विद्यार्थीलाई स्क्रब टाइफस देखिएपछि विद्यालय बन्द

विद्यार्थीलाई स्क्रब टाइफस देखिएपछि विद्यालय बन्द


स्याङ्जा ।

स्याङ्जाको एक विद्यालयमा अध्ययनरत विद्यार्थीमा स्क्रब टाइफस रोग देखिएपछि विद्यालय बन्द गरिएको छ ।

जिल्लाको अर्जुनचौपारी गाउँपालिका– ६ दरौँस्थित दरौँ माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उक्त रोग देखिएपछि विद्यालय बन्द गरिएको हो ।

विद्यालयमा पठनपाठन भइरहेको समयमा विद्यार्थीमा एक्कासि उच्च ज्वरो आउने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने र बान्ता हुने लक्षण देखिएपछि बिहीबारदेखि विद्यालय बन्द गरिएको छ । उक्त लक्षण देखिएका विद्यार्थीलाई उपचारार्थ जिल्ला अस्पताल स्याङ्जामा भर्ना गरेपछि स्क्रब टाइफस भएको पुष्टि भएको हो ।

अस्पतालमा भर्ना भएका करिब ४० विद्यार्थीमध्ये अधिकांशमा स्क्रब टाइफस देखिएको छ । केही विद्यार्थीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने अधिकांश विद्यार्थीको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला अस्पताल स्याङ्जाले जनाएको छ ।

स्क्रब टाइफसबाट बढी मात्रामा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी बिरामी भएको विद्यालयका शिक्षक दुर्गाबहादुर रोकाहाले जानकारी दिए ।

उपचारार्थ अस्पताल भर्ना भएका विद्यार्थीको उपचार र विद्यालयको पूर्ण सरसफाइ भएपछि मात्रै विद्यालय सञ्चालनमा आउने शिक्षक रोकाहाले बताए ।

रोग नियन्त्रणका लागि जिल्ला अस्पताल स्याङ्जाले विशेष स्वास्थ्यकर्मीको एक टोली घटनास्थल पठाएको छ । रोग नियन्त्रण गर्न स्थानीय स्वास्थ्य चौकी र अस्पतालबाट खटिएको टोलीले विद्यालय र अभिभावक बस्ने दरौँ गाउँमा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गर्ने अस्पताल प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डा। रुकमिना अधिकारीले जानकारी दिइन् ।

मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन । किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्छ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्छ ।

माइट प्रायजसो झाडी, खेतबारी, वनजंगल, घर वरपरको झाडी तथा फोहोर हुने ठाउँमा देखिने स्वास्थ्यकर्मी बताउँछन् ।

के हुन् लक्षण ? 

स्क्रब टाइफस भएका मानिसलाई १०४ डिग्रीभन्दा बढी ज्वरो र कामज्वरो समेत आउने, धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, बिस्तारै शरीरका मुख्य अंगहरूले काम गर्न छोड्ने, समयमै उपचार नभएमा कडा खालको स्वासप्रस्वास समस्या जस्तै दम बढ्ने, सास फेर्न गाह्रो भई बिरामी सिकिस्तसमेत हुन सक्छ । किराले टोकेको ठाँउमा रातो डाबर जस्तो देखिन सक्छ । टोकेको ठाउँमा पछि गएर कालो दाग बस्न सक्छ ।

बच्ने उपाय
खेतीबारीमा काम गर्दा, वनजंगल, झाडीमा जाँदा तथा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, सम्भव भए बुट लगाउने, घाँसबारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा बस्ने तथा सुत्ने, सकेसम्म घाँसबारी र चौरमा नबस्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सिर्जना गर्ने ।