जब २८ पालिकाका मेयर, उपमेयर विद्यार्थी बनेर २ दिन पढे…

जब २८ पालिकाका मेयर, उपमेयर विद्यार्थी बनेर २ दिन पढे…


महोत्तरी ।

महोत्तरी एकडारा गाउँपालिकाका अध्यक्ष दीपनारायण मण्डल सरकार सञ्चालनका लागि कतिपय कानुनी प्रावधानका विषयमा अनभिज्ञ थिए ।

बजेट तर्जुमा गर्दा अपनाउनुपर्ने सावधानीदेखि विपद् जोखिमका कतिपय विषयमा समेत थप ज्ञान बटुल्दा उनी दंग छन् ।

जनताका समस्याहरूसँग मात्र नजिक हुने हाेइन, कानुनी सीमिततासँग पनि नजिक हुनुपर्ने भएकाले प्रशिक्षार्थीका रूपमा प्रशिक्षित हुँदा निकै खुसी लागेको उनले सुनाए ।

अझ मधेसका पालिकाहरूमा देखिएको जोखिम र संकटको भवियष्यवाणीको विषयमा विज्ञहरूले प्रस्तुति दिँदा थप जिम्मेवारीमा उक्साएको उनले बताए ।

इसिमोड तथा यसा साझेदार संस्थाहरू सामुदायिक विकास तथा पैरवी मञ्च, मान्डवी, सबल नेपाल र हुसाडेकले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न २८ वटा पालिकाका मेयर र उपमेयरले २ दिनसम्म प्रशिक्षार्थी बनेर एकडाराका अध्यक्ष मण्डलले जस्तै अनुभव बटुलेको सुनाए ।

बर्दिबासमा आयोजना भएको उक्त प्रशिक्षण गोष्ठीमा नदी जलाधार क्षेत्रमा पर्ने २८ पालिकाका प्रमुख र उपप्रमुखहरूलाई विशेषगरी जलवायु परिवर्तनको सम्बन्धमा प्रशिक्षण दिइएको थियो ।

केही समयअघि खानेपानीको चरम समस्यामा रहेको जनकपुर उपमहानगरपालिकामा बर्दिबासले कसरी पानी सप्लाई गर्न सक्छ भन्ने विषयमा चुरे विज्ञ विजयकुमार सिंहले मार्गचित्र नै देखाए ।

पानीको खानी रहेको चुरे क्षेत्रमा यसकाे विनाशले पानीका मुहान सुकिरहेका बेला चुरेको पानीलाई होल्ड गरी बर्दिबासले नै जनकपुरलाई कसरी पानी बेच्न सक्छ भन्ने सिंहले देखाएपछि पालिका प्रमुखहरू थप उत्साहित बने ।

सिंहले निरन्तर चुरे विनाशका कारण निकट दिनमा नै पानीको हाहाकार हुनेतर्फ सचेत गराउँदै यथाशीघ्र याेजना बनाउन पनि पालिका प्रमुखहरूलाई सुझाए ।

इसिमोडका साझेदार संस्थाका प्रतिनिधिहरूले पानी संरक्षण र जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न गरेका प्रयासहरूको सविस्तार वर्णन गरेपछि पालिका प्रमुखहरूले वास्तवमै नयाँ सिकाइ भएको प्रतिक्रिया दिए ।

सामुदायिक विकास तथा पैरवी मञ्चका अध्यक्ष नागदेव यादवले चुरे क्षेत्रमा सयभन्दा बढी पोखरी बनाएर पानी होल्ड गरेको बताउँदै पानीको समस्या न्यूनीकरण गर्न सहयोग भएको बताए ।

उनले नदी प्रणाली क्षेत्रमा समेत बाढीको पूर्वसूचना राखेर तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सचेत रहन ठुलो सहयोग पुगेको बताउदै पालिका-पालिका मौसम पूर्वसूचना प्रणालीसमेत जडानले किसानहरूका लागि समेत सफल अभ्यास भएको सुनाए ।

अझ हुडासेक नेपाल, माण्डवी र सबल नेपालका प्रतिनिधिहरूले जलाधार क्षेत्र र सुदूर गाउँमा गरेका कामले स्थानीयबाट निकै ठुलो जस पाएको अनुभव बताए ।

माण्डवीकी अध्यक्ष अञ्जु झा, सबल नेपालका अशोक साह, हुसाडेकका सरोज भुजेलले जलाधार र नदी प्रणाली क्षेत्रमा भएका सफल अभ्यासको विवरण प्रस्तुत गरेका थिए ।

यस्तै मौलापुर नगरपालिकाकी नगर प्रमुख रीना साहले विज्ञहरूको अनुभव सुनेर र प्रशिक्षण लिएर नयाँ पाठ सिकेको बताइन् । `आफ्ना नगरबासीलाई विपद् जोखिमको पूर्वतयारीदेखि विपद् व्यवस्थापनमा समेत नयाँ पाठ सिक्यौँ,´ उनले भनिन् ।

जनकपुरधाम उपमहानगरपालिका मेयर मनोज साह सुडी, धनकुटाकी उपमेयर भीमादेवी खनाल, रौतहट परोहाका प्रमुख शेख वकिललगायतले यो सिकाइ र अनुभवलाई नगरबासीको सु:ख र समृद्धिसँग जोड्ने प्रतिज्ञा गरेका थिए ।

कार्यक्रमको अध्यक्षता इसिमोडकी अध्यक्ष डा. निरा श्रेष्ठ र कार्यक्रम सञ्चालक सामुदायिक विकास तथा पैरवी मञ्चका निर्देशक सुशील ढकालले गरेका थिए ।