नगरपालिकाका कर्मचारीको कार्यशैली ठिक नभएको भन्दै वडाध्यक्षहरू आन्दोलित

नगरपालिकाका कर्मचारीको कार्यशैली ठिक नभएको भन्दै वडाध्यक्षहरू आन्दोलित


झापा ।

झापाको मेचीनगर नगरपालिकाका कर्मचारी विरुद्ध जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् ।

वरीयताको विषयमा कर्मचारीहरूबिच विवाद हुँदा त्यसको असर वडाका योजनाहरूमा परेको र उपभोक्ता समितिहरू समेत प्रत्यक्ष मारमा पर्दा काम प्रभावित भएको भन्दै वडाध्यक्षसहितका जनप्रतिनिधिहरू आन्दोलनमा उत्रेको पाइएको हो ।

मेचीनगर–४ का वडा अध्यक्ष अर्जुन कार्की, मेचीनगर–१० का वडा अध्यक्ष नारायण खनाल र मेचीनगर–१३ का वडा अध्यक्ष कृष्ण सिग्देलले सोमबार अपराह्न नगरपालिकाको मुख्य प्रवेशद्वारमा नै पत्रकार सम्मेलन गरेर कर्मचारीहरूको कार्यशैलीको विरोध गर्दै पत्रकार सम्मेलन गरेपछि यो विषय बाहिरिएको हो ।

मेचीनगर–४ का का वडाध्यक्ष अर्जुन कार्कीले जनताको काम रोकेकाले आफूहरू विरोधमा उत्रनुपरेको बताए ।

२ दिनभित्र कर्मचारीहरूलाई सच्चिन मौका दिएको र आफूहरूले उठाएको विषयहरूमा जवाफ मागेको जनाउँदै त्यो नभए थप सशक्त आन्दोलन गर्ने उनको भनाइ थियो ।

४ महिना अघि नै प्रक्रिया पुगेर आएका कतिपय योजनाको भुक्तानी विना कारण नदिने र रोक्नुको कारणसमेत नभन्नु सरासर नाजायज भएको भन्दै उनीहरुले विरोध जनाएका छन् ।

कर्मचारीले हाम्रो कुरा नै सुन्दैनन् र वडाध्यक्षलाई गुहार माग्न जाँदा उनीहरूको पनि कुरा सुनुवाइ नहुँदो रहेछ एक स्थानीयले भने ।

औषधि खरिद गर्दा ढिलाइ गरेको, कृषक समूहका लागि सम्झौता गरेर कार्यसम्पादन गरिसकेको योजनाको भुक्तानी रोकेको, विपत्र व्यवस्थापनका लागि आवश्यक तार जाली खरिद नगरेको, कर्मचारीको बखेडा झिकेर नगरको विकास निर्माणको काम रोकेर जनप्रतिनिधिलाई सास्ती दिएको जनप्रतिनिधिहरूले कर्मचारीहरूलाई आरोप लगाएका छन् ।