सरकारको सुपथ पसलमा चिनी ९७ रुपैयाँमा पाइने, अन्य सामान कतिमा ?

सरकारको सुपथ पसलमा चिनी ९७ रुपैयाँमा पाइने, अन्य सामान कतिमा ?


काठमाडौं ।

सरकारले आगामी असोज २१ देखि सञ्चालन गर्ने सुपथ मूल्य पसलमा चिनी प्रतिकिलो ९७ रुपैयाँमा पाइने भएको छ ।

व्यापारीहरुले चिनीको मूल्य कृत्रिम तरिकाले बढाएर हाल १२० रुपैयाँसम्म बिक्री गरेका बेला सुपथ मूल्य पसलमा ९७ रुपैयाँमै पाइने भएको हो ।

सरकारले मूल्य नियन्त्रणका लागि मंसिर ३ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए ।

यी सुपथ मूल्य पसलमा साल्ट ट्रेडिङले उपभोक्तालाई चिनी प्रतिकिलो ९७ रुपैयाँमै बिक्री गर्नेछ । त्यस्तै नुनमा प्रतिकिलो २ रुपैयाँ छुट हुनेछ । तेल प्रतिलिटर ७ रुपैयाँ, चिउरा प्रतिकिलो ७ रुपैयाँ छुटमा पाइने कर्पोरेसनले जनाएको छ ।

सुपथ मूल्य पसलमा सबै किसिमका चामल, दाल गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरामा प्रतिलिटर प्रतिकिलो अन्य समयमा भन्दा ७ रुपैयाँ छुट दिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कर्णालीको सिमी, गेडागुडी, फापरको दाना, चिनो, कगुनोमा प्रतिकिलो १० रुपैयाँ छुट हुनेछ ।

जिउँदो खसीबोका तथा च्यांग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइने कम्पनीले जनाएको छ । दुग्ध विकास संस्थानले पनि दुग्धजन्य पदार्थमा छुट दिने छ । जसअनुसार घिउ हालको भन्दा प्रतिकेजी २० रुपैयाँ छुट हुनेछ । २ सय ग्राम पनिरमा २० रुपैयाँ र ५ सय ग्राम पनिरमा ५० रुपैयाँ छुट हुने संस्थानले जनाएको छ ।