विभिन्न आकर्षक प्याकेजसहित पर्यटककाे स्वागतमा जुटे महाेत्तरीका व्यवसायी

विभिन्न आकर्षक प्याकेजसहित पर्यटककाे स्वागतमा जुटे महाेत्तरीका व्यवसायी


महाेत्तरी ।

विश्व पर्यटन दिवसको अवसरमा महोत्तरीका होटल तथा पर्यटन व्यवसायीहरू आन्तरिक र बाह्य पर्यटकका लागि छुटसहितको स्वागतमा जुटेका छन् ।

होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीमा आबद्ध व्यापारीहरूले आन्तरिक र बाह्य पर्यटकका लागि २५ प्रतिशतसम्म छुटसहित स्वागतमा जुटेका हुन् ।

पर्यटकहरूलाई आकर्षण गर्न जिल्लाका मुख्य सडकहरूमा झिलिमिली बत्ती जडान गरिएको छ भने मन्दिर तथा पर्यटकीय स्थलहरूमा सरसफाइसमेत गरिएको छ ।

यो वर्षकाे पर्यटन दिवस ७ दिनसम्म मनाउने निर्णय गरिएको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले जानकारी दिए ।

`यो अवधिमा स्थानीय पर्यटकीय सम्भावनाको खोजी र योजना पनि बनाउने छौँ,’ अध्यक्ष कार्कीले भने, ‘पहिलो दिन बुधबार हामीले जिल्लाको उत्तरवर्ती क्षेत्रका पहाडहरू घुम्यौँ ।’

जिल्लाको उत्तरवर्ती क्षेत्रमा रहेका उच्च पहाडहरू राईमण्डल, चनौटे डाँडाजस्ता ठाउँहरूको सम्भाव्यता अध्ययन गरिएको अध्यक्ष कार्कीले बताए ।

होटल तथा पर्यटन व्यवसायीहरू जिल्लाका सीमा नाका र एअरपोर्टमा पुगेर खादा तथा माला लगाउँदै आन्तरिक र बाह्य पर्यटकको स्वागत गर्नेसमेत कार्यक्रम छ ।

बुधबार मात्र ३०० भन्दा बढी पर्यटकलाई स्वागत, सत्कार गरिएको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले जनाएको छ ।

योसँगै पर्यटन व्यवसायीहरू जिल्लाका सम्भावित पर्यटकीय स्थलको सम्भावनाको सघन खोजीमा जुटेका छन् ।

मधेसकै उच्च मानिएको राईमण्डल तथा चनौटे डाँडामा केबलकार तथा जिपलाइनको सम्भावनासहित थप सम्भाव्यता अध्ययन गरिनुपर्ने होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीको निष्कर्ष छ ।