अनलाइन गेमबाट ११ लाख ठगी गर्ने शेर्पा पक्राउ

अनलाइन गेमबाट ११ लाख ठगी गर्ने शेर्पा पक्राउ


काठमाडौँ ।

सामाजिक सञ्जालको माध्यममा साथी बनाइ जिमेल, फिफा एपको लिंक पठाएर अनलाइन ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइन ठगी गर्ने २८ वर्षीया दादिकी शेर्पालाई पक्राउ गरेको हो ।

भोजपुर हतुवागढी गाउँपालिका भई हल काठमाडौँको टोखा बस्ने शेर्पाले पीडितको फेसबुक, ह्वाट्स्एप, भाइबरबाट साथी बनी फिफा एप इन्स्टल गर्न लगाई ११ लाख २७ हजार रुपैयाँ ठगी गरेकी हुन् ।

व्यक्तिगत विवरण समेत अपडेट गर्न लगाई पीडितलाई सोही एपबाट आर्थिक कारोबार गर्न नेपालको कानुन बमोजिम हुने भनेर विश्वास दिलाएको प्रहरीले जनाएको छ ।

अनलाइन गेमको विज्ञापन राखेर पीडितलाई अनलाइन बेटिङ गेम खेल्न रकम जम्मा गर्न लगाउने र जम्मा गरेको ९० मिनेटभित्र १.४८ प्रतिशतका दरले फाइदा हुने झुटा आश्वासन दिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

शेर्पालाई ठगी तथा सट्टेबाजीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।