पञ्चायतविरुद्ध आगो ओकल्ने कृष्ण, जसले काका जोगाउन आफ्नै ज्यान दिए

पञ्चायतविरुद्ध आगो ओकल्ने कृष्ण, जसले काका जोगाउन आफ्नै ज्यान दिए


४५ वर्षअघि महोत्तरीको बेंखाडी र हात्तिलेटमा प्रहरीले बन्दुक पड्काएको घटनाले अहिले पनि स्थानीयलाई त्रसित बनाइरहन्छ । २०३६ साल असोज ६ गते दिउँसो स्थानीय युवा कृष्णबहादुर रानाको मृत्यु हुने गरी प्रहरीले चलाएको त्यो गोली गाउँलेहरूले अझै बिर्सन सकेका छैनन् ।

प्रहरीको नियन्त्रणमा रहेका आफ्ना काका प्रेमबहादुर रानालाई फुत्काउने क्रममा ४५ वर्षअघि अर्थात् असोज ६ गते दिउँसो पछाडिबाट प्रहरीले गोली हानेर कृष्णबहादुरलाई घटनास्थलमै मारेको थियो ।

धनी र गरिबबीचको विभेद, पञ्चायतीहरूको चरम दमन र शोषणका विरुद्ध चलेको आन्दोलन दबाउन तत्कालीन सरकारले गरेको बर्बरतापूर्ण धरपकडका साक्षीहरू अहिले पनि महोत्तरीको उत्तरवर्ती क्षेत्र बेंखाडीमा जीवितै छन् ।

तिनै चरम दमनको निशाना बोकेर बाचिरहेकाहरू कृष्णबहादुर रानाको मृत्युलाई सम्झँदा अहिले निकै भावुक हुन्छन् । तत्कालीन समयमा प्रहरीको लात्ती, लठ्ठी र मुक्काको ‘चिनो’ ज्यानभरि लिएर बाँचिरहेकी मसिनी लामा कृष्णबहादुरको हत्याको नमिठो सम्झनाले अहिले पनि झस्काइरहने बताउँछिन् ।

‘हामीलाई पनि ज्यानको माया थिएन, तर कलकलाउँदो उमेरको लक्का जवान गुमाउँदा उबेला विक्षिप्त बन्यौँ,’ लामाले ती दिन सम्झँदै भनिन्, ‘अहिले उनका परिवारलाई देख्दा निकै मन रुन्छ ।’

८० वर्षीय स्थानीय ठोकबहादुर पुलामी मगरका अनुसार कृष्णबहादुरका एउटा छोरा थिए । राना सहिद हुँदा छोरा जम्मा १ वर्षका नै थिए । अन्याय, अत्याचारका विरुद्ध खरो उत्रिहाल्ने उनको क्रान्तिकारी स्वभावकै कारण अल्पायुमै ज्यान गुमाउनुपरेको स्थानीयको बुझाइ छ ।

कृष्णका छोरा मोहन राना गाउँमा नै कृषि पेसा गर्छन् । पञ्चायती शासकहरूका विरुद्ध लड्दालड्दै ज्यान गुमाएका आफ्ना बुबाप्रति मोहनलाई गर्व लाग्छ । ‘उहाँ सहिद भएर त हामी बाँच्न पाएका छौँ,’ मोहनले भने ।

कृष्णलाई नजिकबाट चिन्नेहरू ४५ वर्षअघिको त्यो कालो दिन सम्झिँदा अहिले पनि त्रस्त हुन्छन् । उनका काकालाई प्रहरीले आँखा छोपेर घिस्याउँदै टन्टलापुर घाममा मधेस घुमाइरहेको थियो । पञ्चायती शासकहरूका विरुद्ध धावा बोलेकै आधारमा प्रेमबहादुर मात्र होइन, गाउँका धेरै जना धमाधम गिरफ्तारमा परिरहेका थिए ।

गाउँमा बस्ने हरेक गरिबले क्रान्तिकारीहरूले गरेको अन्दोलनको नैतिक समर्थन जनाउँथे । संगठन र चेतना छर्दै हिँडेकाहरू भूमिगत बनिसकेका थिए भने गाउँघरमा भूमिगत नेताहरूलाई बचाउन एउटा अभियान नै चलेको थियो ।

त्यही पनि धेरै नेताहरूलाई प्रहरीले गिरफ्तार गर्ने र जंगलमा लगेर गोली हानेर मार्ने क्रमले पञ्चायतविरुद्धको लडाइँमा अझ ठुलो आक्रोश जन्मायो । आफ्ना काकालाई प्रहरीको गिरफ्तारीबाट खोस्ने कृष्णबहादुरले त ज्यान गुमाए, तर उनका काका अझै जीवित छन् ।

‘भतिजले प्रहरीबाट नखोसेको भए मलाई जंगलमा पुर्‍याएर मार्ने योजना प्रहरीको थियो,’ उनले त्यो दिन सम्झिँदै भने, ‘हामीले लडेर परिवर्तन त ल्यायौँ, तर नेताहरूको चरित्र भने परिवर्तन हुन सकेन ।’

तत्कालीन राजा वीरेन्द्रले २०३५ सालमा जनमत संग्रह घोषणा गरेपछि उक्त आन्दोलनको आँधीबेहरी सिर्जना भएको थियो । प्रेम रानाले विगत सम्झिँदै भने, ‘आन्दोलनकै क्रममा २०३६ साल भदौ २४ गते हामीले विशाल आमसभा जनकपुरमा गर्‍यौँ । ठुलो जनसागर देखेपछि प्रशासनले आक्रमण गर्ने आँट गर्न सकेन ।’

रानासहितको टिमले जिल्लाको अहिलेको गौशाला नगरपालिकामा पनि ३ असोजमा सभा गरेको थियो । तर, पञ्चायतहरूको सुराकीले एक्लै भएको मौका छोपी प्रेम रानालाई प्रहरीले निशाना बनायो । उनलाई मसानघाट भन्ने ठाउँमा ल्याइपुर्‍याउँदा क्रान्तिकारीहरूले प्रहरीलाई घेरा हाले ।

एकछिन दोहोरो भिडन्त पनि भयो । केही नलागेपछि रानालाई छाड्न प्रहरी बाध्य भयो । तर, अन्धाधुन्ध गोली चलाउँदा कृष्णबहादुरलाई गोली लाग्यो । उनी घटनास्थलमै ढले ।

क्रान्तिकारीहरू भाग्दै थिए । अर्को गोली मसिनी लामालाई लाग्यो । तर, मसिनीलाई समयमा उपचार गराउँदा उनी बाँच्न सफल भइन् । अहिले उनलाई गाउँमा जीवित सहिद भनेर बोलाउँछन् ।