देउता चढेको भन्दै अन्धाधुन्ध खुकुरी प्रहार, एक महिलाको मृत्यु

देउता चढेको भन्दै अन्धाधुन्ध खुकुरी प्रहार, एक महिलाको मृत्यु


दाङ ।

दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना महिलाको घटनास्थलमै ज्यान गएको छ। घटनामा २ जना गम्भीर घाइते भएका छन्।

शनिबार दिउँसो साढे २ बजेतिर तुलसीपुर ११ बेलटाकुरास्थित भगवती टोल बस्ने अन्दाजी ३८–३९ वर्षीय टेक बहादुर हमालले धारिलो हतियार खुकुरी प्रहार गर्दा एक जना महिलाको ज्यान गएको छ।

२ जना गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए।

ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिका ११ निवासी अन्दाजी ४२र४३ वर्षीया रिता लामिछाने रहेकी छन्। आफ्नै घर अगाडि उभिरहेको अवस्थामा घाँटीमा एक्कासी खुकुरी प्रहार गर्दा रिताको घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको छ ।

त्यस्तै त्यसै ठाउँ बस्ने ४५ वर्षीय वीरबहादुर हमाल र अन्दाजी ६५ वर्षीया कमला कुमारी हमाल गम्भीर घाइते भएका छन्।

घाइते दुवै जनाको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाइएको प्रहरीले बताएको छ। साथै प्रहरीले खुकुरी प्रहार गर्ने टेक बहादुर हमाललाई आफ्नै घरभित्र लुकेर बसेको अवस्थामा खुकुरीसहित पक्राउ गरेको छ।

केसीका अनुसार टेकबहादुरले आफूलाई देउता चढेको भन्दै स्थानीय माथि खुकुरी प्रहार गरेका थिए ।

उनी दिउँसो घरबाट खुकुरी लिएर निस्किएका थिए । उनले बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए ।

घटनाको अनुन्धान जारी रहेको छ ।