बाँझो जग्गा खनेर संस्थालाई खेती गर्न दिँदै महानगर, भन्छ-भाडा तिर्नु पर्दैन

बाँझो जग्गा खनेर संस्थालाई खेती गर्न दिँदै महानगर, भन्छ-भाडा तिर्नु पर्दैन


चितवन ।

यहाँको क्षेत्रपुर क्षेत्रमा झाडी बनेको बाँझो जमिनमा डोजर लगाएर खेतीयोग्य बनाउन सुरु गरिएको छ । सो जग्गामा खेती लगाउन डोजर लगाइएको हो ।

भरतपुर महानगरपालिका– २ मा बाँझो रहेको जमिनको तथ्यांक लिएर खेती लगाउने अभियान सञ्चालन गरिएको हो । वडा समितिले निर्णय गरेर काम सुरु गरिएको हो ।

वडाध्यक्ष मनोज रानाभाटका अनुसार वडाभित्र रहेका १८ वटा टोलसँग बाँझो जमिनको तथ्यांक मागिएको थियो । तीमध्ये १० वटा टोलको जमिनको तथ्यांक आइसकेको छ । तथ्यांक प्राप्त भएको मिल्स एरिया र रामेश्वर टोल विकास संस्थाभित्रको बाँझो जमिनमा आजदेखि डोजर लगाएर झाडी फाँडेर खेती गर्न मिल्ने बनाउन थालिएको छ ।

उनका अनुसार ती जमिनमा समूहगतरुपमा खेती गर्न चाहनेहरुका लागि सूचना जारी गरिँदैछ ।

आमासमूह, टोल सुधार संस्थाजस्ता संस्थालाई जग्गा धनीले कुनै कामका लागि फिर्ता मागेको समयमा दिने गरी संस्थालाई सम्झौता गरेर जग्गा दिन लागिएको हो ।

वडाभित्र रहेका ठूला प्लटमा फूल र तरकारी खेतीका लागि संस्थागतरुपमा जग्गा माग्ने क्रमसमेत सुरु भएको छ । क्रमशः वडाभरि नै झाडी फाँडेर खाली जमिन संघसंस्थालाई खेतीका लागि दिइनेछ । यसरी खेती गर्नेले जग्गाधनीलाई कुनै भाडा तिर्नु पर्दैन । रानाभाटले भने, “हामी वडालाई नमुना बनाउने गरी काम अघि बढाउदैछौँ ।”

जनघनत्व राम्रो भएको यस वडामा घरबाहेकका क्षेत्रमा जग्गा बाँझो छाडेर झाडीमा परिणत भएको छ । बाँझो जमिनको झाडी फाडेर खेती लगाएमा यसले सरसफाइ र सुन्दरता पनि दिने उनले बताए ।