‘मन्त्रीको फोटो खिच्न’ अढाई करोड खर्च !

‘मन्त्रीको फोटो खिच्न’ अढाई करोड खर्च !


काठमाडौँ ।

गत असोज ३ गते रत्नपार्कको शान्तिवाटिकामा मानिसहरूको चहलपहल अलि फरक हिसाबको थियो । हुन त नेता आएका ठाउँमा मानिसहरू जम्मा हुनु नौलो कुरा त होइन, तर त्यस दिनको भिडभाड उत्सुकता मिश्रित थियो, आशा र अपेक्षाको थियो अनि काठमाडौँको जामले आजित भएकाहरूका लागि खुसीको भिड थियो ।

सरकारले यात्रुलाई गन्तव्यमा छिटो पुर्‍याउने भन्दै सोही दिन अर्थात् असोज ३ गतेदेखि भक्तपुरको सूर्यविनायकदेखि काठमाडौँको रत्नपार्कसम्म ‘द्रुत बस सेवा’ सञ्चालन गर्‍यो । जसका लागि छुट्टै लेन बनाउनेदेखि सो लेनमा निर्धारित समयमा अन्य सवारीसाधन गुड्न नपाउने बतायो ।

सो बस सेवा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ठाडो निर्देशनमा सञ्चालनमा आएको हो । त्यसकारण बस सेवाको उद्घाटन गर्न उनै मन्त्री पुगे । उद्घाटन मात्रै गरेनन्, बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, महानगरीय ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेलसहित रत्नपार्कबाट सोही बसमा बसेर सूर्यविनायकसम्म पुगेर फर्किए ।

संविधान दिवसको सार्वजनिक बिदाको दिन, यसै पनि सडक खाली हुन्छ, त्यसमाथि दिउँसोको समय कार्यालय दिनमै पनि उतिसाह्रो चाप हुँदैन । त्यसमाथि संघ सरकारको मन्त्री पब्लिक बस चढेर आउने भएपछि द्रुत बसका लागि बनाइएको एक्सप्रेस लेनमा हरेक १०० मिटरमा ट्राफिक प्रहरी उभ्याएर लेन खाली गरिएको थियो । सो खाली लेनमा भिआइपी सवारी लिएर गएको बस ४५ मिनेटमा सूर्यविनायक पुग्यो ।

मन्त्रीलाई प्रचार गर्न अरू के चाहियो– भनेकै हो नि डेढ घन्टाको बाटो ४५ मिनेटमा छोट्याइने छ । उनका अरौटेभरौटेहरूले पनि यसैगरी प्रचार गरे । तर, त्यो सुविधा सोही दिन मन्त्रीसहितको भिआइपी टोलीबाहेक अन्य कसैले पनि लिन पाएका छैनन् । त्यसपछिका दिनमा वास्तविकतामा त्यस्तो केही भएन । द्रुत बसका यात्रु त जाममा नपरी रत्नपार्क पुग्न सकेनन् नै, बरु अन्य सवारीसाधन पनि झन् चर्को जाममा थुनिनुपरिरहेको छ ।

अझ रोचक त के छ भने, सुरुमा द्रुत बस सडकमा राखिएको ट्राफिक बत्तीको रातो संकेतमा पनि नरोकिने बताइएको थियो । सडक पूर्वाधार र काठमाडौँको सडकको प्रतिघन्टा चाप कति हो र कसरी व्यवस्थापन हुन्छ भन्ने अध्ययनबिनै सस्तो लोकप्रियताका लागि गरिएको प्रचार थियो भन्ने प्रमाणित भइसकेको छ ।

उद्घाटनको दिन पनि रत्नपार्कबाट गाडी छुट्ने बेला मन्त्रालयका कर्मचारीले ट्राफिक लाइटमा बस नरोकिने बताएका थिए । तर त्यसो भएन । रेड लाइटमा बस रोकिँदै गयो ।

सूर्यविनायक पुगेपछि मन्त्री ज्वालाले डिआइजी पोखरेललाई सडकमै निर्देशन पनि दिन भ्याए । उनले आफूले उद्घाटन गरेको बस कुनै पनि कारणले सडकमा रोकिनुभएन, रातो बत्तीमा नरोक्नू भनेर सडकमा खटिएका ट्राफिक प्रहरीलाई निर्देशन दिन डिआइजीलाई निर्देशन दिए ।

ट्राफिक व्यवस्थापनजस्तो संवेदनशील र प्राविधिक विषयमा एउटा राजनीतिक व्यक्तिले ट्राफिक व्यवस्थापनको जिम्मेवारी लिएको व्यक्तिलाई ट्राफिक लाइटमा के गर्ने/के नगर्ने भनेर सिकाउनु आफैँमा हास्यास्पद विषय थियो । तर, डिआइजी पोखरेलले ‘हस् हजुर’ भनेनन् । बरु भने– यस विषयमा यहाँ सडकबाटै निर्णय गर्न मिल्दैन, थप छलफल गरेर के कसरी गर्ने गरौँला । अहिले ट्राफिक बत्तीमा बस रोकिन्छ ।

