तिमिल्सेना जिल्लाकै उत्कृष्ट प्रहरी घोषित

तिमिल्सेना जिल्लाकै उत्कृष्ट प्रहरी घोषित


स्याङ्जा ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक जना प्रहरी जवानलाई ‘उत्कृष्ट प्रहरी’का रुपमा सम्मानित गरेको छ ।

लामो समयदेखी फरार रहेका प्रतिवादीहरु देखी लागु औषध, सुन चोरी र सरकारी छाप किर्ते गर्ने जस्ता गिरोह पक्राउ गर्न सफल प्रहरी सहायक हवल्दार युवराज तिमिल्सेनालाई जिल्लाकै ‘उत्कृष्ट प्रहरी’का रुपमा कदरपत्रले सम्मानित गरेको हो ।

नेपाल प्रहरीको महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०७९ अनुसार तिमिल्सेनालाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रुपमा कदरपत्रले सम्मान गरेको छ ।

तिमिल्सेनाले झण्डै १ सयभन्दा बढी फरार अभियुक्त प्रक्राउ गर्न सफल भएका व्याक्ति हुन् । अदालतले विभिन्न मितिमा सजाय सुनाएर फरार रहदै आएका प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएका तिमिल्सेना जिल्लाकै अब्बल प्रहरी जवानका रुपमा परिचित रहेका छन् ।

वडा प्रहरी कार्यालय वालिङमा दरबन्दी रहेका तिमिल्सेना हाल जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत छन् । तिमिल्सेनाले सांगठनिक नीति निर्देशन बमोजिम आफ्नो कर्तव्य निर्वाहलाई अनुशासित रुपले भुमिका निभाउदै आएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । अत्यन्तै मिलनसार, कर्तव्यनिष्ठ र निडर तिमिल्सेना सुचना संकलनमा निकै चलाख मानिन्छन् ।

जिल्ला प्रहरी कार्यालयले उनको कार्यक्षमता, कुशलता र प्रहरी संगठनको कार्यलाई उच्च बनाउने काममा सफलतापुर्वक काम गरेको भन्दै भदौ महिनाको जिल्लाकै ‘उत्कृष्ट प्रहरी’ घोषित गरी महिनाको बेस्ट पुलिस नामक कदरपत्रबाट सम्मान गरिएको हो ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक संजय बहादुर राउतले उक्त कदरपत्र एक कार्यक्रमका बिच तिमिल्सेनालाई हस्तान्तरण गरेका छन् । प्रहरी प्रमुख राउतले कदरपत्र पुरस्कार वितरण गर्दै आगामी दिनमा पनि प्रहरी संगठनलाई अझै विश्वासनीय बनाउने गरी काम गर्न निर्देशन सहित शुभकामना दिएका थिए ।

नेपाल प्रहरीले कार्य सम्पादनको आधारमा हरेक महिना एकजना प्रहरीलाई उत्कृष्ट पुरस्कार प्रदान गर्दै आएको छ । उत्कृष्ट प्रहरी छनोट कार्यले प्रहरी कर्मचारीमा काम गर्ने आत्मबल देखी संगठनलाई अझै मजबुद बनाउन महत्वपुर्ण भुमिका खेलेको प्रहरी अधिकारीहरु बताउछन् । जसले गर्दा नागरिकमा मुस्कान सहितको प्रहरी सेवा प्रदान गर्न मदत् पुगेको छ ।