खड्काले नेतृत्व लिएपछि फेरिएकाे बर्दिबास उद्याेग वाणिज्य संघ

खड्काले नेतृत्व लिएपछि फेरिएकाे बर्दिबास उद्याेग वाणिज्य संघ

२५ वर्षपछि दाेस्राे साधारणसभा, व्यापारीकाे हकहितमा दत्तचित्त संघ

विकास टाइम्स
246
Shares

महाेत्तरी ।

संघन विकास क्रममा रहेको बर्दिबास नगरपालिकामा बर्दिबास उद्याेग वाणिज्य संघको चर्चा चुलिएकाे छ ।

झन्डै १४ सय व्यापारीहरूको नेतृत्व गरेको संघले १ वर्षको छोटो अवधिमा व्यावसायिक हकहितका लागि देखाएको तदारुकता र शृङ्खलाबद्ध कामको तथ्यांकले थप चर्चा चुलिँदै गएको हो ।

९ माघ, २०५४ सालमा स्थापना भएको संघले २६ वर्षपछि अर्थात् मंगलबार दोस्राे साधारणसभा गर्दै विधान र उद्देश्यअनुसार व्यावहारिक कार्यान्वयनलाई जोड दिनुपर्छ भन्ने इमानदारितासमेत प्रस्तुत गरेको छ ।

२०५४ सालदेखि अहिलेसम्म आइपुग्दा ९ वटा नेतृत्व परिवर्तन भएका छन् । २०७९ मा भएको निर्वाचनबाट विष्णु खड्का नवौँ नेतृत्वका रूपमा निर्वाचित भएका हुन् । २५ वर्षसम्म वार्षिक साधारणसभा गर्न नसकेकाे संघले खड्का नेतृत्वमा आएपछि साधारणसभा गरेकाे हाे ।

उनै खड्काको नेतृत्वले १ वर्षको छोटो अवधिमा जाडोयाममा व्यापारीहरूलाई आगो ताप्न दाउरा वितरण गर्नेदेखि सहरी क्षेत्रमा आपराधिक गतिविधि रोक्न गरेका प्रयास सराहनीय छन् ।

सुन चोरीको विरोधमा सडकमा आन्दोलन गर्नेदेखि स्थानीय करसम्बन्धी विषयमा छलफल गरी जरिमाना छुटमा गरेका पहलहरूले खड्का नेतृत्व १ वर्षकै अवधिमा व्यवसायी र स्थानीयकाे विश्वास जित्न सफल भएको हो ।

‘उहाँहरूले गरेका काममा वास्तवमै हामीले अपनत्व महसुस गरेका छौँ,’ स्थानीय व्यापारी विजय यादवले भने, ‘व्यावसायिक वातावरण सिर्जना गर्नुहुन्छ भन्ने आशावादी बन्ने ठाउँ प्रशस्त देखिएको छ ।’

लेखासम्बन्धी तालिम, उद्यमशीलता तालिम, करसम्बन्धी सचेतना कार्यक्रम, महोत्सवको माध्यमबाट वृत्तचित्रहरू प्रस्तुत गरी पर्यटकीय प्रचारप्रसार, राजस्व कर तिर्न डि-वान्, डि-टूको व्यवस्था, कार्यालय भवनको दोस्राे तला निर्माण जस्ता काम द्रुत गतिमा देखिनुले आशावादी हुने ठाउँ देखिएको व्यापारीहरू बताउँछन् ।

संघमाथि पारर्शिताको प्रश्न उठिरहेका बेला १ वर्षमा भएका काम किताब नै बनाएर प्रकाशन गर्नुले पनि खड्का नेतृत्वले नयाँ संस्कारको विकास गर्न खोजेको अर्का व्यापारी सुजन धिमाल बताउँछन् ।

खड्का नेतृत्वले चौथो महोत्सवबाट आम्दानी भएको रकम १० लाख ७४ हजार रुपैयाँकाे हिसाबदेखि अन्य हिसाबकिताबसमेत साधारणसभाबाट सार्वजनिक गरेको छ ।

अध्यक्ष खड्काले चुनावको समयमा विष्णुबहादुर खड्का अक्षय कोष स्थापना गरी आफ्नाे कार्यकालभरमा १५ लाख रुपैयाँ पुर्‍याउने प्रतिबद्धतासहित पहिलो वर्ष ५ लाख ५१ हजार रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् ।

त्यसो हुँदा व्यापारीहरूलाई विपतको समयमा सहयोग गर्न सकिने अध्यक्ष खड्का बताउँछन् । बर्दिबासमा नै रहेको एक जिमखानामा आगलागी भएपछि संघले ५१ हजार रुपैयाँ सहयोग गरेको थियो ।

यस्तै २६ वर्षपछि संस्थाको गतिविधि समेटेर वार्षिक प्रतिवेदन तयार गरी समयमा नै साधारणसभा गराउन पाउँदा निकै खुसी लागेको संस्थाका प्रथम उपाध्यक्ष सन्तोषकुमार सिग्देलले बताए ।

टिमवर्क र काम गर्ने उत्साह भए धेरै काम गर्न सकिने अनुभव सुनाउँदै महासचिव उत्तमकुमार श्रेष्ठले संघलाई स्तराेन्नति गर्दै ख वर्गमा स्थापित गराउने प्रतिबद्धता जनाए । ‘अझै व्यवसायीहरूलाई संघको छाता संगठनमा आबद्ध गराई वस्तुगत संघअनुसारको यसै संगठनको प्रतिनिधित्व गराई समयनुकूल विधान संशोधन गरेर थप प्रभावकारी बनाउनेछौँ,’ उनले भने ।

साधारणसभामा सहभागी भएका सरोकारवालाहरूलाई व्यवसायीहरूको अवस्थाबारे अध्यक्ष खड्काले ध्यानाकर्षण भएकाे समेत जनाएका छन् ।

आर्थिक मन्दीका कारण धराशायी भएका व्यापारीहरूलाई बैंक किस्ताका कारण थप समस्या बन्दै गएको अध्यक्ष खड्काको गुनासो छ ।

व्यापारीहरूकै कारण चलेका वित्तीय संस्थाहरू ब्याजको मामलामा कठोर बनिदिँदा चरम समस्या बनिरहेको बताउँदै यस्ता विषयमा छलफल गरी समाधान गरिदिन संघको केन्द्रीय नेतृत्व र सरकारलाई आग्रह गरेका छन् ।

ऐतिहासिक कामहरू गर्दै अगाडि बढेको उद्याेग वाणिज्य संघलाई र व्यापारीहरूको हकहितको कामका लागि नगरबाट जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको नगर प्रमुख प्रह्लादकुमार क्षेत्रीले प्रतिबद्धता जनाए ।