नालीको पानी पसेर भत्कियो घर, परिवार विस्थापित

नालीको पानी पसेर भत्कियो घर, परिवार विस्थापित


बागलुङ ।

बागलुङ नगरपालिका–१ मरेपीपलमा वर्षाका कारण एक घर भत्केर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ ।

नाली निर्माणका क्रममा खनिएको जगमा अविरल वर्षाका कारण घर पूर्णरुपमा भत्किएर परिवार विस्थापित भएको छ ।

नाली निर्माणका क्रममा चर्किएको घर गए रातिको वर्षाका कारण पूर्णरुपमा भत्किएको हो । बागलुङ नगरपालिकाले अहिले मरेपीपलमा अतिक्रमण सडकमा भएका संरचना हटाउने तथा सडक बिस्तार गर्ने र नाली निर्माण गरिरहेको छ ।

नाली विस्तारका लागि जग खन्नेक्रममा भारी वर्षा भएपछि नालीको पानी घरमा पसेर घर भत्किएको हो । नाली निर्माण गर्दा जोखिममा परेको घर वर्षाको पानीले स्थानीय भगवती सापकोटाको घर भत्किएको हो ।

दुईतले कच्ची घर भत्किएपछि छिमेकीको घरमा आश्रय लिएर बसेको सापकोटाले बताए । आर्थिक अवस्था न्यून रहेको सापकोटाको परिवार विस्थापित भएपछि बागलुङ नगरपलिकाले घर निर्माणमा सहयोग पु¥याउने आश्वासन दिएको छ ।

बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले भत्किएको घरको स्थलगत अनुगमन गरेका थिए । खड्काले विपन्न समुदायलाई घर बनाउन विपद् शाखामार्फत सहयोग गरिरहेको बताउँदै सापकोटाको घर निर्माणमा बागलुङ नगरपालिकाको क्षमताअनुसार सहयोग गर्नेगरी कार्यपालिकाको बैठकमा लैजाने बताए ।

अहिले सापकोटाको घरबाट पुरिएका सामग्री निकाल्न स्थानीयले सहयोग गरिरहेको बालमन्दिर टोल विकास संस्थाका अध्यक्ष खिमराज सापकोटाले बताए

सापकोटाका अनुसार टोल विकास संस्था र स्थानीयको सहयोगमा भत्किएको घर पन्छाउने कार्यमा जुटिरहेको बताए । सापकोटालाई रेडक्रसमार्फत खाद्यान्नसमेत उपलव्ध गराइएको छ ।