लेदो सहितको पहिरोले ५० रोपनी बढी जमिन बगर बनाएपछि कार्की भन्छन् -अब के खाने, कहाँ गएर बस्ने ?

लेदो सहितको पहिरोले ५० रोपनी बढी जमिन बगर बनाएपछि कार्की भन्छन् -अब के खाने, कहाँ गएर बस्ने ?


पर्वत ।

जलजला गाउँपालिकामा पहिरोले बस्तीमा ठूलो क्षति पुर्‍याएको छ ।

जलजला–५ कुवापानीको पहाडबाट खसेको पहिरोले जलजला–२ पूर्णगाउँ, मूलघडेरी, नेपानेका ७ वटा घर विस्थापित भएका छन् भने झण्डै ८५ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।

असार दोस्रो सातादेखि पानी परेको समयमा आएको लेदोसहितको पहिरोले हालसम्म ७ वटा घरपरिवार विस्थापित भएको जलजला–२ का निवर्तमान वडाध्यक्ष गोविन्द खत्रीले जानकारी दिए । “पानी पर्नासाथ पहिरो खस्ने समस्या छ, अहिले ७ वटा परिवारले बस्दै आएको घर छाडेर अन्यत्र विस्थापित हुनुभएको छ” खत्रीले भने ।

उनका अनुसार नगेन्द्र कार्की, पदम कार्की, रवीन पुन, डम्बर खत्री, लालबहादुर जिसी, रेशमबहादुर काकी र डेकबादुर कार्की गरी ७ वटा घर जोखिममा छन् । २ वटा परिवार काठमाडौं बस्न थालेपनि अहिले ५ वटा परिवार बिचल्लीजस्तै अवस्था रहेको उनले जानकारी दिए । ५ परिवार अहिले स्थानीय सामुदायिक भवन र आफन्तको घरमा शरण लिन बाध्य छन् । पहाड चिरा–चिरा परेर बसेका कारण पानी परेको समयमा त्यस क्षेत्रका बस्ती निकै खतरामा परेका छन् ।

कुवापानीको जंगलबाट आएको पहिरोसहितको लेदोले आफ्नो मात्रै झण्डै ५० रोपनी बढी जमिन बगर बनेको पहिरोबाट विस्थापित पदम कार्कीले बताए । “पानी नपर्दाको समयमा आफ्नो घरमा खाना पकाएर खाए पनि रात बिताउन हामी नवजागरण महिला आमा समूहको सामुदायिक भवनमा जाने गरेका छौँ”, उनले भने । पहिरोले गर्दा खेतबारीमा लगाएको मकै, सिमी, कोदो, धान नष्ट गरेको छ ।

“अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएको छ”, पहिरोले पुर्‍याएको क्षति देखाउँदै कार्कीले भने, “अब के खाने, कहाँ गएर बस्ने ? ” हालसम्म पहिरो रोक्न, विस्थापित भएकाको बासस्थानको उपयुक्त प्रबन्ध हुन नसकेको डम्बर खत्रीले गुनासो गरे ।

पहिरोकै कारण पूर्णगाउँमा रहेको बराहताल लेदोले पुरिएको छ । त्यहाँ रहेका कार्की र घर्तीका २ मन्दिरमा क्षति पुगेको छ । त्यसैगरी मल्लाज हुँदै मालगाउँबाट म्याग्दीको नागीजाने सडक पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सडकको ठाउँठाउँमा ठूलाठूला खाडल बनेपछि उक्त सडकमा सवारीसाधन ठप्प भएको छ ।

जलजला गाउँपालिकाका निवर्तमान अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) ले मानवीय क्षति नभए पनि पहिरोले ठूलो भौतिक क्षति भएको बताए । उनले पहिरोले जलजलाको २ वटा वडाको बस्तीलाई ठूलो क्षति पुर्‍याउने देखिएकाले दीर्घकालीन रुपमा बस्ती, खेतीयोग्य जमिन, बराह ताल, जिसी र कार्कीको कुल मन्दिर, २ वटा वडाको ठूलो बस्ती जोगाउन गुरुयोजनाका साथ तीन वटै सरकार जुट्न आवश्यक देखिएको बताए ।

पहिरो नियन्त्रणका लागि भू–तथा जलाधार ब्यवस्थापन कार्यालय र पूर्वाधार विकास कार्यालयको स्टिमेटअनुसार प्रदेश सरकारले तत्काल केही बजेट विनियोजन गरेर संरक्षण तथा पहिरो नियन्त्रणको काम अगाडि बढ्ने पनि उनले जानकारी दिए ।