मन्त्री दिनभर सुतेर बस्ने हो भने मन्त्रालय वनझाँक्रीले चलाउन खोज्दा रहेछन् : सुदन किराँती

मन्त्री दिनभर सुतेर बस्ने हो भने मन्त्रालय वनझाँक्रीले चलाउन खोज्दा रहेछन् : सुदन किराँती


काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजतन्त्रकालिन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न नसक्ने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् । उनले वर्तमान पर्यटन ऐन, २०३५ सालको ऐन रहेको भन्दै उक्त ऐनलाई वर्तमान आवश्यकता अनुसार संशोधन गर्न सरकार लागेको बता । उनले सरकारले पर्यटन ऐनलाई समय सापेक्ष बनाउने गरी काम गरिरहेको बताए ।

मन्त्री किराँतीले पर्वतारोहणको क्षेत्रको विकासका लागि ८ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गर्न सकिने सहितको पर्यटन नियमावलीमा व्यवस्था राखेर पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्न लागेको बताए । उनले पर्यटन नियमावली संशोधन गरेर ग्लाइडरका लागि सहज बनाउने बताए । उनले पर्वतारोहण नियमावली संशोधन गर्दा ८ हजार मिटर माथिको उचाइबाट प्याराग्लाइडिङ गर्दा सगरमाथाको महत्त्व घट्ने विषयमा पनि सचेत रहेको बताए ।

उनले नेपालमा संस्कृतिको ऐन नभएकाले सरकारले राष्ट्रिय संस्कृति नीति निर्माण गर्न ११ सदस्य समिति आज नै गठन गर्न लागेको बताए । उनले नेपालका कतिपय नीतिहरू नेपालको राष्ट्रिय हितमा हो की होइन भनेर छुट्याउन नसकिएको बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि संरचनाहरू बनाउने अनि जहाजहरू नउडाउने काम भइरहेको बताए । उनले २२ वटा विमानस्थलहरू खाली रहेको भन्दै उक्त विमानस्थलमा राज्यको खर्बौँ बजेट खर्च भएको बताए ।

उनले भने ‘वर्तमान पर्यटन ऐन राजतन्त्रकालिन छ । २०३५ सालको पर्यटन ऐनले अहिलेको आवश्यकता भावनाको कदर गर्न सक्दैन । त्यसकारण मन्त्रालयले समग्रमा पर्यटन ऐनको निर्माणको चरणमा छौँ । अहिलेको समय सापेक्षिक ऐन बनाउने छौँ । सगरमाथा चढ्ने नियमावलीमा अब सगरमाथाको ८ हजार मिटर माथिबाट दोब्बर दस्तुर तिरेर प्याराग्लाइडिङ पाउने छन् । हामीलाई चाहिएको डलर हो । दोब्बर दस्तुर तिर्न चाहने मान्छेले ८ हजार मिटरबाट प्याराग्लाइडिङ गर्न पाउने तर पिकबाट गर्न नपाउने पिकबाट गराउँदा महत्त्व घट्ने र हावाले उडाएर चीन पुर्याउन सक्ने संबेदनशिलतालाई ख्याल गरेर नियमावली ल्याउँदै छौँ ।

पुरानो कानुनहरूले अहिलेको पर्यटन नेतृत्व गर्न सकि रहेको छैन । नेपालमा संस्कृतिको ऐन नै छैन । राष्ट्रिय संस्कृति नीति निर्माण गर्न ११ सदस्य समिति आज नै गठन गर्दै छौँ । कतिपय नीतिहरू नेपालको राष्ट्रिय हितमा हो की होइन भनेर छुट्याउन सकेका छैनौं । संरचनाहरू बनाउने अनि जहाजहरू नउडाउने काम भइरहेको छ । २२ वटा विमानस्थलहरू खाली छन् । खर्बौँ बजेट विमानस्थल बनाउन खर्च भएको छ ।

नेपाल एयरलाइन्सको नाफाका कुरा आएका छन् । एनसी धमिजा,लाउण्डा र कोभिड महामारी छलेर आएको हो । विश्वका सरकारका धेरै वायुसेवाहरु डुबे स्थायी त डुब्यो । तर देशलाई ठाएर डुब्यो । अहिलेको सरकार आएपछि एनसी अप्रेशनल कस्टमा नाफामा गएको छ । पौने ४ अर्ब ऋण तिरेर देखायौं । तीनवटा जहाज किन्न अन्तिम तयारीमा छौँ । निगमसँगै पैसा छ । ४८ अर्बको ऋण कहिले तिर्ने भन्नुहुन्छ । व्यापार गर्न दिनुस् । जहाज किन्न नदिने अनि पहिला ऋण तिरेर पछि किन जहाज किन्नु रु अण्डा दिने पोथीलाई काटेर खाएपछि सिद्धिन्छ । मन्त्रालय कसले चलाउँछ भन्ने प्रश्नमा मन्त्रालय हामीले नै चलाउने हो । तर यहाँ बुद्धि पु¥याइएन भने वनझाँक्रीले चलाउन खोज्दा रहेछन् । मन्त्री दिनभर सुतेर बस्ने हो भने मन्त्रालय अरुले चलाइदिन्छन् ।’

मन्त्री किराँतीले आफू मन्त्री भएर आएपछि एनसी धमिजा, लाउण्डा र कोभिड महामारी छलेर आएको नेपाल एयरलाइन्स नाफामा रहेको दाबी गरे । उनले वायुसेवा निगमले पौने ४ अर्ब ऋण तिरेको भन्दै तीनवटा जहाज किन्न अन्तिम तयारीमा रहेको बताए । उनले निगमको ४८ अर्बको ऋण जहाज किन्न दिएर व्यापार गर्न दिएपछि मात्रै तिर्ने बताए । उनले मन्त्रीले बुद्धि पुर्याउन सकेन भने मन्त्रालय वनझाँक्रीले चलाउन खोज्ने अवस्था रहेको बताए ।

उनले मन्त्री दिनभर सुतेर बस्ने हो भने मन्त्रालय अरूले चलाइदिने दाबी गरे ।