मेयरले आँटे के हुँदैन ? नपत्याए मटिहानी जानुस्

मेयरले आँटे के हुँदैन ? नपत्याए मटिहानी जानुस्

मेयरकाे सपना र सिमानामा जगमगाएकाे पालिका


बर्दिबास ।

६ वर्षअघिसम्म भारतको सिमानामा रहेको मटिहानी नगरपालिकाको अवस्था अस्तव्यस्त र दयनीय थियो । भारतको बिहारस्थित मधुवनी जिल्लासँग जोडिएको यस पालिकाले शताब्दियौँ लामो धार्मिक विरासत बोके पनि उचित प्रचारप्रसार हुन नसक्दा धेरैलाई मटिहानीको विषयमा थाहै थिएन ।

तर, जब नगरबासीले स्थानीय हरि मण्डललाई निर्वाचित गराए, तब मटिहानी देशमै धार्मिक पर्यटनका हिसाबले अग्रणी बन्यो । पत्रकार तथा नेपाल पत्रकार महासंघ महोत्तरीका पूर्वसभापतिसमेत रहेका हरि मण्डलले पहिले त मटिहानीको विशिष्ट परिचय खोजे । मन्दिर नै मन्दिरको नगर भनेरसमेत चिनिने मटिहानीको धार्मिक श्रीवृद्धि गर्न गएका ६ वर्षमा नगर प्रमुख मण्डलले निकै ठुलो मिहिनेत गरे ।

पत्रकार पृष्ठभूमि भएकाले उनी मिडियामैत्री त थिए नै, अझ प्रचारप्रसार कसरी गर्ने भन्ने विषयमा नै उनले धेरै समय खर्चिए । अनि सम्भव भयो– मटिहानीप्रति सिंगो देशको ध्यानाकर्षण ।

मटिहानी प्रवेश गर्नुअघि पालिकाको ऐतिहासिक धार्मिक महत्व झल्किने विशाल गेटहरू देख्न सकिन्छ, जसले पालिकाको परिचयलाई थप फराकिलो बनाएको छ ।

झन्डै २ दशक जनप्रतिनिधिविहीन रहेका स्थानीय तहमा पहिलो कार्यकाल प्रायः जनप्रतिनिधिलाई कठिन नै रह्यो, जुन कठिनाइ नगर प्रमुख मण्डलले पनि महसुस गरे ।

‘तर, कर्मचारीहरूको समन्वय, जनप्रतिनिधिहरूको साझा सहमति र स्थानीयको सद्भाव रह्यो भने सन्तुष्ट हुने गरी नै विकास गर्न सकिँदो रहेछ,’ नगर प्रमुख मण्डलले भने ।

विशेष गरी नगर प्रमुख मण्डलले पालिकामा रहेका मठमन्दिर, मस्जिद, मदरसा आदिको जीर्णोद्धार, मर्मतसम्भार र निर्माण कार्यलाई प्राथमिकतामा राखे ।

…अनि केलाए मटिहानीको ‘गुदी’

पत्रकारिताको माध्यमबाट समेत मटिहानीको धार्मिक श्रीवृद्धिमा लागेका मेयर मण्डलले भूगोलको मौलिक विशिष्ट विशेषतालाई बुझिसकेका थिए । यसैको परिणामस्वरूप यो अवधिमा मण्डलले करिब २ दर्जन मन्दिरको सौन्दर्यकरण, मटिहानीको मुटु मानिएको लक्ष्मीनारायण मन्दिरको जीर्णोद्धार र सौन्दर्यकरण गरेर बाह्य र आन्तरिक पर्यटकलाई लोभ्याउन सफल भएका छन् ।

मटिहानीको प्राण मानिएको मटिहानी संस्कृत पाठशाला र आचार्यहरूको अध्यापन हुने विद्यापीठ र लक्ष्मीनारायण मठका कारण पनि मटिहानी देशमा चर्चित छ । यही भूमिमा १७५१ सालमा अनौपचारिक रूपमा गुरुकुल

आरम्भ गरेको र २६ वर्षपछि १८०१ सालमा लक्ष्मीनारायण महाविद्यालयको स्थापना भएकाले पनि मटिहानीको आफ्नै छुट्टै महत्व र विशेषता छ । यो गुरुकुल शताब्दियौँ पहिला स्थापना भएको पहिलो र जेठो गुरुकुल मानिन्छ ।

नगर प्रमुखले मण्डलले यसलाई नै मुख्य समृद्धिको अस्त्र बनाएका छन् । विश्वविद्यालयहरूबाट खोज र अनुसन्धान गर्न आउने विद्यार्थी होऊन् या धार्मिक पर्यटनको आकर्षण, यसलाई प्रचारप्रसार गर्न सके समृद्धिको आधार तय हुने नगर प्रमुख मण्डलको विश्वास छ ।

