गणित विषयका शिक्षकको माग गर्दै विद्यार्थीले लगाए मुलगेटमा ताला, ५ दिनदेखी शैक्षिक तथा प्रशासनिक काम ठप्प

गणित विषयका शिक्षकको माग गर्दै विद्यार्थीले लगाए मुलगेटमा ताला, ५ दिनदेखी शैक्षिक तथा प्रशासनिक काम ठप्प


धादिङ ।

सिद्धलेक गाउँपालिकाको वडा– ३ मैदानमा रहेको पञ्चमुखी विद्यालयमा गणित विषय शिक्षकको माग गर्दै विद्यार्थीले ताला लगाएका छन् ।

निम्न माध्यामिक तहको राहत दरबन्दीमा कार्यरत गणित शिक्षक रमेश नेपाललाई गाउँपालिकाले वडा–२ ठाँटीमा रहेको सिद्धेश्वर माविमा सरुवा गरेपछि विद्यालय गणित विषय शिक्षकविहीन बनेको हो ।

साउन २५ गते बसेको गाउँ शिक्षा समितिको बैठकले शिक्षक नेपाल भदौ १ गतेदेखि हाजिर हुने गरी सरुवा गरे पनि शिक्षक रमेश नेपाल साउन ३१ गतेदेखि विद्यालय नआएको विद्यार्थी बताउँछन् ।

विद्यालयमा अध्‍ययनरत एक विद्यार्थीले भनिन्, ‘१ गतेदेखि सरको सरुवा हुने भन्ने थियो तर ३२ गतेदेखि सर आउनु भएन त्यसपछि पढाई नै भएन अनि ताला लगाएका हौं ।’प्रधानाध्यापकसँग शिक्षकको माग गरेपनि पालिकाले व्यवस्था नगरेको भनेपछि पालिकालाई पनि पत्र लेखे पनि वास्ता नगरेपछि ताला लगाएको विद्यार्थीको भनाइ छ ।

विद्यार्थीले गणित विषय शिक्षकको माग गर्दै भदौ १३ गते विद्यालयको मुलगेटमा ताला लगाएपछि ५ दिन देखि विद्यालयको शैक्षिक तथा प्रशासनिक काम ठप्प भएको छ ।

विद्यालयको सबै गतिविधि नै ठप्प भएपछि विद्यालयले पालिकालाई आवश्यक सहजीकरण गर्न पत्र पठाएको छ । पालिकाले राहत करार दरबन्दी नै नरहने गरी अर्को विद्यालयमा सारेर विद्यार्थीको पढ्न पाउने अधिकार बन्चित गर्न खोजेको भन्दै अभिभावकले ३ नम्बर वडा कार्यालयमा भदौ १२ गते ताला लगाएका छन् ।