२ महिनामा चाैथाे पटक खाेलिँदै धाैलीगंगा बाँध, नदी आसपास खतराकाे संकेत

२ महिनामा चाैथाे पटक खाेलिँदै धाैलीगंगा बाँध, नदी आसपास खतराकाे संकेत


बैतडी ।

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध सोमबार खोलिने भएको छ ।

एनएचपिसी लिमिटेड र धौलीगंगा पावर स्टेसनले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएको पत्रअनुसार परियोजनाको बाँध भोलि सोमबार बिहान ८ बजेदेखि मंगलबार बेलुकी ८ बजेसम्म खोलिने जनाएको छ ।

बाँध खोलेका बेला र त्यसपश्चात केही घन्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

एनएचपिसी लिमिटेड, धौलीगंगा पावर स्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रति दिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँध खोलिन लागिएको हो ।

बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यसका साथै लगातारको वर्षा र बाँध खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी आसपासका नदी वारपार नगर्न आग्रह गरिएको छ ।

दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाई राख्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

धौलीगंगा जलविद्युत् परियोजनाको बाँध वर्षातको बेला हरेक वर्ष खोल्ने गरिन्छ । यो वर्ष यसअघि साउन ३२, साउन ६ र असार २६ गते बाँधको ढोका खोलिएको थियो । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरेको छ ।

२०७० असार २ र ३ गते एक्कासि धौलीगंगाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौं रुपैयाँको क्षति भएको थियो ।