कारबाहीबाट बच्न शिक्षकले सडकमै गरे हाजिर

कारबाहीबाट बच्न शिक्षकले सडकमै गरे हाजिर


काठमाडौँ ।

नेपाल शिक्षक महासंघले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र कर्मचारीले सडकमै हाजिर गरेका छन् ।

काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गरेर आन्दोलनमा नजान र गयल भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएपछि शिक्षक–कर्मचारीले कानुनी रूपमा बच्ने र आन्दोलनलाई पनि साथ दिने बाटो रोजेका हुन् ।

महासंघको काठमाडौँ महानगपालिका समितिका अध्यक्ष राजेन्द्र अधिकारी र सचिव हेरम्बराज कँडेलले महानगरका प्रधानाध्यापकहरूको संयुक्त बैठकले आन्दोलनमा सहभागी हुने र सडकमै हाजिर गर्ने निर्णय गरेको बताए ।

उनीहरूले आन्दोलनका कारण क्षति भएको पढाइ अतिरिक्त कक्षाहरूबाट पूर्ति गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाउँदै महासंघले यही असोज ३ गतेदेखि काठमाडौँ सडक केन्द्रित आन्दोलन गरिरहेकाे छ ।

महासंईले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बालकक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकनलगायत विषयमा सम्बोधन गर्न माग गर्दै आएको छ ।