दार्चुला ।
दार्चुलाका दर्जनबढी कच्ची सडक स्तरोन्नति नहुँदा यात्रु र चालकले दैनिक रूपमा जोखिमपूर्ण यात्रा गर्नु परेको छ।
हिलाम्मे र खाल्टाखुल्टी भएको सडकमा यात्रा गर्दा ज्यान जोखिममा पर्ने गरेको गुनासो स्थानीयको छ।
कच्ची सडकमा गाडी चलाउँदा जोखिम रहेको भन्दै यातायात व्यवसायीले बढी भाडा माग्ने गरेका छन्। सडकमा गाडी गुडाउन समेत खर्चिलो र जोखिमपूर्ण भएकाले जति भने पनि भाडा दिनुपर्ने अवस्था छ, कहिले काही गाडी धकेल्नुपर्छ यात्रु शम्भुराज जोशीले भने।
नियमन गर्ने निकाय मौन छन् भने मर्मत गर्नुपर्ने पालिका र सरोकारवालाले समेत चासो नदिएको भनाइ उनको छ। स्थानीय तहले सडकको ट्र्याक खोल्न करोडौँ रकम खर्चेको भए पनि बाह्रै महिना सवारी गुड्न सक्ने अवस्था छैन।
ठाउँ ठाउँमा पहिरो जाने गरी खनिएका स्थानीय सडकको स्तरोन्नति नहुँदा वर्षायाममा हिलाम्मे र सुक्खायाममा धुलाम्मे हुने गरेको यात्रुको गुनासो छ। भोगोलिक विकटता, ठेकेदारको लापरबाही, राजनीतिक स्वार्थका कारण सडक निर्माण तथा स्तरोन्नतिको कामले गति नपाएको मार्माका स्थानीय पुष्कर विष्टले बताए।
संघीयतापछि स्थानीय, प्रदेश र केन्द्र सरकारको लगानीमा धमाधम सडक निर्माण गरेका छन्। दार्चुलाका अधिकांश वडा कार्यालयलाई सडक मार्गले छोए पनि स्तरोन्नति नहुँदा नियमित यातायातका साधन सञ्चालनमा समस्या छ।
प्रतिक्रिया