फिल्म पर्यटन : छैन असम्भव

फिल्म पर्यटन : छैन असम्भव


काठमाडाैँ ।

कुनै समय नेपाली फिल्ममा पोखराको लोकेसन अनिवार्यजस्तै थियो । त्यहाँको ताल तलैया, हिमालय शृंखला, प्राकृतिक सुन्दरता फिल्मका लागि प्रमुख आकर्षण थिए । तर, अहिले अवस्था फेरिएको छ । अहिले अधिकांश फिल्मकर्मीको ध्यान पोखरा कम, मनाङ, मुस्ताङ, डोल्पा, रारा ताललगायत लोकेसनमा बढी पर्न थालेको छ । अझ विदेशबाट छायांकनका लागि आउने फिल्म टोलीका लागि यी गन्तव्य ‘भर्जिन’ लोकेसन बनिरहेका छन् ।

अधिकांश फिल्मकर्मीको मुखमा ‘नेपाल आफैँमा खुला स्टुडियो’ भन्ने कथन वर्षाैँदेखि झुन्डिरहेको छ । यहाँको प्राकृतिक सौन्दर्य, संस्कृति, सामाजिक संरचनाले फिल्मकर्मीलाई अर्ग्यानिक लोकेसनसँगै अर्ग्यानिक कथा पर्दामा उतार्न सजिलो छ । यही खुला स्टुडियोको नारालाई अघि सार्दै फिल्मकर्मीहरू फिल्म पर्यटनको चर्चा गर्न थालेका छन् । उनीहरू भन्छन्– नेपालमा फिल्म पर्यटन सम्भव छ ।

नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली फिल्म पर्यटनको कुरा गर्दा मुक्तिनाथ र जोमसोम क्षेत्रको उदाहरण दिन्छन् । ‘पहिला पहिला मुक्तिनाथ, जोमसोममा सुटिङ गर्न कोही जाँदैनथे । त्यहाँ जाने बाटो विकट थियो । त्यहाँ म्युजिक भिडियो निर्माण गर्नेहरू गएर छायांकन गर्न थाले । त्यो भिडियो टेलिभिजनमा रिलिज गरिएपछि त्यो ठाउँ कहाँ रहेछ भनेर आममानिसलाई चासो भयो । मुक्तिनाथ र जोमसोमको बारेमा थाहा पाएपछि त्यहाँ आन्तरिक पर्यटकको भिड लाग्न थाल्यो,’ उनी भन्छन्, ‘यो क्षेत्रको प्रचारप्रसारको माध्यम नै फिल्मका गीत र अन्य गीत भए ।’

जनकदीप फिल्म र फिल्म पर्यटनको सम्बन्ध नङ र मासुको जस्तै मान्छन् । फिल्ममा पर्यटनका कथाहरू समेटिएपछि मात्र मान्छेहरू त्यो पर्यटकीय क्षेत्रमा जाने गरेको उनको बुझाइ छ । ‘त्यो क्षेत्रमा पर्यटक गइसकेपछि त्यो क्षेत्रको आर्थिक विकास हुने भयो । राज्यलाई नै दीर्घकालीन रूपमा आर्थिक समृद्ध बनाउने भयो,’ पराजुली थप्छन्, ‘दीर्घकालीन रूपमा सरकारलाई आर्थिक रूपमा बलियो बनाउने प्रभावकारी माध्यम नै फिल्म हुन सक्छ । त्यसकारण पर्यटन गन्तव्यको प्रचारप्रसार गर्न फिल्म प्रमुख माध्यम बन्न सक्छ ।’

जनकदीपको अनुभवमा पर्यटकीय क्षेत्रका बारेमा विभिन्न ब्लग, वृत्तचित्र बने पनि त्यो आममानिसको पहुँचमा अथवा आममानिसको नजरमा पर्न सक्दैन । उनी आममानिसमा पुग्न फिल्म नै सशक्त माध्यम ठान्छन् ।

जनकदीपका अनुसार बलिउडमा पनि पहिला हिन्दी फिल्महरू छायांकनका लागि स्विट्जरल्यान्ड पुग्थे । फिल्म पुगेपछि त्यहाँ पर्यटक जान थाले । पछि भारतकै मनालीलगायत ठाउँमा सुटिङ हुन थालेपछि आन्तरिक पर्यटक मनालीतिर मोडिए ।

फिल्म पर्यटनलाई बढावा दिन सरकारले ध्यान दिनुपर्ने जनकदीप बताउँछन् । ‘सरकारले पनि त्यस्तो गन्तव्यलाई फिल्ममा समावेश गरेर फिल्म बनाउँदा फिल्मलाई अनुदान दिन सहयोग गर्नुपर्छ । फिल्मले पनि नेपालभित्र रहेका पर्यटकीय गन्तव्यलाई फिल्ममा समेट्नुपर्छ । अबको अभियान भनेको फिल्मकर्मीले फिल्म पर्यटनलाई प्रवद्र्धन गर्न त्यस्ता स्थानलाई फिल्ममा प्राथमिकता दिनु नै हो,’ जनकदीपको सुझाव छ ।

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा नेपालमा फिल्म पर्यटनको विकास गर्न विशेषतः सरकारले बढी ध्यान दिनुपर्ने बताउँछन् । ‘सरकारलाई तिर्ने करको स्रोत फिल्म पनि हो । आन्तरिक होस् या बाह्य फिल्म छायांकनमा जानुअघि सरकारलाई कर तिर्नुपर्छ । नेपालमा बर्सेनि धेरै संख्यामा विदेशी फिल्म सुटिङ गर्न आइरहेकै छन्,’ लामा भन्छन्, ‘नेपाली फिल्मलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ । फिल्मको विकास गर्न सक्यौँ भने नेपाललाई विश्वभर चिनाउन सकिन्छ । विदेशका ठुला ब्यानरका फिल्म नेपालमा सुटिङ गर्न आइरहन्छन् । यस्तो बेला उनीहरूलाई समन्वय गर्नदेखि अनुदानको व्यवस्थासम्म सरकारले गर्न सके नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन थप सहज हुन्छ ।’

के गर्दै छ विकास बोर्ड ?

