बालेनको ‘आगाे’ले ‘जलाएको’ रुटिन अफ नेपाल बन्द !

बालेनको ‘आगाे’ले ‘जलाएको’ रुटिन अफ नेपाल बन्द !


काठमाडौँ ।

गत शनिबार काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले एउटा स्टाटस लेखे– सिंहदरबारमा आगो लगाइदिन्छु ।

उनले लेखेका थिए–
‘आजको लागि केही भएन,
भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने
सिंहदरबारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।’

भलै उनले फेसबुकबाट उक्त स्टाटस हटाइसकेका छन् । तर उनको स्टाटसले सिंहदरबार त जलाएन, तर नेपालमा बहुचर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दलाई भने जलाएरै छाड्यो, मतलब यो पेज ‘अनपब्लिस’ भएको छ ।

पेजका सञ्चालक तथा एड्मिन भिक्टर पौडेलले सांकेतिक रूपमा आफूमाथि अट्याक भएको भन्दै पेज अनपब्लिस भएको जनाएका छन् । यसअघि उनले ठुलो निर्णय लिन लागेको भन्दै पोस्ट गरेका थिए । लगत्तै रुटिन अफ नेपाल बन्द नामक पेज गायब भएको हो ।

शनिबारको मेयरको स्टाटसका कारण सामाजिक सञ्जाल उग्र रूपमा तातेपछि त्यसको बचाउमा रुटिन अफ नेपाल बन्दको पेज प्रयोग भएको थियो । आइतबार बिहान यस पेजबाट मेयर दम्पतीलाई पुत्रीलाभ भएको सूचना प्रकाशन भयो ।

सबैलाई जानकारी भएकै विषय हो– मेयर बालेन कुनै पनि मिडियासँग नजिक छैनन्, उनको अफिसियल मिडियाका रूपमा यही पेज प्रयोग हुँदै आएको थियो ।

मेयरलाई पुत्रीलाभ भएको भनेर रुटिन अफ नेपाल बन्दले हालेपछि शनिबार बालेनको स्टाटसलाई राहत दिने अपेक्षा सायद भिक्टरको थियो । तर, भइदियो– उल्टो ।

मेयर दम्पतीको बच्चा एक साताअघि नै जन्मिसकेको खुल्न आयो । र सहानुभूतितिर मोडिएको सामाजिक सञ्जाल एकाएक रुटिन अफ नेपाल बन्दको विरोधमा उत्रियो ।

रुटिन अफ नेपाल बन्दबाट गरिएको पुत्रीलाभको पोस्ट बालेनलाई जोगाउनका लागि गरिएको भन्दै तीव्र विरोध भयो ।

यद्यपि, रुटिन अफ नेपाल बन्द सधैँका लागि बन्द भएको हो वा अस्थायी रूपमा निष्कृय पारिएको हो भन्ने विषयमा भने भिक्टरले केही बोलेका छैनन् । उनले यत्ति लेखेका छन्– ‘अब अट्याक गर्नु पर्दैन । अब म स्वतन्त्र छु… मलाई एक्लै रहन देऊ ।’

रुटिन अफ नेपाल बन्दको फेसबुक पेजमा ४१ लाखभन्दा बढी फलोअर तथा ३७ लाखभन्दा बढी लाइक थियो । उनले राखेको पछिल्लो पोस्टमा पेज अनपब्लिस्ड भएकाले पुनः पेज सञ्चालन हुने सम्भावना देखिन्छ ।

जे होस्, बालेनले सिंहदरबारमा आगो लगाइदिन्छु भनेर पोस्ट डिलिट गरे पनि त्यो आगोको झिल्का भने भिक्टरले चलाइरहेको उनै बालेनको अफिसियल मिडियाका रूपमा प्रयोग भइरहेको रुटिन अफ नेपाल बन्दसम्म पुगेको छ । त्यो झिल्काले पेज पुरै खरानी बनाउँछ कि आगो निभेपछि फेरि ब्युँझिन्छ, त्यसका लागि भने कुर्नैपर्ने छ ।