परिवारकाे तिरस्कारपछि २२ दिनदेखि भाेकभाेकै जंगलमा अलपत्र छन् ८० वर्षीय वृद्ध

परिवारकाे तिरस्कारपछि २२ दिनदेखि भाेकभाेकै जंगलमा अलपत्र छन् ८० वर्षीय वृद्ध


महाेत्तरी ।

शरीर लगलग कामिरहेको छ । बोल्दा ओठ लरबराइरहेका छन् । कपाल र दारी सेतै फुलेको छ । जंगलको बीचमा एउटा झुल टाँगिएको छ ।

एक वृद्ध कमजोर शरीर लिएर यही सुनसान अनकन्टार ठाउँमा २२ दिनदेखि एक्लै बसिरहेका छन् । बलवा नगरपालिका वडा-११ रौजाका मोहम्मद एलाही शेख घरबाट निस्किएको २२ दिन भयो ।शेखका अनुसार घरमा छोरा, बुहारी, श्रीमतीले तिरस्कार गरेपछि उनी घरबाट निस्किएका हुन् ।

मिथिला नगरपालिका-११ लालगढस्थित अजिंगरे डाँडामा भेटिएका शेखले गहभरि आँसु बनाउँदै भने, `पारिवारिक तिरस्कारमा परेपछि घरबाट निस्किएँ । अनि अल्लाहले यहाँ ल्याइपुर्‍याउनुभयो ।´

‘कान्छा छोरा मोहम्मद नेसारुन सेज घरमा नै छन् । श्रीमती छिन् । जेठा छोरा फेजुल शेख विदेशमा छन्,´ उनले भने, ‘३ जना छोरी छन्, जेठी छोरी मोमिना खातुनको मटिहानीमा विवाह भएको छ, माइली छोरी नागिना खातुनको गाउँमा नै र कान्छी छोरी रविना खातुनको धनुषाको लोहोनामा विवाह भएको छ ।´

शेखले १२ वर्षदेखि घर-परिवारबाट तिरस्कृत बनेको हुनाले एकान्त खोज्दै यहाँ आइपुगेको बताए । उनले भने, `घरमा बस्न नसकेपछि २२ दिनअघि घरबाट निस्किएको हुँ, अब यतै मर्छु ।´

२२ दिनसम्म केही नखाएको बताउने शेखले आफ्नो ठेगाना र पारिवारिक विवरण बताउँदा पनि बोल्न सकिरहेका थिएनन् ।

उमेरले ८० वर्ष पुगेको बताउने शेख घर फर्कन चाहँदैनन् । पिकनिकका लागि त्यहाँ पुगेका व्यक्तिहरूले देखेपछि वृद्धको विषयमा खोजबिन भएको थियो ।

त्यसपछि जिल्ला समन्वय समितिका सदस्य राजन गौतमले स्थानीय सञ्चारकर्मीलाई खबर गरेपछि बलवा नगरपालिकामा जनप्रतिनिधिसँग बुझ्दा रौजाका नै भएको प्रमाणित भएको थियो ।

बलवा नगरपालिका-९ का वडाध्यक्ष सनौल शेखले पनि एलाही शेख वडा-११ कै भएको तर उनले कसरी घर छाडे भन्ने विषयमा जानकारी नभएको बताए ।

नगर प्रमुख रामविजय महतोले त्यस बिषयमा बुझेर उद्धार गर्ने बताएका छन् ।