बलेफी गाउँपालिकाका कर्मचारीले गरे आन्दोलनको घोषणा

बलेफी गाउँपालिकाका कर्मचारीले गरे आन्दोलनको घोषणा


सिन्धुपाल्चोक ।

प्रस्तावित संघीय निजामती ऐनको मस्यौदाप्रति विमति जनाउँदै सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका कर्मचारीले आन्दोलनको घोषणा गरेका छन् ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सेवा सुविधा र वृद्धि विकासको सुनिश्चितता नभएको भन्दै आन्दोलित भएका हुन् ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रेवन्त दाहाललाई मंगलबार ८ बुँदे मागसहितको संयुक्त विज्ञप्ति बुझाउँदै कर्मचारीहरूले आन्दोलनको घोषणा गरेका छन् ।

उनीहरूले राखेको ८ बुँदे माग सम्बोधन नभए भदौ २२ गते मनाइने निजामती सेवा दिवस बहिस्कार गर्ने र कालो पट्टी बाँधी विरोध जनाउने बताएका छन्।

प्रशासनिक संरचनामा संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवा भने विभेदकारी नीति राखिएप्रति कर्मचारीको विमति छ।

संघीय निजामती सेवा ऐन नभई एकीकृत निजामती सेवा ऐन ल्याउनुपर्ने, सेवा समूहका आधारमा सरकारी सेवाको प्रवेशद्वार स्थानीय सेवामा मात्र हुनुपर्ने, सरुवा प्रणालीलाई सहमतिका आधारमा नभई अनुमानयोग्य चक्रीय रूपमा गर्नुपर्ने कर्मचारीहरूको माग छ।

त्यस्तै अन्तरप्रदेश सरुवाको व्यवस्था एकीकृत निजामती सेवा ऐनमा नै खुलाउनुपर्ने, निजामती अस्पतालमा सबै सरकारी कर्मचारीहरूलाई समेट्नुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरूको सेवासुविधा र वृद्धि विकास सम्बन्धमा विभेद नभई समान हुनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवा अन्तर्गतको सेवा मध्येबाट हुनुपर्ने र स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको पूर्ण सुरक्षाको प्रत्याभूति हुनुपर्ने उनीहरूको माग छ।