समग्रमा भन्ने हो भने द्रुत बस मन्त्री प्रकाश ज्वालाको प्रचार र उद्घाटन मोहमा सीमित भएको छ । काठमाडौँ उपत्यकामा बढी मात्रामा कार्यालय समयमा जाम हुने गर्छ । सोही समयलाई लक्षित गरी दु्रत बस चलाउने भनियो अर्थात् बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म द्रुत बस चलिरहेको छ । कार्यालय समयमा सवारीसाधनको चाप अधिक हुने भएकाले पूरै सडकले समेत चाप धान्न सकेको र्थिन । झन् द्रुत बसका लागि २ लेन छुट्ट्याएपछि बाँकी रहेको सडकले सवारी चाप थेग्न सक्ने कुरै भएन ।

यातायातमन्त्री प्रकाश ज्वाला (बुढाथोकी)को निर्देशनमा सुरु भएको ४० सिटभन्दा माथिका २५ वटा बस ५–५ मिनेटको फरकमा सञ्चालन गर्ने भनिए पनि सडकमा गुडेका ‘द्रुत बस’ लेखिएका गाडीको अवस्था भने त्यस्तो छैन । अन्य सवारीसाधनभन्दा छिटो पुग्ने गरी कुनै बस कुदेको पाइँदैन ।

द्रुत बसका लागि छुट्याइएको लेनमा अन्य सवारी पनि कुदिरहेका छन् । द्रुत लेन पनि अवरोधमुक्त छैन । कुनै ठाउँमा लेन नै टुंगिएको छ भने मुख्य चोक र क्रसिङमा द्रुत लेन व्यवस्थित गरेको पाइँदैन ।

यता, द्रुत बसकै कारणले काठमाडौँमा थप जाम नभएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्ट बताउँछन् । ‘द्रुत बसले नै जाम बढी भएको त हामीले महसुस गरेका छैनौँ,’ भट्टले विकास टाइम्ससँग भने, ‘अब कसैलाई त्यस्तो लागेको हुन पनि सक्छ । सामान्यतः सडकको आकार घटेपछि चाप बढ्नु त स्वाभाविकै हो ।’

द्रुत बस सञ्चालनमा आउनुअघि देखिकै कोटेश्वर, जडीबुटी एरियामा अलि बढी जाम हुने गरेको उनको भनाइ छ । ‘त्यो एरियामा पहिलेदेखि नै अलि बढी जाम हुन्थ्यो,’ भट्टले भने, ‘द्रुत बसकै कारणले त त्यस्तो जाम भएको होइन होला ।’

उपत्यकाका सडकको संरचनासमेत द्रूत बस सञ्चालन गर्ने खालको नभएको जानकारहरू बताउँछन् । ‘अहिलेको हाम्रो सडकको पूर्वाधार द्रुत बस कुदाउने खालको छैन,’ यातायात व्यवस्था विभागका एक पूर्वमहानिर्देशक भन्छन्, ‘अहिले यो ट्रायलका रूपमा गरिएको होला, त्यसलाई त्यसरी मात्र बुझौँ ।’

ती पूर्वमहानिर्देशकका अनुसार द्रुत बस सञ्चालन गर्न अन्डरपास सडक, फ्लाईओभर, पुललगायत संरचना भएमा मात्र त्यस्तो योजना सम्भव हुन्छ ।

अढाई करोड स्वाहा !

द्रुत बस सेवा सञ्चालन गर्न राज्यको अढाई करोड रुपैयाँ खर्च भएको छ । द्रुत बसको लेन बनाउन, जानकारी दिने बोर्ड जडान गर्न, बस बिसौनीमा बोर्ड बनाउनेलगायत कामका लागि सो बराबरको रकम सकिएको हो ।

रत्नपार्कदेखि जडीबुटीसम्मको दुरी ७.५ किलोमिटर रहेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सुनीत केसीले बताएका छन् । त्यो क्षेत्रको लेन बनाउने, बोर्डहरू राख्नेलगायत काम सडक डिभिजन कार्यालय काठमाडौँले गरेको छ ।

सडक डिभिजन काठमाडौँका प्रमुख नारायणप्रसाद निहुरे अहिले नै रत्नपार्कबाट जडीबुटीसम्म लेन मार्किङलगायतमा कति खर्च हुन्छ भन्न नसकिने बताउँछन् । ‘अहिले काम चलिरहेको छ, ठ्याकै यति नै खर्च लाग्यो भन्न सक्ने अवस्था छैन,’ निहुरेले विकास टाइम्ससँग भने, ‘अनुमानित रूपमा भन्नुपर्दा ८०/९० लाख जति खर्च हुन्छ होला ।’

