पेप्सीकोला दुर्घटना अपडेट : सशस्त्र प्रहरीसहित २ जनाको मृत्यु

पेप्सीकोला दुर्घटना अपडेट : सशस्त्र प्रहरीसहित २ जनाको मृत्यु


काठमाडौं ।

काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ जनामध्ये दुईजनाको मृत्यु भएको छ ।

जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी संघको बा ३ ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान ७ः३० बजे ठोकिँदा दुर्घटना भएको थियो ।

२ गाडी ठोकिँदा बागमती प्रदेश ०२–०३७ प ५३११ नम्बरको डिओ स्कुटर र बागमती प्रदेश ०२–०४१ प ४८३८ नम्बरको एफजेड मोटरसाइकलसमेत दुर्घटनामा परेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले दुर्घटनामा घाइते भएकामध्ये २ जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीय उषा थापा रहेका छन् । दुर्घटनामा सङ्लग्न बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।