विमानस्थलको ४ बिघा जग्गा व्यक्तिका नाममा दर्ता : प्रशासनले थाल्यो छानबिन

विमानस्थलको ४ बिघा जग्गा व्यक्तिका नाममा दर्ता : प्रशासनले थाल्यो छानबिन


बुटवल ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसमेत रहेको जग्गा व्यक्तिका नाममा सारिएको विषयमा रुपन्देही प्रशासनले छानबिन थालेको छ ।

भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको ४ बिघा १७ कठ्ठा जग्गा व्यक्तिका नाममा दर्ता गरिएको भन्दै उजुरी आएपछि प्रशासनले छानबिन थालेको हो ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले प्रशासन कार्यालयले आन्तरिकरुपमा छानबिन र अनुसन्धान गरिरहेको र आइतबार सम्बन्धित पक्षलाई छलफलका लागि बोलाएको बताए ।

५८ वर्षअघि हदबन्दीमा परेपछि मन्दिरलाई दिएको जग्गा विमानस्थल बनेर सञ्चालन समेत भएपछि गत वैशाखमा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ ।

स्थानीय सुर्जा मिश्राइनको हक भोगमा ३० बिघा १४ कठ्ठा १४ धुर जमिन रहेकोमा हदन्दीका कारण २०२२ पुस २० मा उनले हदबन्दीभन्दा धेरै जमिन स्थानीय काली मन्दिरका नाममा दिएकी थिइन् ।

निःसन्तान रहेकी मिश्राइनको २०२५ माघ १८ मा मृत्यु भएपछि नजिकको हकदारबारे विवाद सुरु भएको थियो । विभिन्न व्यक्तिबीच विवाद भए पनि २०३६ जेठ १८ मा सर्वोच्च अदालतको फैसलाले रमाकान्त मिश्र हकदार सावित भएका थिए ।