नेपाली फिल्मको कुरा सुन्ने सरकारी निकायका रूपमा चलचित्र विकास बोर्ड छ । बोर्डका निवर्तमान अध्यक्ष दयाराम दाहालको कार्यकालमा बोर्डले नेपालमा सुटिङ गन्तव्यको विकास गर्नका लागि ‘फिल्मिङ इन नेपाल’ नामक तस्बिर पुस्तक प्रकाशन गरेको थियो । पुस्तकमा नेपालका पर्यटकीय गन्तव्यका तस्बिर राखिएका थिए ।

अहिले बोर्डको नेतृत्वमा अभिनेता तथा निर्माता भुवन केसी छन् । उनी अध्यक्ष भएपछि सातै प्रदेशमा रहेका छायांकन गन्तव्यलाई समेटिएको वृत्तचित्र तयार पार्ने काम भइरहेको छ । जसमा गण्डकी प्रदेशको भने वृत्तचित्र निर्माण भई सार्वजनिक नै भइसकेको छ ।

केसीका निजी सचिव निराजन गिरीले नेपालका विभिन्न स्थानमा रहेका एलइडी बोर्डका वृत्तचित्र प्रदर्शनसँगै स्थानीय पर्यटनका सम्भावना झल्कने दृश्यचित्र निर्माण गरेर प्रदर्शन गर्ने तयारी भइरहेको बताए । ‘बोर्डले विश्वका जुनसुकै स्थानमा हुने फिल्म फेस्टिभलमा नेपालको पर्यटनको प्रचार गर्नका लागि लोकेसन गाइड बुक तयार पारी प्रचारको काम गर्ने तयारी गरिरहेको छ,’ उनले भने, ‘यसबाहेक घुम्नका लागि नेपाल आउने पर्यटकको सुविधाका लागि ट्रान्जिट पोइन्टमा पर्यटन झल्काउने वृत्तचित्र देखाउने व्यवस्था गरिरहेका छौँ ।’

केही समयअघि बोर्डकै पहलमा युएईको दुबईमा ‘नेपाल सिनेमा फेस्ट २०२३’ आयोजना गरिएको थियो । निराजन यसलाई पनि नेपालमा विदेशी फिल्मकर्मी बोलाउने एउटा ढोकाका रूपमा लिन्छन् । ‘विदेशी फिल्मकर्मीलाई नेपाल छायांकनका लागि उपयुक्त स्थल छ भन्ने सन्देश दिन पुस्तक प्रकाशन, ब्रोसर बनाउने काम पनि भइरहेको छ,’ निराजन भन्छन्, ‘हामी फिल्म पर्यटनसम्बन्धी कार्यविधि नै बनाएर काम गर्ने योजनामा छौँ ।’

बन्दै छ सुटिङ गन्तव्य

चलचित्र विकास बोर्डको एक तथ्यांकअनुसार पछिल्लो ६ वर्षभित्र मुलुकमा २४३ विदेशी फिल्म, वृत्तचित्र, वेब सिरिजको छायांकन भएको छ । चालु आर्थिक वर्षको चैतसम्म ४५ विदेशी फिल्म नेपालमा खिचिएका छन् ।

तथ्यांक हेर्दा आर्थिक २०७८/७९ मा नेपालमा २६ विदेशी फिल्मको सुटिङ भएको थियो भने २०७६/७७ मा यो संख्या ५५ थियो । यहाँ भारत, अमेरिका र बेलायतका फिल्म बढी खिचिएका छन् । यसबाहेक आइसल्यान्ड, फ्रान्स, पोल्यान्ड, जर्मनी, जापान, नेदरल्यान्ड्स, डेनमार्क, स्विडेन, दक्षिण अफ्रिकी फिल्मसमेत नेपालमा खिचिएका छन् । पछिल्लो वर्ष यहाँ हलिउडको ‘डक्टर स्ट्रेन्ज,’ ‘एभरेस्ट थ्रिडी,’ बलिउडको ‘उचाइ’ छायांकन भएका थिए ।

पछिल्लो ६ वर्षमा ४२ अमेरिकी, ३५ बेलायती, ३० जापानी, २५ भारतीयका साथै धेरै फिल्मको छायांकन भएको छ । नेपालमा अक्षय कुमार अभिनीत फिल्म ‘बेबी’ तथा केही दक्षिण भारतीय फिल्म पनि सुटिङ भएका छन् । यसबाहेक हलिउड फिल्म ‘सोल्ड’ र ‘हाइवे टू धम्पुस’ पनि यहीँ खिचिए ।

जेफ्री डी ब्राउन निर्देशित ‘सोल्ड’ मा नेपाली कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र ‘हाइवे टू धम्पुस’मा अभिनेता राजबल्लभ कोइरालाको अभिनय थियो ।

‘लिटिल बुद्ध’ ‘द गोल्डन चाइल्ड,’ ‘सेभेन एअर्स इन तिब्बत,’ ‘द फल,’ ‘बियोन्ड दी एज्ज’स्ता अंग्रेजी फिल्म र देवानन्दको ‘हरे राम हरे कृष्ण,’ अमिताभ बच्चनको ‘खुदा गवाह’ र ‘महान,’ अनिल कपूरको ‘युद्ध’ र गोविन्दाको ‘एक हसिना एक दिवाना’मा नेपालका दृश्य समेटिएका छन् ।