‘नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्छ’

‘नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्छ’


ग्रिन टायर प्रा.लि.का सञ्चालक विकास सिंघानियासँग विकास टाइम्सका लागि रमेश पाैडेलले लिएकाे अन्तर्वार्ताः

तपाईंहरूले नेपालमै टायर उत्पादन गरिरहनुभएको छ । यो उद्योगको बारेमा बताइदिनुस् न ?

करिब ५ वर्षपहिले मोरङ कटहरीमा हामीले उद्योग सञ्चालनमा ल्याएका हौँ । त्यो उद्योगमा पहिलो चरणमा मोटरसाइकलका टायर उत्पादन सुरु गरेका थियौँ ।

सुरुआती चरणमा हामीले ८ वटा साइजमा मात्र टायर बनाएका थियौँ । अहिले हामीले मोटरसाइकलको ३० प्रकारका साइज, ई–रिक्सा, टेम्पु, ट्याक्टरको ठुला र साना टायर बनाइरहेका छौँ । आगामी दिनमा यसको दायर बढाउँदा आवश्यकताअनुसार सबै साइजका टायरहरू उत्पादन गर्ने सोच बनाएका छौँ । त्यसमा पनि नाडा अटो शोमा एउटा टायर हामीले लन्च गर्नेछौँ । ट्याक्टरको ट्रलीका लागि हाम्रो नयाँ टायर तयार पारेका छौँ ।

बजारको हिसाबले सुरु गर्दाको वर्ष र अहिलेमा के फरक छ ?

मान्छेहरूलाई नेपाली टायर भन्नेबित्तिकै एक पटक प्रयोग गर्ने कि न गर्ने भन्ने थियो । तर, हामीले प्रयोग गर्ने वातावरण सिर्जना गर्न सफल भयौँ । विगतका वर्षहरूभन्दा गत २ वर्षदेखि बजारमा राम्रो रेस्पोन्स छ ।

विदेशी टायर र तपाईंहरूले उत्पादन गर्ने टायरमा के फरक छ ?

टायरको गुणस्तरमा कुनै भिन्नता छैन । मुख्य कुरा टायरको मूल्यको आउँछ । विदेशी कम्पनीको मार्केटिङ गर्ने पैसा हुन्छ । प्रमोसन बजेट हुन्छ । विशेष गरी भारतीय बजार पनि ठुलो छ । उनीहरूले धेरै स्केलमा सामान उत्पादन गर्ने गरेका छन् ।

त्यसले गर्दा उनीहरूको उत्पादन लागतमा पनि कमी आउँछ । उनीहरूकोमा उत्पादन हुने टायर अन्य देशबाट आयात गर्न पाइँदैन । सरकारले उनीहरूलाई सुविधा दिएको छ । नेपाली बजारमा भने उनीहरूको टायर सहजै ल्याउने वातावरण बनाइएको छ । त्यसले गर्दा भारतीय टायरको तुलनामा हामीलाई बेच्न केही गाह्रो भएको छ ।

नेपाली टायर उद्योगलाई सरकारले हेर्ने दृटिष्कोण कस्तो छ ?

कुनै एउटा उद्योगलाई दिनुपर्ने सामान्य सुविधाबाहेक अन्य केही छैन । नेपालीको कन्सेप्टमा चाहिँ नेपाली प्रोडक्ट नै प्रयोग गर्नुपर्छ भन्ने छ । तर, व्यवहारमा भने त्यस्तो पाइँदैन । कुराचाहिँ हुन्छ, तर त्यो कार्यान्यवन भएको छैन । नेपालमा विभिन्न साइजका गरी करिब ५ हजार हाराहारीमा टायर उत्पादन हुन्छ । सरकारले नेपालमा प्रयोग हुने कम्तीमा ४ हजार टायरको आयातलाई बन्द गरिदियो भने मात्र पनि हामीलाई धेरै सहुलियत हुन्छ । सरकारको भन्सार पोलिसीले पनि हामीलाई समस्या परिरहेको छ ।

आम उद्योगी व्यवसायीले सरकारले लिएको नीतिको विरोध गरिरहेका छन् । त्यसमा तपाईंको धारणा के छ ?

उद्योगी व्यवसायीले एउटा सोच बोकेर काम गरेको हुन्छ । कुनै पनि उद्योगीले मैले यो समयमा यतिको सामान बेच्छु र मैले यति लगानी गर्छु भनेर सोचेको हुन्छ । त्यहीअनुसार उसले बैंकबाट ऋण लिएको हुन्छ । तर, त्यो ऋणको ब्याज एक्कासि वृद्धि हुँदा उसको पूरै चेन नै बिग्रिन्छ । भारतले विदेशी टायर आयातमा प्रतिबन्ध लगाएको छ । तर, नेपालमा त्यस्तो किसिमको नीति लागू भएको छैन ।

नेपालमा विदेशी टायरको आयात पूरै बन्द गर्ने हो भने आन्तरिक उत्पादनले धान्न सक्छ ?

हामीले उत्पादन गर्ने किसिमका टायरको कुरा गर्ने हो भने नेपाली उत्पादनले मज्जाले धान्न सक्छ । ठुल्ठुला भेहिकलको टायर भने नेपालमा उत्पादन हुँदैन । त्यस्ता टायर नेपाली बजारमा सीमित मात्रामा मात्र आवश्यक हुन्छ । केही टायर आयात नै गर्नुपर्छ ।

नेपालको टायर बजार सानो छ । त्यसकारण धान्छ । विदेशबाट आउने कुनै यस्ता टायर पनि छन्, जसको कुनै अस्तित्व नै छैन । सबै उपभोक्तालाई टायरको बारेमा थाहा हुँदैन । कतिसम्म भने इम्पोर्टरलाई पनि थाहा हुँदैन, उपभोक्तालाई पनि थाहा हुँदैन । कुन कम्पनीको हो, कस्तो बनाउँछ भन्ने कुरा पनि उपभोक्ताले समेत बुझ्नुपर्छ ।

नेपाली टायरलाई प्रवद्र्धन गर्ने के गर्नुपर्ला ?

सरकारले नेपालमा उत्पादन गरिरहेका टायर कम्पनीहरूसँग तथ्यांक लिने, कुन साइजको कति उत्पादन भइरहेको छ, त्यो साइजको टायर विदेशबाट कम मात्रामा आयात गर्ने । अहिले हामीले मासिक १५ देखि २० हजार वटासम्म टायर उत्पादन गर्ने गर्छाैं । बजार अभावका कारण हामीले त्यति मात्रै उत्पादन गरेका हौँ । हाम्रो क्षमता त्योभन्दा बढी उत्पादन गर्न सक्ने छ । बनाएर मात्रै पनि भएन, बेच्नु पनि पर्‍यो ।

अहिले मासिक ६० देखि ७० हजार मोटरसाइकलको टायर नेपालमा आयात भइरहेको छ । जुन टायर नेपालमै उत्पादन गर्न सकिन्छ । नेपालमा कुनै सामान उत्पादन भएको छ भने पहिलो प्राथमिकता नेपाली उत्पादनलाई दिनुपर्छ ।