काठमाडौँ ।
बबरमहलस्थित मधेस भवन छेउछाउका गल्लीमा दिउँसो २ बजेतिर आत्तेस र उत्सुकताले भरिएका एक हुल महिला हतारहतार हिँडिरहेका थिए ।
त्यही हुलमध्येकी एक महिला छेवैको पसलमा व्यापार गर्दै गरेकी अर्की महिलालाई भन्दै थिइन्– ‘दिदी रोडतिर जाने हैन ! रमिता छ त मास्तिर । जाऊँ हेर्न ।’ पसलकी ती महिला जबाफ दिँदै थिइन्– ‘रमिता हेर्न त जान पर्नी हो । हिजो पनि गइएन । तपाईँहरू जाँदै गर्नू, म एकछिनमा आइहाल्छु ।’
उनीहरूको कुराकानीको सन्दर्भ थियो, काठमाडौँमा बुधबारदेखि चलिरहेको शिक्षकहरूको आन्दोलन । विद्यालय शिक्षाको अधिकार स्थानीय तहबाट हटाउनुपर्ने लगायतका विभिन्न १७ बुँदे माग पूरा गराउन भन्दै सरकारी शिक्षकहरू नेपाल शिक्षक महासंघको आह्वानमा अहिले काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । उनीहरूको आज आन्दोलनको दोस्रो दिन हो ।
एकातिर शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयहरूमा पठनपाठन ठप्प छ भने उनीहरूकै आन्दोलनका कारण काठमाडौँको जनजीवन पनि ठप्प जस्तै छ । बिहानदेखि बेलुकीसम्म अस्तव्यस्त ट्राफिक, यात्रुहरू सावारीमा भन्दा पैदल जानुपर्ने बाध्यताले गर्दा अहिले मुख्य समस्याचाहिँ भित्री काठमाडौँका नागरिकलाई परिरहेको छ ।
एक जना शिक्षक भन्दै थिए, ‘महासंघले काठमाडौँ जान भन्दै हामीसँग ३/३ हजार रुपैयाँ उठाएको थियो, यदि जान्नँ भन्यो भने ६ हजार जरिमाना लाग्छ भन्यो । त्यही भएर ३ हजार तिरेर आन्दोलनमा आएको ।’
बबरमहलका महिलाहरूले भनेजस्तै ‘रमिता’ अहिले काठमाडौँमा साँच्चिकै देखिन्छ । शिक्षकहरू आन्दोलनमा, विद्यार्थीहरू घरमा, नागरिक आन्दोलन हेर्न सडक र घरका छतमा अनि सरकार सिंहदरबारमा ।
यो अहिलेको यथार्थ चित्र हो । आफ्नो अधिकारका लागि आवाज उठाउने अधिकार संविधानले सबैलाई दिएको छ । तर, आफ्नो अधिकारका लागि कसैको अधिकार हनन गर्ने छुट संविधानले दिएको छैन ।
अहिले काठमाडौँमा चलेको आन्दोलन पनि सबै शिक्षकहरू अधिकारका लागि मात्र आएका छैनन् । धेरैजसो भिड बढाउने प्रयोजनका लागि मात्र छन् । र, ‘रमिता’को रंगमञ्चमा कलाकारका रूपमा छन् । कतिलाई त किन आन्दोलनमा आएको भन्ने पनि थाहा छैन ।
एक जना शिक्षक भन्दै थिए, ‘महासंघले काठमाडौँ जान भन्दै हामीसँग ३/३ हजार रुपैयाँ उठाएको थियो, यदि जान्नँ भन्यो भने ६ हजार जरिमाना लाग्छ भन्यो । त्यही भएर ३ हजार तिरेर आन्दोलनमा आएको ।’
कतिपय शिक्षकहरू घुमफिर गर्ने प्रयोजनका लागि परिवारैसहित आएका छन् । सुन्धारा, पशुपति, वसन्तपुर क्षेत्रमा आज दिउँसो शिक्षकहरूको बाक्लै उपस्थिति थियो । अधिकांश शिक्षक बालबच्चा र पति–पत्नीसँग घुमफिर गर्दै थिए । आन्दोलनमा मुख देखाउने र घुम्ने सोचकै साथ उनीहरू काठमाडौँ आएको प्रष्ट हुन्छ ।
टन्टलापुर घाममा एक वृद्ध सडक छेउछाउमा यत्रतत्र फालिएका पानीका बोतल समेट्दै थिए । तर, उनकै छेउमा एक शिक्षकले पानी खाएर रित्याएको बोतल मिल्काउँदै र लात्तीले हान्दै थिए ।
सबै नराम्रो पक्ष मात्र छैन । काठमाडौँको अर्थतन्त्रलाई यसले टेवा पनि पुर्याएको देखिन्छ । काठमाडौँका सबैजसो गेस्ट हाउस र होटलहरू अहिले भरिभराउ छन् । सबैजसो क्षेत्रको व्यापार बढेको छ ।
अरूबेला सुनसानजस्तै देखिने कोटेश्वर आसपासका गेस्ट हाउसमा अहिले भ्याइनभ्याइ छ । एउटै कोठामा ३–४ जनासम्मलाई व्यवस्थापन गर्नुपर्ने बाध्यता पनि छ ।
‘नटिप्नू हेर कोपिला, नचुँड्नू पाप लाग्दछ
नच्यात्नू फूल नानी हो, दया र धर्म भाग्दछ’
बानेश्वर चोक छेउमा लगाइएको दुबो र घाँस माडेको फोटोसहित काठमाडौँका मेयर बालेन शाहले आफ्नो फेसबुकमा पोेस्ट गरेको कविता हो यो । यस्तो दृश्य बानेश्वरदेखि माइतीघर मण्डलासम्म जहाँतहीँ देख्न पाइन्छ । महिनौँ लगाएर गोडमेल र पानी हालेर हुर्काइएका बिरुवा आज २ दिनमै निमिट्यान्न हुँदै छन् । यो पनि एउटा रमिता नै हो ।
मास्टर डिग्री गरेका शिक्षक हौँ भन्नेहरू निःशुल्क वितरण गरिएको पानीका लागि ठेलमठेल र तँछाडमछाड गर्दाको दृश्यले विद्यालयमा पढ्दा लाइन बिगारेको भन्दै सुम्लो बस्ने गरी शिक्षकले हानेको याद आयो । तर, यो त रमिता हो नि !
टन्टलापुर घाममा एक वृद्ध सडक छेउछाउमा यत्रतत्र फालिएका पानीका बोतल समेट्दै थिए । तर, उनकै छेउमा एक शिक्षकले पानी खाएर रित्याएको बोतल मिल्काउँदै र लात्तीले हान्दै थिए । नैतिकता र दायित्वको विषयमा शिक्षकभन्दा ती अअपढ (सायद) वृद्ध बढी इमानदार देखिए ।
एउटा अर्को दृश्यलाई मोबाइलको क्यामेरामा कैद गर्दै गर्दा रमिताको पनि पराकाष्ठा नाघेको देखियो । दृश्यमा एक जना शिक्षक डिब्बाबाट तमाखु निकालेर चुनासँग मिसाएर माड्दै थिए ।
आन्दोलनमा आएका शिक्षकको यो दृश्य देख्दा कक्षमा विद्यार्थीलाई खैनी चुरोट खान हुँदैन भनेर सिकाउने शिक्षकको पनि खुबै याद आयो । तर, काठमाडौँमा त रमिता पो छ त !
प्रतिक्रिया