अहिले यही विश्वास नगर प्रमुख मण्डललाई उचाइ दिने मुख्य जस पनि बनेको छ । यसैका कारण पनि मटिहानीले उनै मण्डललाई दोस्रो पटक प्रमुखमा अनुमोदन गर्‍यो ।

शिक्षामा गरेको प्रगति

जिल्लाको दक्षिणी क्षेत्रका पालिकाहरूमा अझै रुढीवाढी र अन्धविश्वास कायमै छ । लैंगिक विभेद र धार्मिक अन्धविश्वासले विकासका कार्यहरूमा बाधा पुर्‍याउने गर्छ ।

अझ धार्मिक नगरी भनेर चिनिने मटिहानीमा त यस्ता चरित्रहरू हुने नै भए, जसका कारण छोरीलाई पढाउन हुन्न, छोरालाई पढाउनुपर्छ भन्ने जस्ता मान्यता अझै पूर्ण रूपमा चिर्न सकिएको छैन ।

यसबीचमा नगर प्रमुख मण्डलले छोरीहरूका लागी बेग्लै नीति बनाए । विद्यालय जाने छोरीहरूलाई साइकल वितरण तथा सेवासुविधामा वृद्धि गर्नाले छोरीहरू मात्र आकर्षित भएका छैनन्, अभिभावकमा पनि छोरीलाई पढाउनुपर्छ भन्ने अवधारणा विकास हुँदै गएको छ ।

छोरालाई समेत पढाइप्रति आकर्षित गर्न नगर प्रमुख मण्डलले विविध छात्रवृत्तिलगायत आकर्षणले मटिहानी धार्मिक नगरी मात्र होइन, शैक्षिक नगरीका रूपमा समेत विकसित बन्दै गएको स्थानीय बताउँछन् । अहिले पनि संस्कृत पढ्न देशैभरका विद्यार्थी यहाँ आउने गर्छन्, जसले मटिहानीको शैक्षिक आकर्षणलाई चित्रण गर्छ ।

पूर्वाधार निर्माणमा समेत अग्रणी

तत्कालीन ९ वटा गाविस मिलेर बनेको यस पालिकामा सिमानाका कारण थुप्रै समस्या छन् । झन्डै ३६ हजार जनसंख्या रहेको यस पालिकाका भौगोलिक विकटतालाई सुगम बनाउन नगर प्रमुख मण्डलले सम्भाव्यता अध्ययन गरी योजनाहरू बनाएका छन् ।

अहिले कतिपय योजना सकिइसकेका छन् भने झन्डै ६३ वटाभन्दा बढी योजना सञ्चालित छन् । सोहीअनुसार यातायात, सडक निर्माण, मर्मतसम्भारको काम भइरहेको नगरपालिकाको प्रशासन शाखाले जनाएको छ ।

मटिहानीका मुख्य ठाउँहरू धिरापुर, मझौरा, विसनपुर, सिमरदही लगायत अहिले यातायातका हिसाबले सुगम मानिन्छन्, जुन नगर प्रमुखको प्राथमिकता र सन्तुलित विकास गर्ने दृष्टिकोणले सम्भव भएको स्थानीय बताउँछन् ।

यहाँ मुस्लिम र हिन्दु समुदायकाे अन्तरघुलन छ : मेयर मण्डल

सिमानामा थुप्रै समस्या बोकेर बसेको मटिहानीलाई कसरी नयाँ उचाइमा पुर्‍याउनुभयो ?

पक्कै पनि २ दशकदेखि जनप्रतिनिधिविहीन भएर अस्तव्यस्त बनेको यो नगरमा म निर्वाचित भएर आउँदा थुप्रै समस्या थिए । पहिला त जनताका आधारभूत समस्या पहिचान गरेर कार्ययोजना बनाएँ, जुन योजनालाई जनप्रतिनिधिहरूले कुनै पूर्वाग्रह नराखी सहयोग गर्नुभयो । यसैको परिणाम स्वरूप नगर एउटा नयाँ उचाइमा पुगेको छ ।

सीमासम्बन्धी समस्याको अवस्था के छ ?

मैले पत्रकारिता गर्दा पनि सीमाका समस्याहरूलाई मिहीन ढंगले केलाएको थिएँ । जसले कार्ययोजना मात्र होइन, एक्सन लिन पनि सहयोग पुग्यो । भारतको मधुवनी जिल्लासँग जोडिएको यो पालिका जिल्लाका अन्य पालिकाको तुलनामा अलि बढी संवेदनशील छ । हामीले सीमाका विषयमा बजारदेखि अन्य धेरै विषयमा छलफल गरेर एउटा निष्कर्षमा पुर्‍याएका छौँ ।

बालविवाहको समस्या पनि यो पालिकामा निकै देखियो । कसरी न्यूनीकरण गर्नुहुन्छ ?

