अब साइबर ब्युराेको आफ्नै भवन, आइजिपीले  गरे शिलान्यास

अब साइबर ब्युराेको आफ्नै भवन, आइजिपीले  गरे शिलान्यास


काठमाडौँ ।

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युराेको काठमाडौँ सामाखुसीमा निर्माण हुने भवनको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले बुधबार शिलान्यास गरेका छन् ।

कार्यक्रममा उपस्थित नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयाेङ र प्रहरी महानिरीक्षक कुँवरले संयुक्त रूपमा उक्त भवनको ताम्रपत्र अनावरण गर्नुका साथै भूमि पुजनसमेत गरे ।

राजदूत तइयाेङले वर्तमान समयमा बढ्दै गएको साइबर अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि नेपाल प्रहरीले साइबर ब्यूरोको क्षमताको स्तरोन्नति गर्दै आमनागरिकलाई साइबर अपराधबाट जोगाउन थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । आगामी दिनमा साइबर ब्युराेको क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरीसँग आपसी सहयोग तथा सहकार्य गर्ने उले बताए ।

प्रहरी महानिरीक्षक कुँवरले विज्ञान र प्रविधिको क्षेत्रमा देखिएको विकास नेपालमा मात्र नभई हाल विश्वमै ठुलो आयाम र चुनौतीका रूपमा खडा भएको र यसले नेपाल प्रहरीको कार्यक्षेत्रमा समेत ठुलो परिवर्तन ल्याएको बताए ।

सीमित साधन स्रोत एवं पूर्वाधारका बाबजुद साइबर ब्युराेले आफ्नो क्षमता र दक्षताले सम्भव भएसम्मको सेवा प्रवाह गर्दै आइरहेको उल्लेख गर्दै उनले आगामी दिनमा साइबर अपराधसँग सम्बन्धित विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि साइबर ब्युराेको संरचना सुदृढीकरण, प्रविधि र दक्ष जनशक्तिको उपलब्धता अत्यन्त जरूरी भएको बताए ।

महानिरीक्षक कुँवरले मित्रराष्ट्र कोरियाबाट उपलब्ध भएको सहयोग नेपाल प्रहरीको संस्थागत विकासको सन्दर्भमा दूरगामी महत्वको प्रारम्भ विन्दुका रूपमा रहने विश्वास व्यक्त गरे ।