मणिपुरमा पुनः हिंसा भड्कियो, कर्फ्यु जारी

मणिपुरमा पुनः हिंसा भड्कियो, कर्फ्यु जारी


काठमाडौं ।

भारतको मणिपुर राज्यमा पुनः हिंसा भड्किएको छ ।

गत जुलाई महिनादेखि बेपत्ता २ जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरको राजधानी इम्फालमा बुधबार रातिदेखि फेरि विरोध प्रदर्शन, तोडफोड र आगजनी भएको छ ।

आक्रोशित भीडले इम्फालका एक नेताको घरमा तोडफोडको कोसिस गरेको, प्रहरीको गाडी जलाएको र एक प्रहरीलाई कुटपिट गर्दै हतियार खोसेको मणिपुर प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणका लागि कोम्बिङ अप्रेसन सुरु गर्न लागिएको पनि प्रहरीले जनाएको छ ।

स्थिति थप भड्किन नदिन इम्फालमा कर्फ्यु लगाइएको छ । यसअघि गत मे महिनामा मणिपुरमा जातीय हिंसा भड्किएपछि कर्फ्यु लगाइएको थियो ।

तर तनाव मत्थर हुँदै गएपछि कर्फ्यु खुकुलो पारिएको थियो । बुधबार रातिदेखि पुनः पूर्णरुपमा कर्फ्यु लगाइएको भारतीय मिडियाहरुले जनाएका छन् ।

गत मे महिनामा मैतेई र कुकी समुदायबीच झडपले मणिपुरमा हिंसाको रुप लिंदा ५२ जनाको मृत्यु भएको थियो ।

त्यसपछि मणिपुरमा इन्टरनेट सेवा बन्द गरिएको थियो । यसै साता इन्टरनेट सेवा पुनः सञ्चालमा आएसँगै २ छात्रा १७ वर्षीय हिजाम लिन्थोइङ्गाम्बी र २० वर्षीय फिजाम हेमजीतको मृत्युको फोटो भाइरल बनेको थियो ।

मणीपुरमा इन्टरनेट खुल्ला हुने बितिक्कै २ बिद्यार्थीको शवको तस्विर भाइरल