इलाम ।
बर्खा लागिसक्दा इलामको नेपालटार–मंगलबारे सडकखण्डको चौतर्फी आलोचना सुनिन्छ । नहोस् पनि किन, बर्खा लागिसक्दा यो रुटमा बाटो कम, लेदो ज्यादा भेटिन्छ । ठाउँ–ठाउँमा हिलो माटोका कारण गाडी, मोटरसाइकल भासिएर गन्तव्यमा पुग्दा रोपाइँ सकेर फर्किएको भान यात्रु र चालकलाई हुने गर्छ ।
यो समस्या हिजोआज मात्रै निम्तिएको भने होइन, दशकौँदेखि साँखेजुङ, शान्तिडाँडा, मंगलबारे र धुसेनीका स्थानीयले यो बाटोका कारण सास्ती झेल्दै आएका छन् ।
बाटो स्तरोन्नति र कालोपत्र नभएको पनि होइन । विभिन्न कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएर १२ किलोमिटर बाटो स्तरोन्नति र कालोपत्र गरेका थिए । तर, कालोपत्र गरेको ६ महिना नहुँदै उक्त कालोपत्र उप्किन थालेपछि अहिले यो बाटोको अवस्था धान रोप्न ठिक्क पारिएको खेतभन्दा कम छैन । उसो त विरोध जनाउँदै यो बाटोमा धान पनि रोपियो– पटकपटक ।
२०६२ सालमा नेपालटार–मंगलबारे सडक कालोपत्र गरिएको थियो । तर, केही महिनामै कालोपत्र माटोमै बिलायोे । त्यसबेला बल्लतल्ल भएको कालोपत्र पनि उप्किएपछि सरकारी निकाय र ठेकेदार कम्पनीप्रति रुष्ट बनेका स्थानीयले उक्त सडकमा धान रोपेर विरोध जनाएका थिए ।
पुनः २०७२ सालमा यो सडक कालोपत्र गरिएको थियो । त्योबेला सूर्य कन्स्ट्रकसन कम्पनीले ११ करोड रुपैयाँ खर्च गरेर गरेको कालोपत्र ३ महिनाभन्दा बढी टिक्न पाएन ।
कालोपत्र भएको ३ महिना नबित्दै उप्किएको सडकलाई बेलैमा मर्मत सम्भार गर्न नसक्दा ठाउँ–ठाउँमा खाल्डा परेको थियो । अहिले खाल्डा परेको ठाउँमा पानी जमेर हिलाम्मे छ ।
१२ किलोमिटरको उक्त सडकमा लगभग १० किलोमिटरमा मर्मत सम्भार गर्नुपर्ने देखिन्छ । तर, चालु आर्थिक वर्षमा डेढ करोड रुपैयाँ मात्र बजेट विनियोजन भएको छ । यसले सडक कालोपत्र त होइन, खाल्डा टाल्न पनि नपुग्ने सरोकारवाला बताउँछन् ।
आधा खण्ड इलाम नगरपालिका र आधा देउमाई नगरपालिकामा पर्ने उक्त सडक कालोपत्र गरिए पनि समयमा मर्मत नहुँदा पहिलेकै अवस्थामा पुगेको बताउँछन् स्थानीय ।
बाटोका कारण दैनिक आवतजावतदेखि कलकारखानासम्मलाई समस्या पर्ने गरेको छ । बाटोका खाल्डाखुल्डीले गर्दा सवारीसाधन मात्र होइन, मान्छे हिँड्न सक्ने अवस्था समेत छैन भन्छन्– इलाम नगरपालिका–१ का उद्योग व्यवसायी टंक दाहाल ।
‘सहज तरिकाले मान्छे हिँड्ने अवस्था छैन । कलकारखानाबाट उत्पादित सामान समयमै ठाउँमा पुर्याउन नसकेका कारण झनै समस्या छ । कतिखेर खाल्डोमा परिन्छ, थाहा हुन्न । जोखिम मोलेरै यात्रा गर्नुपर्ने अवस्था छ,’ उनी भन्छन् ।
यस विषयमा पटक–पटक सरोकारवालाहरूसँग माग राखिएको तर कसैले नसुनेको उनी बताउँछन् । ‘कति भन्नु ? क–कसलाई भन्नु ? कहाँ गएर भन्नु ? सबैले कानमा तेल हालेर बसेका छन्,’ उनी थप्छन् ।
पटक–पटक संघीय सांसद बनेका नेताहरूको क्षेत्र भएर पनि लापरबाही र थाहा नभएजस्तो गरेको स्थानीय गुनासो गर्छन् । ‘६५ वर्ष भयो यो सडकमा मोटर गुड्न थालेको, तर अहिलेसम्म पनि चिल्लो सडक देख्न पाइएन,’ एक स्थानीय बासिन्दा भन्छन् ।
यता समयमै यो बाटोका लागि संघीय सडक कार्यालयलाई अवगत गराएको तर उक्त कार्यालयले चासो नदिएको बताउँछन्– इलाम नगरपालिका–१ साँखेजुङका वडाध्यक्ष गायत्रीराम बस्नेत ।
‘समयमा मैले संघीय सडक कार्यालय इलामलाई अवगत गराएकै थिएँ । सडक कार्यालय इलामले समयमै टेन्डर गरिदिएको भए चैत–वैशाखमा कालोपत्र मर्मत भइसकेको हुने थियो,’ उनी भन्छन् ।
संघीय सांसद सुवास नेम्वाङ, प्रदेश सांसदहरू तथा इलाम नगरपालिका र देउमाई नगरपालिकाका नगर प्रमुखलगायतलाई यो बाटोका बारेमा पटक–पटक स्मरण गराएको भए पनि उनीहरूले वास्ता नगरेको उनी बताउँछन् ।