तपाईंले निकै महत्वपूर्ण प्रश्न गर्नुभयो । अशिक्षाका कारणले म निर्वाचित भएर आउँदासम्म ५० प्रतिशतभन्दा बढीको बालविवाह हुन्थ्यो । तर, मैले त्यसलाई फरक तरिकाले निरुत्साहित गर्ने प्रयास गरेको छु । उमेर पुगेर विवाह गर्नेहरूलाई हामीले घरमा नै पुगेर पुरस्कारको व्यवस्था मात्र गरेका छैनौँ, यसै क्षेत्रमा आधारित भएर थुप्रै चेतनामूलक कार्यक्रमसमेत गरेका छौँ । हरेक वर्ष यही बालविवाहलाई निरुत्साहित गर्न बजेटसमेत छुट्ट्याउने गरेका छौँ ।

यो पालिका भारतीय सीमामा भएकाले जिल्लाको उत्तरी क्षेत्रबाट सामान किनमेल गर्न आउनेको संख्या बाक्लै देखिन्छ । यसको व्यवस्थापन चाहिँ कसरी गर्नुभएको छ ?

कहिलेकाहीँ यो विषयले पालिकामा तनाव नै हुन्छ । प्रहरीले सीमास्थित भारतीय बजार पुगेर ल्याइएका सामान जफत गरिदिन्छ । त्यसपछि उत्पन्न हुने तनाव व्यवस्थापनका लागि जनप्रतिनिधिले नै पहलकदमी लिनुपर्ने हुन्छ ।

भारतीय बजारमा सस्तो पाउने भएकाले पनि नेपालीहरू किनमेल गर्न दैनिक सयौँको संख्यामा ओहोरदोहोर गरिरहेका हुन्छन् । सीमाबाट अवाञ्छित गतिविधिसमेत हुन सक्ने हुँदा हामी यस विषयमा निकै चनाखो रहन्छौँ । यसका लागि हामी कसरी व्यवस्थित र निगरानी गर्ने भन्ने विषयमा प्रहरीहरूसँग सहकार्यमै छौँ ।

दोस्रो कार्यकालका लागि पनि जित्नुभयो । आगामी योजना के–के छन् ?

जनताको अनुमोदनलाई पुनः मैले अवसरका रूपमा लिएको छु । यो ५ वर्षभित्र यहाँका जनताले निकै परिवर्तनको महसुस गर्नेमा म ढुक्क छु । अघिल्लो कार्यकालमा बनाइएका विकासका कतिपय गुरुयोजनाहरू पूरा गर्नु छ भने पहिले बनाइएका धेरै आधारलाई पूर्णता दिनु छ । पालिकाको पहिचानलाई वास्तवमै एउटा उचाइमा पुर्‍याइसकेको छु । यसलाई मैले भन्नुपर्दैन, पालिकाका जनता जसलाई सोधे पनि भन्छन् ।

मटिहानीको धार्मिक पर्यटनलाई कसरी विकास गर्दै हुनुहुन्छ ?

मैले मटिहानीलाई धार्मिक सहिष्णुताको एउटा उदाहरणीय भूमि बनाएको छु । मुस्लिम र हिन्दुहरूको अन्तरघुलनले बनेको अनुपम समाजको बीचमा आफू पनि अन्तरघुलित हुन पाउँदा निकै आनन्द आउँछ । अस्ति भर्खर मक्का जाने मुस्लिम समुदायलाई एक कार्यक्रम आयोजना गरेर बिदाइ गरेँ । जे होस्, जनप्रतिनिधिको साझा भूमिकालाई सन्तुलित बनाएको म आफैँले महसुस गरेको छु ।

पूर्वराष्ट्रपतिलाई पनि मटिहानी ल्याउनुभयो । यसले धार्मिक महत्वलाई कत्तिको बढावा देला ?

हो, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि हाम्रो पवित्र शक्ति भूमिमा अनुभयो । हाम्रो निमन्त्रणालाई स्वीकार गरेर मटिहानीमा राष्ट्रपतिले पाइला टेक्दा हाम्रो नगरको उचाइ थप चुलिएको मैले महसुस गरेको छु । उहाँले नेपालकै पहिलो गुरुकुलको अवलोकन मात्र गर्नुभएन, हाम्रा मठ–मन्दिरको प्राचीन महत्वलाई समेत बुझेर जानुभयो । वहाले भन्नुभएको थियो– म यहाँ आएपछि ऊर्जा प्राप्त भएको छ । राष्ट्रपति आएपछि हाम्रो मटिहानीको चिनारी थप फराकिलो बनेको छ ।

अरू केही भन्नु छ ?

हाम्रो पालिकामा भए/गरेका गतिविधिलाई उजागर गरिदिनुभयो । हामी अत्यन्त आभारी छौँ । विकास टाइम्स म्यागजिनले हाम्रो जस्तै अन्य पालिकाका गतिविधि र खबरदारीलाई निरन्तरता दिइरहोस्, शुभकामना दिन चाहन्छु । विकास पत्रकारितामा नयाँ उचाइका लागि शुभकामना ।

–विकास टाइम्स मासिकबाट