदा बर्खामा मेलम्चीको पानी आउँदैन ।

‘यदि आयोजनामा क्षति नपुगेको भए त्यसबाट नियमित राजस्व उठ्थ्यो र सकारात्मक असर देख्न सकिन्थ्यो,’ सूचना अधिकारी पन्त भन्छन्, ‘बाढीले असर नगरेको भए काठमाडौँ उपत्यकाभित्रको सम्पूर्ण वितरण प्रणाली परीक्षण गरेर नियमित रूपमा पानी वितरण हुन्थ्यो । तर अहिले हामीले उपत्यकाको सबै वितरण प्रणाली परीक्षण गर्नसमेत पाएका छैनौँ ।’

मेलम्चीको पानी नियमित हुन सकेको भए अन्य धेरै विषयमा फाइदा हुने समिति बताउँछ । उपत्यकामा पानी अभाव टार्न यतिबेला निजी कम्पनीले ट्यांकरबाट पानी सप्लाई गरिरहेका छन् । त्यसका लागि जनशक्तिसँगै इन्धनको खपत व्यापक बढेको छ । मेलम्ची नियमित भइदिएको भए इन्धन खपतमा कमी आउँदा इन्धन आयातमा भइरहेको ठुलो रकम जोगिने पन्तको भनाइ छ ।

उपत्यकामा ४५ प्रतिशत पानीको आपूर्ति भूमिगत स्रोतबाट भइरहेको छ । पन्तका अुनसार मेलम्चीको पानी आएको भए जमिनमुनिको पानी निकाल्न बन्द भएर जमिनमा पानीको सहत बढ्थ्यो । ‘जमिनको पानी तान्दा त्यसमा विद्युत् खपत हुन्छ । त्यो पनि कम हुन्थ्यो र विद्युत्को खर्च कम हुन्थ्यो,’ पन्तले भने ।

कति चाहिन्छ पानी ?

काठमाडौँ उपत्यकामा दैनिक ३५ करोड लिटरभन्दा बढी पानीको माग रहेको मेलम्ची खानेपानी विकास समितिले २०७३ सालमा गरेको अध्ययनले देखाएको थियो । उपत्यकामा त्यसयता पनि जनसंख्या उल्लेख्य वृद्धि भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले केही समयअघि गरेको अध्ययनमा भने उपत्यकामा दैनिक ४२ करोड लिटर पानीको माग छ ।

जनसंख्या वृद्धिकै आधारमा पानीको माग बढ्ने गरेको पन्त बताउँछन् । समितिले एक जना व्यक्तिले दिनमा १०० लिटर पानी खर्च गर्छ भन्ने अनुमानका आधारमा पानीको खपत निकाल्ने गरेको पन्त बताउँछन् ।

त्यसले गर्दा पनि दैनिक ४२ करोड लिटर पानीले उपत्यकालाई धान्न सक्ने अवस्था नभएको जानकारहरू बताउँदै आएका छन । उपत्यकामा पानीको ४५ प्रतिशत पूर्ति भूमिगत पानीबाट गरिएको विभिन्न सायमा गरिएको अध्ययनले देखाएको छ । त्यसले गर्दा बर्सेनि भूमिगत पानी सकिँदै गएको र भविष्यमा जमिन भासिएर समस्या पर्न सक्ने विज्ञहरूको भनाइ छ ।