वैशाख–जेठमा बिग्रिएको बाटो पहिचान गरी गिट्टी बालुवा हाल्ने काम सुरु भए पनि बजेट अभावका कारण र पानी परेको कारण देखाँउदै एक हप्ता नबित्दै उक्त काम रोकिएको थियो ।
नाली नबनाई बाटो बनाएका कारण पटक–पटक समस्या आउने गरेको छ । ‘आधाजसो बाटोमा नाली छैन । ढल बाटोमा पसेपछि कसरी राम्रो हुन्छ ?,’ बस्नेत प्रश्न गर्छन् । २०७९ सालको मंसिरदेखि ताकेता गर्दा सडक डिभिजनले २ किलोमटर सडकमा नाली बनाउने भनेर आश्वासन दिएको छ । नाली बनाउने काम हुन्छ भन्ने खबर आएको हो, तर न सडक डिभिजनले फोन उठाउँछ न त हाकिम भेटिन्छन्,’ उनी भन्छन् ।
इलाम पश्चिमको प्रमुख व्यापारिक केन्द्र मानिन्छ, उक्त क्षेत्रलाई । सडककै कारण यहाँबाट दैनिक उपभोग्य सामानदेखि उत्पादित वस्तुहरू आयात–निर्यात गर्न नसक्ने अवस्था नआउला भन्न सकिन्न । अलि ठुलो पानी पर्नासाथ स्कुल बस, दूधका गाडी, चिया बोक्ने गाडीलगायत अन्य यातायातका साधन गुड्नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बस्नेतको बुझाइ छ ।
सांसदहरू कसैले यो बाटोका लागि चासो नराखेको भन्दै बस्नेत आक्रोश पोख्छन् । ‘ठाउँमा पुगेका कसैले यो बाटो बनाउनुपर्छ भन्ने सोचेनन् । मेयर, वडाध्यक्षले कराउनबाहेक केही गर्न सकिएन,’ उनले भने ।
यसपालि उक्त बाटोका लागि सडक डिभिजन कार्यालय इलामबाट डेढ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ । कम्तीमा ५ करोड रुपैयाँ विनियोजन हुनपर्ने उक्त सडकका लागि सडक विभागले डेढ करोड मात्र बजेट छुट्ट्याएको छ । तर त्यो बजेटले आधा काम पनि नभ्याउने इलाम नगरपालिकाका मेयर केदार थापाले बताए ।
आफूले गर्नुपर्ने जति सबै ठाउँमा पहल गरेको, तर चाहिएजति बजेट विनियोजन नभएका कारण काम हुन नसकेको उनी बताउँछन् ।
‘पहिले कालोपत्र भइसकेको बाटो हो । ध्यान नपुर्याउँदा र बेलैमा मर्मत नपाउँदा ठाउँठाउँमा अति नै खराब भएको छ । अघिल्लो वर्ष पनि बजेट समयमा आएन र काम भएन । यसपालि पनि बजेट विनियोजन भयो तर डेढ करोडमात्र आएको छ । यति बजेटले कति काम हुन्छ र ?,’ उनी भन्छन् ।
‘बजेट आए पनि टेन्डर नपर्दिनाले समयमा काम हुन नसकेको हो । समयमा उचित बजेट आउने र टेन्डर परे हिउँदमै काम सम्पन्न गर्न सकिने थियो । बर्खामा बजेट आउँछ, कसैलै टेन्डर लिन मान्दैनन् । टेन्डर परे पनि बर्खा भन्यो, आधाउधी काम गरेर हिँड्ने चलन हुन्छ, कति काम हेरेर कति भुक्तान गर्नु ?,’ उनी प्रश्न गर्छन् ।
यो वर्ष पनि उक्त बाटो मर्मत नहुने भएको छ । अर्काे वर्ष समयमा बजेट विनियोजन भएर टेन्डर पार्न सके समयमै काम सकाउने योजना नगरपालिकाको छ । त्यसका लागि अहिलेदेखि नै सम्बन्धित निकायमा पहल गरिरहने मेयर थापाले बताए ।
हुन त संघीय सरकारलाई ताकेता गर्नुबाहेक स्थानीय सरकारको हातमा केही छैन । पटक–पटक दबाब दिँदा पनि संघीय सरकारले वास्ता नगर्ने गरेको जनप्रतिनिधिहरू नै गुनासो गर्छन् । २ नगरपालिकाका मेयरहरूबीच पनि समन्वय र छलफल हुँदै आएको छ ।
अहिले निरन्तर परेको पानीले अवस्था झन् खराब भएर यो बाटोमा गाडी गुड्न सक्ने अवस्था छैन । आजभोलि सडक कार्यालय इलाम बेखबर छ । सांसदहरू सरकार बनाउन र गिराउन व्यस्त छन् । तर, यस्ता कुरामा कानमा तेल हालेर बसेको स्थानीय गुनासो गर्छन् ।
सडक कालोपत्र गर्दा चरम लापरबाही र अनियमितता हुने गरेको गुनासो आइरहेका बेला अब उक्त सडक निर्माणमा कुनै कमी हुन नदिने मेयर थापा बताउँछन् । आफैँ फिल्डमा गएर प्रत्यक्ष निगरानीमा उक्त सडकको मर्मत सम्भार गर्ने योजना उनको छ ।
-विकास टाइम्स मासिकबाट
प्रतिक्रिया