पर्यटन दिवस : एकै पटक ७२३ भारतीय पर्यटक नेपाल भित्रिए

पर्यटन दिवस : एकै पटक ७२३ भारतीय पर्यटक नेपाल भित्रिए


काठमाडौं ।

विश्व पर्यटन दिवसको सन्दर्भ पारेर एकै पटक ७२३ भारतीय धार्मिक पर्यटक नेपाल आएका छन् ।

नेपालका धार्मिक तीर्थस्थलको दर्शनको लागि उनीहरू नेपाल आएका हुन् ।

उनीहरू लुम्बिनी तथा जानकी मन्दिरको दर्शनपछि ९ असोजमा काठमाडौं आएका हुन् । भारतीय धार्मिक पर्यटकहरूले पशुपति दर्शन तथा ललितपुरको पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन् ।

भारतीय धार्मिक पटकहरूले नेपालका प्रसिद्ध धार्मिक स्थलको अवलोकन गर्ने छन् । उनीहरू भारतको धनश्याम ट्राभलमार्फत आएका हुन् । नेपालका प्रसिद्ध धार्मिक स्थलहरू लुम्बिनी, जनकपुरको जानकी मन्दिर, पशुपतिनाथ, काठमाडौं उपत्यकाका विभिन्न स्थान, पोखरा, मनकामनाहुँदै मुक्तिनाथसम्म जाने तयारी उनीहरूको छ ।

यसअघि ७०० भन्दाबढी बङ्गलादेशी पर्यटकहरू चार्डड जहाजबाट नेपाल भ्रमणका लागि आएका थिए । त्यसपछिको सबैभन्दा बढी स्थलमार्गमार्फत भारतीय नागरिकको टोली नेपाल भ्रमणका लागि आएका हुन् ।

भारतीय धार्मिक पर्यटकहरूको व्यवस्थापन काठमाडौंका विभिन्न होटलहरूमा गरिएको एयरपोर्ट होटलका प्रबन्ध निर्देशक रामप्रसाद सापकोटाले बताए । ७२३ भारतीय पर्यटकहरूमा भारतमा नै बसोबास गर्ने भन्दा पनि भारतबाट अमेरिकालगायतमा गएर बस्र्ने नागरिकहरू रहेको उनको भनाइ छ ।

धार्मिक तथा अन्य पर्यटकहरू वृद्धि गर्न राज्यले प्राथमिकता दिएर सडकहरू सुधार गर्न आवश्यक रहेको सापकोटा बताउँछन् । अहिले पर्यटकहरूको लागि सबैभन्दा सडक मार्गको असुविधा रहेको भन्दै सुधार गर्नुपर्नेमा उनले जोड दिए ।

नेपालमा धार्मिक पर्यटक वृद्धि गर्नको लागि निजी क्षेत्र सधैँ लागिरहेको भन्दै भारतीय ७२३ जना पहिलो भएको सापकोटाले बताए । धार्मिक पर्यटक वृद्धि गर्न सके होटल क्षेत्रको लागि पनि राम्रो हुने उनको भनाइ छ ।

भारतीय धार्मिक पर्यटक राजेन्द्र ठकरले ७२३ यात्रुहरूलाई लिएर नीलकण्ठमणि यात्रामा नेपालमा सबै प्रसिद्ध धार्मिक स्थलहरूको दर्शन गर्न आएको बताए । उनले नेपाल प्राकृतिक र धार्मिक रूपमा सुन्दर रहेको पाएको उनको भनाइ छ ।

१३ दिनको धार्मिक यात्राको लागि नेपाल आएको ठकरको भनाइ छ । उनले नेपाल पर्यटकीय हिसाबमा धेरै राम्रो रहेको प्रतिक्रिया दिए । भारतदेखि ५२ वटा सवारीसाधनमा आफूहरू नेपाल आएको ठकरको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को ६ महिनाको अवधिमा कुल ४ लाख ७६ हजार ४८१ जना पर्यटक आएका छन् भने पछिल्लो एक महिनामा ६७ हजार १५३ जना पर्यटक नेपाल आएका छन् । यो महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतपछि चीन र अमेरिकाबाट धेरै पर्यटक नेपाल आएका छन् । यो महिनामा नेपाल भ्रमण गर्ने भारतीयको संख्या २६ हजार ६६५ रहेको छ ।