प्रमुख निहुरेका अनुसार यो आकस्मिक आएको योजना भएकाले यसका लागि बजेट विनियोजनसमेत भएको छैन । सम्पूर्ण काम सम्पन्न गरेर बजेट निकासा गर्ने निहुरे बताउँछन् ।

जडीबुटीदेखि सूर्यविनायकसम्मको दुरी ७.२ किलोमिटर छ । त्यसको लेन बनाउने, बोर्डहरू टाँस्ने, ट्राफिक साइनबोर्ड राख्नेलगायत काम सूर्यविनायक–धुलिखेल सडक आयोजनाले गरेको छ । त्यसमा त झन् करिब डेढ करोड रुपैयाँ खर्च लाग्ने भएको छ ।

काम भइरहेकाले ठ्याक्कै खर्चको फिगर भन्न नसकिने सूर्यविनायक–धुलिखेल सडक आयोजनाका सिनियर डिभिजनल इन्जिनियर नारायणप्रसाद लामिछाने बताउँछन् । ‘बढीमा डेढ करोड जति खर्च आउन सक्छ,’ लामिछानेले विकास टाइम्ससँग भने, ‘हाम्रोमा पुरानो सडक भएकाले केही बढी खर्च लाग्ने भएको हो ।’

दुवै गरेर हिसाब गर्ने हो भने करिब अढाई करोड रुपैयाँ द्रुत बसकै लागि खर्च हुने देखिएको छ । तर, यति खर्च गरेर लेन मार्किङ गरे पनि यात्रु भने छिटो पुग्न सक्ने अवस्था छैन ।

द्रुत बस चल्ने लेनमा २/२ सय मिटरमा बिसाउने ठाउँमा रेड मार्क गरिएको छ । सेतो पेन्ट गरेर द्रुत लेनलाई अलग गरिएको छ । ठाउँ–ठाउँमा द्रुत बस सेवाको बोर्ड, बस कतिबेला आउँछ, त्यसको सूचना बोर्ड, ट्राफिक लाइटलगायत कुराहरूमा सो रकम खर्च हुनेछ ।

प्रचारमा मात्र मोबाइल एप

द्रुत बस सेवाको बस कहाँ आउँदै छ भनेर हेर्न मोबाइल एप पनि ल्याइने यातायात मन्त्रालयले जनाएको थियो । तर, त्यो एप प्रचारमा मात्र सीमित भएको छ । अहिलेसम्म सो एप कसले बनाउने भन्ने नै तय भएको छैन ।

मोबाइल एप बनाउने काम यातायात व्यवस्था विभागको भएको मन्त्रालयका कर्मचारी बताउँछन् । तर, विभागसँग अहिलेसम्म त्यसरी एप बनाउने गरेर कुनै पनि कुरा भने आएको छैन ।

‘हामीलाई अहिलेसम्म कुनै पनि निकायले द्रुत बस सेवाको एप बनाउनू भनेर निर्देशन दिएको छैन,’ विभागका निर्देशक ईश्वरीदत्त पनेरुले भने, ‘विभागसँग एप बनाउने बजेट पनि छैन ।’

विभागका प्रवक्तासमेत रहेका पनेरुको कुरा मान्ने हो भने मोबाइल एपको कुरा प्रचारका लागि मात्र गरिएको देखिन्छ । ‘यदि कुनै व्यक्ति वा संस्थाले एप बनाएर दिए त्यो छुट्टै कुरा हो,’ पनेरुले भने, ‘विभागले त्यस्तो काम गर्दैन ।’

द्रुत बसको लेनमा अन्य आए कारबाही

द्रुत बसको लेनमा अन्य सवारीसाधन कुदाएमा कारबाही हुने बताइएको छ । अहिले सम्झाइबुझाई गरेर छाड्ने गरिएको भए पनि पछि भने कारबाही हुने एसएसपी भट्ट बताउँछन् । ‘अहिले भरखर सुरु भएकाले धेरैलाई थाहा छैन,’ भट्टले भने, ‘अहिले हामीले सम्झाइबुझाई गर्ने गरेका छौँ । तर, पछि–पछि भने कारबाही हुन्छ ।’

एसएसपी भट्टका अनुसार उक्त लेनमा लामो दुरीका सवारीसाधन, एम्बुलेन्स, दमलक जस्ता सवारीसाधन र द्रुत बस मात्र गुड्न पाउँछन् । तर काठमाडौँ उपत्यकामा बिहान र बेलुका कार्यालय समयमा हुने जाम व्यवस्थापन गरेर ट्राफिक प्रहरीले एउटा एम्बुलेन्ससम्म पास गराउन सकेको पाइँदैन । लोकन्थलीबाट कोटेश्वरसम्मको जाम छिचोल्न नै करिब ४५ मिनेट कुर्नुपर्ने बाध्यता भोगेकाहरूलाई सूर्यविनायकबाट रत्नपार्कसम्मै ४५ मिनेटमा ल्याइपुर्‍याउने मन्त्रीको योजना कति सफल हुन्छ, समयले नै बताउला ।