सिसाघारी सिमसारमा दैनिक ४ सय पर्यटक, संरचना निर्माणमा ३ करोड बढी खर्च

सिसाघारी सिमसारमा दैनिक ४ सय पर्यटक, संरचना निर्माणमा ३ करोड बढी खर्च


उदयपुर ।

उदयपुरको कटारी नगरपालिकास्थित कटारी बजारबाट ४ किलोमिटर दूरीमा सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्र पर्दछ ।

कटारी–५ मा पर्ने पर्यटनको प्रचुर सम्भावना रहेको यस सिमसार क्षेत्रमा बर्मजिया–भूल्के हुँदै दुवै तर्फबाट जान सकिन्छ ।

६ वर्षअघि सुरु गरिएको भौतिक संरचना निर्माणमा हालसम्म ३ करोड बढी खर्च भइसकेको सिसाघारी सिमसार तथा पर्यापर्यटन समितिका अध्यक्ष दिलबहादुर अधिकारीले जानकारी दिए ।

उनका अनुसार अहिले यहाँ दैनिक ३ सयदेखि ४ सयसम्म आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् ।

प्राकृतिक रुपले सुन्दर यस मानिएको सिमसारको संरक्षण तथा प्रवर्द्धनमा डिभिजन वन कार्यालय, कटारी नगरपालिकाका साथै विभिन्न संघसंस्था र व्यक्तिलेसमेत सहयोग गरेका छन् ।

सबैको सहयोगले अहिले यस क्षेत्रकै पर्यटनको गन्तव्यका रुपमा विस्तार हुँदै गएको अध्यक्ष अधिकारीले बताए । “वन कार्यालय, कटारी नगरपालिकाका साथै प्रदेश सरकारले पनि यस क्षेत्रको प्रवर्द्धनमा सहयोगका गरिरहेका छन्”, उनले भने, “बर्सोनि यहाँ विकासको क्रम बढेको छ ।”

गतवर्ष संघीय सरकारअन्तर्गत सहरी विकास मन्त्रालयबाट ९७ लाख र कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट ९७ लाख बजेट प्राप्त भएको कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए । उनले उक्त रकम सिमसार जाने सडकको स्तरोन्नति गरिएको बताए । सडकलाई थप विस्तार गरी कालोपत्र गर्ने काम यथाशीघ्र सम्पन्न गर्नुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

५ वर्ष अघि स्थानीय उपभोक्ताको अतिक्रमणमा परेको खुला जग्गा अहिले लोभलाग्दो पर्यटकीय क्षेत्र बनेको प्रमुख श्रेष्ठले बताए । उनका अनुसार सिसाघारी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र रहेको सिमसार अहिले यस क्षेत्रकै महत्वपूर्ण पर्यटकीयस्थल बनेको छ ।

सामुदायिक वन उपभोक्ता समूहले जनश्रमदानसहित १ लाख ५० हजार लागतमा उपभोक्ताले अतिक्रमण गरेको क्षेत्रलाई नियन्त्रणमा लिएर सिमसार बनाउन सुरु गरिएको नगरप्रमुख श्रेष्ठको भनाइ थियो । उनका अनुसार उक्त क्षेत्र पर्यटकीयस्थलका रुपमा विस्तार भई सिमसार पर्यापर्यटन समितिमार्फत सञ्चालन भइरहेको छ ।

सिमसारमा अहिले ‘टिकटक’, ‘झुला’, ‘लभ साइन’, बाल उद्यान, तालमा डुंगा, रमणीय पार्कलगायतका संरचना बनेका समितिका अध्यक्ष अधिकारीले बताए । उनका अनुसार सिमसार क्षेत्रमा मृग, निलगाई लगायतका वन्यजन्तुलाई संरक्षण गरी राखिएको छ ।