३ महिनापछि सुकेटार–काठमाडौँ उडान सुरु, भाडा १ हजारले घट्यो

३ महिनापछि सुकेटार–काठमाडौँ उडान सुरु, भाडा १ हजारले घट्यो


ताप्लेजुङ ।

नेपाल एयरलाइन्सले करिब ३ महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ ।

खराब मौसमलगायतका कारण गत जेठ २४ गतेदेखि काठमाडौँ सुकेटार उडान हुन सकेको थिएन । मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए ।

लामो समयपछि भएको उडानमार्फत काठमाडौँबाट छ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौं गएका छन् ।

पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताएका छन् । करिब १ हजार ८०० मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।

यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ । काठमाडौं ताप्लेजुङको भाडा यसअघि ९ हजार ६ सय ५३ थियो भने हाल घटाएर ८ हजार ६ सय कायम गरिएको छ । यस्तै ताप्लेजुङ काठमाडौँको भाडा यसअघि ९ हजार ४ सय ५३ भएकोमा यसलाई घटाएर ८ हजार ४ सयमा झारिएको छ ।

मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरुपमा उडान हुने विमानस्थलको विश्वास छ । यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ ।