स्वास्थ्य क्षेत्रमा क्रियाशील संघ–संगठनको संजालले अघि सार्‍यो ४ बुँदे माग

स्वास्थ्य क्षेत्रमा क्रियाशील संघ–संगठनको संजालले अघि सार्‍यो ४ बुँदे माग


काठमाडौं ।

स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेसागत संघ–संगठनहरुको संजालले सरकारसँग ४ बुँदे माग अघि सारेको छ ।

केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्की, चितवन, बुटवल, मोरङ, पाटन लगायतका अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको भन्दै संजालले पेसागत सुरक्षाका लागि ४ बुँदे माग अघि सारेको हो ।

‘केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्की, चितवन, बुटबल, मोरङ, पाटनलगायतका अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको, स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई आतंकित पारी शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाहमा खलल पुर्याइएको तथा अस्पताल नै तोडफोड गरिएका घटनाले नेपालको चिकित्सकीय सेवा प्रवाहमा गम्भीर प्रश्न चिह्न खडा भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यस्ता छन् मागहरू

१- स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित)को अक्षरस पालना गरी हालै पोखरा र हेटौँडालगायत अन्य ठाउँका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि गरिएको सांघातिक आक्रमणकारीहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही हुनुपर्ने र भावी दिनमा देशका कुनै पनि स्वास्थ्य संस्थामा यस्ता घटनामा संलग्न दोषीलाई तत्कालै पक्राउ गरी सोही ऐनबमोजिमको सजाय हुनुपर्ने ।

२- हाल आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका सबै मागहरूलाई तत्काल पूरा गर्नुपर्ने ।

३- स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई अझ सशक्त र प्रभावकारी बनाउनका लागि कानुनको परिमार्जन तथा कार्यान्वयनको सुनिश्चितता हुनुपर्ने ।

४- स्वास्थ्यमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरूको सञ्जालसँग विगतमा भएका सबै सम्झौताहरूको अक्षरसः पालना हुनुपर्ने ।