सर्लाहीमा दिउँसोको कर्फ्यू हट्यो , राति ८ घण्टा कायम

सर्लाहीमा दिउँसोको कर्फ्यू हट्यो , राति ८ घण्टा कायम


सर्लाही ।

मलंगवामा ४ दिनपछि दिउँसोको समयको कर्फ्यू हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आज बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले दिउँसोको कर्फ्यू हटाउने निर्णय गरेको हो ।

राति ८ बजेदेखि बिहान ४ बजेसम्म भने कर्फ्यू कायमै राखिएको छ ।

दिउँसोको कर्फ्यू हटे पनि निषेधाज्ञा जारी छ । मलंगवा नगरक्षेत्र भित्र कुनै प्रकारको भेला हुन, जुलुस गर्न, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले सामाजिक संजालमा सामाजिक सद्भाव बिगार्ने खालका अफवाह फैलाउने व्यक्तिको पहिचान गरी कानून बमोजिम कारबाही गर्ने सुरक्षा समितिले निर्णय गरेको जानकारी दिनुभयो।

असोज ४ गते मलंगवा नगरपालिकामा मूर्ति सेलाउने क्रममा दुई समुदायबीच झडप भएपछि मलंगवा नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू लगाएको थियो ।